कविता : हौसला

~ध्रुव पन्थी~Dhruba Panthi

मलाई थाहा छ,
हिसाब खोज्न थालेँ भने
मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन
सरले त पढाउनुभएको थियो –
‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’
तर जतिपल्ट गणना दोहोर्‍याए पनि
त्यो बराबरी भेटिने छैन

‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि
‘नगदप्रवाह विवरण’ मा कतै तल-माथि नभए पनि
म मिलाउन सक्ने छैन मेरो ‘वासलात विवरण’
‘ह्रासकट्टी दर’ मिलाउन खोजुँला
‘प्राप्य लेखा’ र ‘देय लेखा’ यताउति पर्‍यो कि हेरुँला
मन बुझाउने बाटो जेजे गरे पनि
गणना सबै भद्रगोल भैसकेको हुनेछ
गणितका जटिल सुत्रहरु किन चाहिए र?
सामान्य जोडघटाउले गिज्याइरहेको हुनेछ

यस्तो अप्रिय यथार्थ स्विकार्ने आँट छैन ममा
त्यसैले म भाग्दैछु
हिसाब खोज्नुपर्ला र सबै पोल खुल्ला भनेर
झन् जोडजोडले भाग्दैछु
तैपनि खुशीको कुरा, म एक्लै छैन
मेरा अघिपछि थुप्रै साथीहरु छन्
यसरी नै भागिरहेका
उनीहरु मलाई हौसला दिँदै छन् –
‘बुझ्यौ, भाग्दाभाग्दै पनि रमाउन सिक्नुपर्छ!
यही भागाभागको दौड जितेर छातीमा तक्मा थाप्नुपर्छ!!’

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.