~युवराज गौतम~
“युद्धप्रति घोर वितृष्णा हुँदाहुँदै पनि म नेपालमा सामेल भएँ । भोगेच्छा र जिजीविषालार्इ दबाएर म धेरैपल्ट मरेको छु । आत्मग्लानी, कुन्ठा, आत्मभत्र्सना, आत्मप्रवञ्चना, विरत्ती, पीडा, विषाद र मनभित्र दन्किरहेको दावानलले मलार्इ संवेदनशून्य बनाउँदैछ भन्ने प्रबल अनुभूति भएपछि चालीसजना जुनियर अफिसरको सहायताले मैले प्रधानमन्त्रीसहित सत्तरीजना नेताको हत्या गरेँ । मेरो देशलार्इ लुटिरहेका, चुसिरहेका र बलात्कार गरिरहेका ती पापी, दुष्ट अनि विदेशीका अनुयायीहरुलार्इ सिंहदरबारभित्रै सिध्याउन पाउँदा मलार्इ अपार सन्तुष्टि र आनन्दको अनुभूति भइरहेको छ । अहिले म मेरा सहयोगीहरुसँग फुलचोकी डाँडामा छु । म र मेरा सबै साथीहरुको खोजी भइरहेको छ । सायद हामी अब आत्मसमर्पण गर्छौं र कोर्टमार्सलको भागिदार बन्नेछौं । शेक्सपियरले भनेझैं कायरहरु दिनैपिच्छे मर्छन र वीरहरु एकपल्ट मात्र । मर्न त एकदिन छँदैछ । तसर्थ मैले सोचेँ यी निक्रिष्ट, भँडुवा र देहद्रोहीलार्इ समाप्त पारेर किन नमर्ने ? म नेपाल आमाको सच्चा सपुत हुँ र मेरो शरीरमा स्वाभिमानी पुर्खाको रगत दौडिरहेको छ भन्ने प्रमाणित गर्न मैले मेरै नेतृत्व सिंहदरबार काण्ड रचेको हुँ । तपार्इंको सञ्चारमाध्यमबाट म सगर्व घोषणा गर्छु, सेनामा मेरोजस्तो विचार राख्ने साहसी, वीर, स्वाभिमानी साथीहरुले जागिरको होइन, देशको माया गरुन् । उनीहरुले चेतनशील भएर सोचुन् र राष्ट्रघातीहरूलार्इ सलाम ठोक्न छोडेर नेपाल र नेपालीको शिर ठाडो पार्ने काम गरुन् । उनीहरुलार्इ मेरो सलाम ।” – एफएमबाट मेजर अनन्यको जोशपूर्ण मन्तव्य सुनेपछि सैनिक मुख्यालयबाट हजारौं सैनिकले बाहिर निस्केर सहर घेरे ।
हजारौं नेता, कार्यकर्ता, पत्रकार, कर्मचारी, मानव अधिकारकर्मी आदि गिरफ्तार भए । हेलिकप्टरबाट गस्ती गर्न थालियो । सहरमा कोलाहल फैलियो ।
“सेनाले ठीक गर्यो । मेजर अनन्य ज्युँदो मान्छे रहेछ । नामर्दले झैं देश जलेको टुलुटुलु हेरेर बसेन । आखिर यो देश जोगाएको त सेनाले नै हो । संसारमा पचासौं देश पराधीन भए । पचासौं देश उपनिवेशवादको सिकार भए । धेरै देशमा साम्राज्यवादको कालो छायाँ पर्यो । नेपाल कहिले पनि पराधीन, परतन्त्र र परावलम्बी भएन । देशको स्वतन्त्रता जोगिएको सेनाले गर्दा त हो नि । आज हेर्नुहोस् त नेपालको अवस्था । विदेशीहरुले कति साह्रो हेपिरहेका छन् । विदेशीको तलबभत्ता खाएर काम गर्ने नेताहरुले नेपाललार्इ सिक्किम बनाउन खोजेपछि मेजर अनन्यले अदम्य साहसका साथै उचित समयमा उचित कदम चाल्यो । सिंहदरबारको स्टेटहलमा डिनरको आयोजना भएको बेला सत्तरीजना देशद्रोही नेतालार्इ एकै चिहान बनाइदियो । ऊ नेपाल आमाको सच्चा सपुत रहेछ । उसको कदम स्तुत्य र सराहनीय मान्नैपर्छ ।” पत्रकारहरुले एफएमको स्टेसनमा बसेर मेजर अनन्यको खुलेर प्रशंसा गरे ।
‘देश ठूलो कि प्रजातन्त्र ? देश ठूलो कि पार्टी ? देश ठूलो कि मानव अधिकार ? देश ठूलो कि राजनीति ? देश ठूलो कि सरकार ? देश ठूलो कि सरकारको आदेश ? आफ्नी आमाको बलात्कार देख्दा सेनाले प्रतिकार गर्छ कि माथिको आदेश पर्खिन्छ ?’ सेनाका जनरेलदेखि सिपाहीसम्मले अत्यन्त उत्सुकतापूर्वक मेजर अनन्यको तारिफ गरिरहे ।सहर सुनसान थियो । चकमन्न थियो । सबै डराइरहेका थिए । भोलि के होला भन्ने चिन्ता थियो ।
मेजर अनन्यका बुबाले साँझपख अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन आयोजना गरे ।
“हिजो राति मेरो छोराको नेतृत्वमा सत्तरीजना देशद्रोही मारिए । त्यसमा मलार्इ कुनै पश्चात्ताप छैन । मर्नेहरूप्रति सहानुभूति पनि छैन । कसैले गर्नुपर्ने काम मेरो छोरा र उसका साथीहरूले गरे । अगस्टो पिनोचेले चिलीमा एलेन्डे र उसका सयौं साथीलार्इ मारेर सैनिक शासन सुरु गरेझैं मेरो छोराले डिक्टेटर बन्ने इच्छा गरेको छैन । फिल्डमार्सल बन्नुपर्ने भाग्य लिएर जन्मेको अनन्यलार्इ कोर्टमार्सल गरिएमा म आश्चर्य मान्दिनँ तर सेनालार्इ मेरो प्रश्न छ- ‘मेरो छोराले अपराध गर्यो कि सिपाहीको कर्तव्यपालन गर्यो ? नेपाललार्इ खण्डित, शिथिल, पराधीन र क्षतविक्षत बनाउन चाहनेहरूको बध गरेर भगवान श्री कृष्ण झैं उसले सत्यका पक्षमा आफूलार्इ उभ्याएको छ । उसलार्इ मृत्युदण्ड नै दिइए पनि इतिहासले उच्च मूल्यांकन गर्नेछ ।’ “
मेजर अनन्यका बुबाका शब्दहरू सुनेर पत्रकारहरू छक्क परे । उनीहरू स्तब्ध र भावशून्य भए ।सीएनएन, बीबीसी, अल जजिरा लगायत विश्वका धेरै टेलिभिजन च्यानल र सबै खालका सञ्चारमाध्यमले नेपाली मेजर अनन्यका बारेमा यथेष्ट प्रचारप्रसार गरे । अन्याय नगर्नु र अन्याय नसहनु भन्ने तालिममा हुर्केका थिए अनन्य ।बीस वर्षको उमेरमा स्नातक उत्तीर्ण गरेर सेकेन्ड लेफ्टिनेन्ट भएका उनी साहसी, लगनशील, विनम्र, प्रतिभाशाली र अनुशासित सिपाही मानिन्थे । समकालीन साथीहरूबीचमा लोकप्रिय रहेका अनन्यले आफ्नी प्रेमिकालार्इ एकदिन भनेका थिए- ‘मलार्इ असह्य भएको छ, देशको अवस्था देखेर । त्यसैले म यो देशको मुहार हँसाउन कठोर कदम चाल्दैछु ।’
‘तिमी पागल त भएनौ ? तिमी एक्लो मान्छेले के गर्न सक्छौ ?’ प्रेमिकाले सोधेकी थिइन ।
‘संसारमा सबै एक्लो जन्मिन्छन् र एक्लै मर्छन् । नातागोता, परिवार, साथीभाइ, पत्नी, प्रेमी प्रेमिका सबै सहयात्री मात्र हुन् ।’अनन्यको कुराले अन्यमनस्क र भावुक बनेकी थिइन् उनकी प्रेमिका ।
अनन्यले एकदिन भनेको थियो- ‘ कृष्ण, क्राईस्ट, बुद्ध, गान्धी, मन्डेला, हिटलर, मुसोलिनी, विस्मार्क, किङ मार्टिन लुथर, नेपोलियन, चंगेज खाँ, यासेर अराफात सबै एक्लै थिए । उनीहरूले अंगिकार गरेको दर्शन सुरुमा सर्वस्वीक्रित थिएन । कालान्तरमा सबैले धेरथोर अनुयायीहरू पाए । म पनि हतियार उठाउँछु र राष्ट्रघातीहरूलार्इ छानी छानी मार्छु । सत्तरी असीजना राष्ट्रघाती र तिनका मतियारहरू मार्ने हो भने नेपाल आमालार्इ अब एक सय वर्षसम्म कसैले हेप्ने छैन ।’
अनन्यको कुरा सुन्दा उसकी प्रेमिकाले ठट्टा ठानेकी थिर्इ । चर्को अन्तरराष्ट्रिय दबाबपछि राष्ट्राध्यक्षले सिंहदरबार हत्याकाण्डबारे छानबिन गर्न आयोग बनाए । सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्यो । सहरमा दिनैपिच्छे अनन्यको पक्षमा जुलुसहरू निस्कन थाले । देशका प्रमुख सहर बजारहरू ठप्प भए । पत्रपत्रिकाले लेखे- ‘अनन्य निर्दोष छैनन् तर उनले जुन घटनाको नेतृत्व गरे, त्यसले नेपाल र नेपाली जनतालार्इ साँच्चैको मुक्ती दिएको छ । बीसौं हजार निर्दोष जनता मार्ने र लाखौंलार्इ कंगाल बनाउने कथित जनयुद्धभन्दा सिंहदरबार काण्ड धेरै उच्चकोटिको राष्ट्रवादी कदम हो ।’ अप्रत्यासित रुपमा टुँडिखेलमा मेजर अनन्य र उनका साथीहरूलार्इ लाखौं जनताले अभिनन्दन गरे । कोर्टमार्सल गर्ने निर्णय रद्द गरियो । विशाल सभालार्इ सम्बोधन गर्दै मेजर अनन्यले भने- ‘मैले मेरी आमाको दूधको मूल्य चुकाएँ ।’
(अप्रकाशित कथासंग्रह ‘नोस्टाल्जिया’ बाट)
(स्रोत : श्री रुपरेखा)