~धर्म गौतम~
मानिसको स्वभाव र प्रवृत्तिको अध्ययन गर्नेहरु भन्दछन्, यो प्राणी जहिले पनि सुखको खोजीमा हुन्छ । सुखको चाहनामा डुबेकै कारण त्यसको प्राप्तिका लागि ऊ दुःख समेत गर्दछ र यसरी गरेको दुःख ऊ संझनामा राखिरहन चाहँदैन, स्मृतिमा पनि ऊ आप्mना सुखद क्षणकै संवरण गरिरहेको हुन्छ । उसको अभीष्ट सुख हो र दिल दिमागमा, ऊ तिनै कुरा खेलाइरहेको हुन्छ । एकथरी विद्वान त कतिसम्म भन्दछन् भने हामीलाई बाल्यकालको संझना रहँदैन, त्यसको कारण हो हाम्रो बाल्यावस्था दुःखपूर्ण रहनु । यो सम्पूर्णत अरुमा, आमा वा अभिभावकमा नै सही, आश्रित हुने भएकाले, आपूmले चाहेको गर्न नपाएकाले पनि त्यस्तो भएको हुन सक्दछ ।
नभन्दै आप्mनो बाल्यकालको स्मरण सुनाउनेहरुले रमाइला कुरा नै उल्लेख गर्ने गरेको पाइन्छ । कतै कसैका कुरा सुन्दा कष्टकर लागे पनि त्यसबाट सम्बन्धितले भने सुखकै अनुभव गरेको अथवा सुखको लक्ष्य प्राप्तिमा त्यस्ता कष्टलाई सहज वरण गरेको पाइन्छ । भिन्न क्षमता भएकी लेखिका झमक घिमिरेले आप्mनो अक्षरारम्भको दारुण कथा लेखेकी छन्, त्यो पढ्दा आँशु आउँछ पाठकका आँखामा तर उनको त्यो आत्मकथाको अन्तर–कुन्तरमा छिरेर हेर्दा त्यो कष्टमा पनि उनले, उनी आपूmले भने, अक्षर सिक्न सकेको प्राप्तिलाई लिएर सुखको अनुभव गरेको भेटिन्छ । ठाउँ–ठाउँमा उनी पढिने अक्षरमै त्यसलाई व्यक्त गर्छिन् ।
यस पंक्तिकारले पनि केही दुःख गरेको छ आप्mनो जीवनमा । एकाध पटक मृत्युसँग साक्षात्कार समेत हुन खोजेको छ तथापि विगतका बारेमा सोच्दा, बाल्यकालका बारेमा स्मरण गर्दा अधिकतर ती दुःखदभन्दा पनि सुखद क्षणहरु नै स्मृतिमा आउने गर्दछन् । मेरो बाल्यकालका र किशोरावस्थाका क्रियाकलापमा सबैभन्दा रमाइला लाग्ने, सुखद अनुभूति दिने, सन्दर्भहरुमध्येमा पर्दछन् रोपाइँ जात्रा, दशैं तथा त्यसको पूmलपाति कार्यक्रम, माईबेनी मेला र फुटबल खेल ।
मेरो पुस्ताको फुटबल खेलको यात्रा थाङ्नाको डल्लाबाट शुरु हुन्थ्यो । थाङ्नाहरु जम्मा गरेर त्यसलाई डल्लो बनाई डोरीले कलात्मक पाराले घुमाई घुमाई बाँधेर बलको स्वरुप दिइन्थ्यो । यो चल्तीको ब्राण्ड थियो । वास्तवमा त्यस समयमा एउटा हातका औंलाले टिप्न सकिने त्यस्तो गोल बनाउने थाङ्ना पाउनु पनि सहज थिएन । सामान्य मानिससँग लगाउने लुगा त एक दुई जोर मात्रै हुन्थ्यो भने थाङ्ना जम्मा हुने नै कहाँबाट ? कुरा गरिबीको मात्रै थिएन, एक प्रकार गान्धीवादी युग थियो त्यो, पुगिसरी आए पनि फजुल खर्च नगर्ने ।
गोलको अर्को ब्राण्ड थियो भोगटे । भोगटेका दानालाई पिटपाट गरी अलिक नरम पारेर पनि खेलिन्थ्यो । त्यसपछि नयाँ युगमा प्रवेश पाइयो जसलाई टेनिस युग भन्नु पर्छ । रबरका खोक्रा डल्ला हुन्थे । लन टेनिस खेलको बल जस्तै देखिने भएकाले तिनलाई पनि टेनिस भनिएको होला अथवा त्यो डल्लाको नाम टेनिस भएकाले खेलको नाम समेत टेनिस भएको होला । ती साना–ठूला निकै आकारमा हुन्थे । हाम्रो पहुँच मझौलामा हुन्थ्यो । हत्केलामा आँट्ने त्यस्तो टेनिसलाई बाह« आनादेखि एक रुपियाँसम्म पथ्र्यो । दुई पैसा, एक आना आदिका दरले निकै जना मिलेर साझेमा किन्थ्यौं त्यसलाई । अचेल सहकारीका कुरा सुन्दा पनि ती दिन सम्झनामा आउँछन् ।
कसै–कसैले मौका परेका बेला एक्लै पनि किन्थे । त्यस्तो निजी गोल खेल्न थाल्नुभन्दा पहिले एउटा मौखिक संझौता हुन्थ्यो, फुटे, हराए तिर्ने । त्यो सानो बल मैदानको वरपरको झाडीमा हराउन पनि सक्थ्यो र रबरको भएकाले फुट्ने पनि । त्यसैले खेल्दा खेल्दै त्यो बल हरायो वा फुट्यो भने खेल्ने जति सबैले दामासाहीले पैसा उठाएर नयाँ बल किनिदिनु पर्ने । त्यस्तो दण्डमा परियो भने फार्से हुन निकै गाह«ो पथ्र्यो र पनि खेल्ने रहरमा त्यो जोखिम उठाएरै छाड्थ्यौं ।
त्यसपछि अलिक ठूला झण्डै तीन–चार नम्बरको बल जत्रा पनि आए टेनिस बल अर्थात् रबरका गोली । ती भेट्दा हामी अलिक ठूलै भइसकेका थियौं । चापटे हान्दा खुट्टामा रातो डाम नै बस्थ्यो त्यसको । यी ठूला आकारका टेनिस आएपछि बल हराउने पिरलो त सकियो तर फुट्यो भने भागीमा दामासाहीले निकै पर्ने । एकाध साथी नङ्ग्रे, मुख्यरुपमा बुढी औंलाको नङले प्रहार गर्ने तरिका, हान्न अभ्यस्त थिए र तिनलाई यी टेनिस खेल्नुपूर्व नङ्ग्रे नहान्ने बाचा गराइन्थ्यो । बाचा मात्रै होइन नङ्ग्रे हानेर बल फुटे तिर्नु पर्ने धम्की समेत दिइन्थ्यो । अनि, अहिलेका नेताले जस्तो बाचा तोड्ने विकृति आएको थिएन त्यस बेलासम्म । हामी बाचामा बाँधिएरै हुर्कियौं ।
हरेक खेलाडीबाट एक–एक आना जम्मा गरेपछि दुई आने खाता किनेर पुरस्कार बनाइन्थ्यो । जित्ने टिमका प्रत्येकले एक–एक वटा खाता लान्थे । यसरी जितेर लगेको खाता घरमा देखाउँदा स्याबासी पाइन्थ्यो । त्यस समयमा खाता किनिदिनु पनि सामान्य अभिभावकलाई चर्कै थियो । यदाकदा हाम्रा सिनियरहरुले एक दर्जन खाता किनेर पुरस्कार राखी हामीलाई खेलाउँथे । एघार वटा जित्ने टिमका खेलाडीले र बाह«ौं खाता अम्पायरले पाउँथे । यस्तो पुरस्कार जित्दा हर्षले फुलेल होइन्थ्यो । लाग्छ अचेल नोबेल पुरस्कार पाउनेहरुको खुशीले पनि भेट्दैन हाम्रो त्यस बेलाको त्यो खाता थाप्दाको खुशीलाई ।
अलिक पछि आएर एक जना दाइले छालाको एक नम्बरे गोल किनेर ल्याए सानो टुँडिखेलमा । उनी अलिक भ्mोंकी र छुल्याहा स्वभावका थिए । सक्नेलाई पिटिहाल्ने । उनको गोल हेर्न हामी जम्मै बराम लाग्यौं । उनले गोल देखाउँदै तँ आइज, तँ आइज भन्दै तेह« जना छाने, उनीसहित चौध जना भएर खेल्नका लागि । हामी छनौटमा पर्नेको छाती चौडा भयो हर्षले, छनौटमा नपरेकाले खिन्न मानेर किनारमा बसी खेल हेरेर चित्त बुझाए । हामीले जीवनमा पहिलो पटक छालाको गोल खेल्न पायौं ।
हाम्रा पालामा छालाका गोल पनि अहिलेका जस्ता हुँदैन थिए । छालाको खोल हुन्थ्यो मुख भएको । त्यसभित्र रबरको ब्लाडर छिराएर त्यसको टुटीबाट हावा भरी त्यो टुटी बाँधेर हावा रोकी त्यसलाई पनि खोलभित्रै छिराएर लेसले मुख बन्द गर्नुपर्ने जुत्तामा लेस लाएर जसरी । कुतौजी पर्दा ब्लाडर फुट्ने डर रहन्थ्यो । यसरी गोलमा हावा भरी तयार गर्न एकाध साथीहरु खुब कुशल मानिन्थे । तिनको सीपको चर्चा हुन्थ्यो । हरेक क्षेत्रमा यस्ता सिपालु मानिस हुन्छन् ।
पूराना भएपछि ती गोलका छाला उध्रिन्थे । जुत्ता सिलाउने मिजारहरुकहाँ लगेर सिलाई माग्थ्यौं । तिनलाई दिने ज्यालाको पैसा जुटाउन पनि भागवण्डा गर्नुपर्ने । एक दुई मिजार बाबै सहयोगी पनि थिए । वास्तवमा तिनीहरु पूर्व खेलाडी अथवा खेल प्रेमी थिए । यसरी बेला–बेला निःशुल्क गोल सिलाइ दिने ती सज्जनहरुलाई मृत्योपरान्तै सही सलाम गर्न मन लाग्छ । पछि स्कुलको जुनियर टिममा प्रवेश पाएपछि भने गोल स्कुलले नै उपलब्ध गराउन थाल्यो तर एक सिजनमा एउटा वा त्यस्तै ।
जुनियर खेल इलाममा लोकप्रिय थियो । प्रतियोगिताका लागि दाताहरुले शिल्ड, कप आदि राखिदिएका थिए । यस्ता खेलमा लगातार तीन बर्ष जितेर धेरै शिल्ड र कप हामीले हाइस्कुलमा (अहिलेको आदर्श उच्च मावि) जम्मा गरेका थियौं, ती अभैm सजिएका होलान् त्यहाँ । हाम्रो जुनियर टिम राम्रो थियो । त्यस टिमका सबैजसो खेलाडी पाँच–सात बर्ष जसो खेल्यौं जुनियर सिनियर गरी एउटै टिमबाट । कलेज टिममा पनि त्यही समूह थियो । नामी टिम थियो त्यो । त्योभन्दा पूर्व एक्स स्टुडेण्ट, नगर–११ जस्ता स्थानीय चर्चित टिमहरु थिए । गोलाखर्कले पनि छुट्टै टिम निकाल्ने गथ्र्यो, त्यसमा धेरै शिवाकोटी वन्धुहरु हुन्थे ।
हामीले अर्काले खेलेको हेरेका भरमा खेल्न सिक्यौं । हाम्रा पालासम्म यहाँ प्रशिक्षणको कुनै व्यवस्था थिएन । कोच, कोचिङ भन्ने त सुनेको पनि थिएन भन्दा हुन्छ । अंग्रेजीको कोच शब्दलाई क्रिया सम्झेर त्यसो गर्नेलाई कोचर भनेको सुनिन्थ्यो । एक पटक नुरबहादुर नामका एक पुलिस इन्सपेक्टर आएका थिए इलाममा कतैबाट सरुवा भएर, उनी राम्रा खेलाडी रहेछन् भारततिर पनि खेलेका । उनले हामीलाई सर्ट पास जस्ता केही सीप सिकाएका थिए । त्यस समयमा राम्ररी छक्याउने, लामो र दरो सुट हान्ने जस्ता खेलाडीलाई राम्रो गनिन्थ्यो । जितेपछि खेलाडीको प्रशंसा गर्दै नारा लगाउँथ्यौं, किपर कस्तो– चुम्बक जस्तो, फरवार्ड कस्तो– बिजुली जस्तो, ब्याक कस्तो– खम्बा जस्तो, सूट कस्तो–तरवार जस्तो । हिप हिप–हुर्रे । ट्रफि जितेका दिन नगर परिक्रमा पश्चात स्कुल वा कलेजले एक कप चिया र मालपुवा, खजुर खुवाउँथ्यो खेलाडीलाई । भोलिपल्ट स्कुल छुट्टी गरेर विजयोत्सव मनाइन्थ्यो ।
त्यसताका इलाममा फुटबलका धेरै खेलहरु हुन्थे । निकै शिल्ड कप थिए । एउटै टिमले लगातार तीन बर्ष जितेपछि त्यो शिल्ड वा कप पच हुन्थ्यो । यसरी ट्रफिहरु पच भएपछि नयाँ ट्रफि स्थापना गरिदिने दाता पनि भएनन् सायद । ट्रफि मात्रै दिएर पनि भएन खेल आयोजनाको खर्च पनि दिनु पर्ने भयो । खेल बिस्तारै शौखिनबाट व्यावसायिक हुन थाल्यो, एमाच्योरबाट प्रोफेसनल । खेलको स्तर बढ्यो, गुणात्मकतामा बृद्धि भयो तर खेल आयोजनाको परिमाणात्मकतामा ह«ास भयो । यही घटौतीलाई कटौती गर्न यसपालि साथीहरु अगाडि आए र अहिले पुनः इलाम जागेको अनुभव भइरहेको छ ।
फुटबल खेलका लागि सबैभन्दा पहिलो कुरा खेल मैदान रहेछ । इलाम जस्तो पहाडी जिल्लामा सदरमुकामको सानो नगरको केन्द्र भागमा यत्तिको मैदान आपैmमा एउटा ठूलो कुरा हो । यो मैदानलाई व्यवस्थित गर्न गत बर्ष सम्याउने काम गर्दा यहाँको घाँस मासिएर माटे मैदानमा परिणत भएको छ । त्यसलाई खेलका लागि उपयुक्त राख्न अहिले हम्मे–हम्मे परेको छ । हाम्रा पालामा घोडे दुबोले ढाकेर गलैंचा जस्तो बनाएको यस मैदानमा दुई–चार बल्ड्याङ खाँदा छाला पनि खोसिँ्रदैन थियो ।
यो टुँडिखेलसँग धेरै इलामेको मात्रै होइन केही समय इलाम बास गरेकाहरुको समेत भावनात्मक सम्बन्ध छ । इलामको रैथाने भएका नाताले यो पंक्तिकारको त साल नाल नै त्यही मैदानमा छ भन्दा हुन्छ । । यो मैदान हाम्रा लागि खेलकुदको थलो मात्रै होइन, भेटघाट चौतारी पनि थियो, अन्तरङ्ग गफगाफको थलो पनि थियो । किशोरावस्थामा चोरेका काँक्रा भेला गरेर सहभोज गर्ने थलो मात्रै होइन, युवावस्थामा पञ्चायती व्यवस्थाबिरुद्ध गरिने क्रियाकलापको योजना कोर्ने कक्ष समेत थियो । भित्ताका पनि कान हुन्छन् भनिने समयमा भित्तै नभएको यस मैदानमा बसेर छलफल गर्नु सुरक्षित थियो । त्यति मात्रै कहाँ होर, यसको घाँसे मैदानमा बसेर घोडे दुबोका पात र डाँठ चुँड्दै प्रेमालाप समेत नगरिएको होइन यस मैदानमा ।
राणाकालमा बनाइएको यो फुटबल खेल मैदान पूर्वको गोलचौकीदेखि पश्चिमको चौकीसम्म पुग्दा डेढ मिटर होचो रहेछ । पचासौं म्याच खेल्दा पनि हाम्रो पुस्तासम्मका लागि त्यो अवरोधका रुपमा थिएन । पश्चिम खण्ड केही ओरालो छ भन्ने थाहा थियो । त्यसैले खेल पूर्व मैदानको अर्धभाग छान्नु पर्दा हाम्रो रोजाइ त्यही भिरालापट्टि हुन्थ्यो । खेल अवधिको दोस्रो अर्ध भागमा थाकेका बेला भिरालातर्पm गोल लान सजिलो हुन्छ भनेर नै पहिलो अर्धभागमा उकालो कुद्नेगरी त्यो रोजाइ गर्ने चलन थियो । तर गुणात्मक दृष्टिले स्तरीय खेल खेल्ने खेलाडीहरुले यस्तो मैदानमा खेल खेल्न अस्वीकार गर्न थालेपछि भने यो मैदानको अश्मितामै प्रश्न उब्जेको थियो ।
विज्ञान र प्रविधिको प्रभाव अन्य क्षेत्रमा जस्तै खेलकुदको क्षेत्रमा पनि अकल्पनीय हिसाबले परेको छ । घरमै बसेर संसारको कुनै पनि भागमा भइरहेको खेललाई तत्क्षण हेर्न पाइन्छ । त्यतिमात्रै होइन त्यस खेलका दृष्यलाई सुस्त गतिमा दोहो¥याएर हेर्दै त्यहाँ खेलाडीले उपयोग गरेको सीपको नक्कल समेत गर्न पाइन्छ, सकिन्छ । हामीले थाङ्ना फोगटाको डल्लो बनाएर वा भोगटेका गेडा टिपेर त्यसलाई गोलको रुपमा सानो टुँडिखेलतिर खेल्दासम्म यस्तो प्रविधिको कल्पना देवकोटाका शब्दमा ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भन्दा पनि टाढाको थियो ।
अहिलेको पुस्ताका लागि सानो टुँडिखेल एकादेशको कथा भएको छ । सार्वजनिक स्थल मिची खान पल्केका प्रगतिशीलहरुले त्यसको अस्तित्वलाई नै समाप्तप्रायः गरेका छन् । सार्वजनिक स्थल चाप्ने प्रवृत्ति इलामको मात्रै होइन देशभरबाटै बेला बखत यस्ता समाचार आउने गर्दछन् । राजधानी काठमाडौं सार्वजनिकस्थल मिच्नेहरुका लागि पनि राजधानी नै छ ।
त्यसो त हाम्रो फुटबल म्याच सानो टुँडिखेलमा मात्रै होइन, टेनिस युगमा चोक बजारमा समेत हुने गथ्र्यो । कालोपत्रे प्रविधि आइनपुग्दासम्म नेपालका यस्ता चोकहरुमा कुँदेका ढुङ्गा छापिएका हुन्थे, यहाँ पनि त्यस्तै थियो । ढुङ्गामाथि हाटका दिन पसल थाप्नेले पानीको भल छेक्न लगाएको माटाका पोतिएका स–साना थुम्का परेका गरा हुन्थे । कुतौजी पर्दा गोल कतै पसलतिर समेत छिर्ने गथ्र्यो । स्नेहयुक्त खप्की खाएको हिसाब गरी साध्य थिएन । हामीलाई खप्की खुवाउनेहरु पनि दर्शक भएकाले उति गाह«ो भने हुँदैन थियो ।
इलाममा फुटबल साहै« लोकप्रिय भएकै कारण हुनुपर्छ हामीले चोकै बजारमा म्याच खेल्न पाएको । यसले चारैतिरका पसल र बटुवालाई, यद्यपि हाटका दिन बाहेक अहिले जस्तो भिडभाड हुँदैन थियो, समेत हाम्रो खेलले वाधा पा¥थ्यो नै होला । बर्षातका दिनमा त हिलोको समस्या बेग्लै थियो । हामीले कतिको कपडा बिगारी दियौं, अहिले संझनामा उति छैन ।
अचेलकाहरु यस मैदानलाई ग्राउण्ड भनेर चिन्दछन् । फुपू, काकी, सानीमा, माइजु आदि इत्यादि सबै ‘आन्टी’ भए जस्तै हाम्रो ठूलो टुँडिखेल अचेल ग्राउण्ड भएको छ । हाम्रा पालामा बजारभित्रै आकारमा यसको तुलनामा सानो अर्को पनि खेल मैदान भएकाले यसलाई हामी त्यसलाई सानो र यसलाई ठूलो टँुडिखेल भनेर चिन्दथ्यौं । घाम अस्ताएपछि हाम्रा दौंतरी कोही चोक बजारबाट एक्लै टुँडिखेल जाने हिम्मत गर्दैन थिए । अस्पताल चोकबाट पश्चिम बाटाका दुबैतिरजसो बाँसघारी थियो । ती घारीबाट सडकतिर नुहिएका बाँसले सडकलाई सुरुङ सरह बनाएको हुन्थ्यो । ती सुरुङ सरहका सडकमा मध्यरातमा घोडामा चढेर हिंड्ने सामन्त भुतका कथाको कमी थिएन ।
यो टुँडिखेल भएका ठाउँमा टाहार बारी थियो । हरि डिसी भन्छन् उनका हजुरबाका पनि हजुरबा अजय दहाल सुवेदारका रुपमा इलाम आएका थिए । उनलाई धोबीधाराका कार्कीहरुले चेली दिए र त्योसँगै यो टाहार पनि दाइजोमा । त्यस बेला इलाममा ५०० पल्टन थिए । तिनलाई परेड खेल्न मैदान चाहियो । सट्टामा बालन गाउँको सिस्नोघारी इलाका दिएर स्थानीय प्रशासनले दहालसँग टाहार लियो र बि.सं १९३९ तिर निकै हल गोरु लगाएर जोत्ने, खन्ने र सम्याउने गरी व्यवस्थित गरिएको यो टुँडिखेल अहिले जति ठूलो थिएन । पूर्वपट्टि हामीले जान्दासम्म चौतारो र हावा घर थिए । पानीको सार्वजनिक कल पनि थियो । एउटा कलात्मक आकार लिएर उभिएको चुवाको बूढो रुख बर्षेनि रहरलाग्दो गरी पूmल्ने गर्दथ्यो । २०१८ सालमा पूर्वी भाग बिस्तार गरियो । त्यस समय कांग्रेसले पञ्चायती व्यवस्थाबिरुद्ध सशस्त्र प्रतिरोध गर्दै थियो । मुक्ति सेनाका बहादुर लडाकुहरु माइपोखरी क्षेत्रमा विचरण गर्दथे । हामी सुन्थ्यौं तिनमाथि कार्वाही बढाउन हवाइ जहाज ल्याइने भएकाले यो मैदानको बिस्तार गरिन थालेको हो । पछि २०४४ सालतिर राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजित हुने भएपछि मैदानको उत्तरी भाग बिस्तार गरेर हालको आकार दिइएको हो ।
जे होस् यो मैदानसँग निकै रोचक घोचक प्रसङ्गहरु छन् । राणा कालमा यस मैदानमा पेट्रोमेक्स बालेर रातिसम्म खेल हुन्थ्यो रे । राणा बडाहाकिमको टिम र रैतिहरुको टिमबीच हुने खेल राणा टिमले नजितौञ्जेल समाप्त नहुने र यस क्रममा रात पर्ने भएकाले एक जोडी विशेष पेट्रोमेक्सको व्यवस्था गरिएको थियो र तिनै बालेर खेल चल्थ्यो । त्यसरी खेल्ने पुस्ताका अग्रजहरुमध्ये केहीलाई यो पंक्तिकारले पनि सुन्ने मौका पाएकाले यो कथा हाल्ने अवसर पाएको छ । सुन्नेलाई सुनको माला, भन्नेलाई पूmलको माला । बर्षैपिच्छे यस्तो खेल प्रतियोगिता आयोजना गरेर यस्ता कथा सुनाउने मौका यो पंक्तिकार जस्ताले पाइरहला । हिप् हिप्– हुर्रे !
(स्रोत : इलाम पोस्ट अन्लाइन)