~घिमिरे युवराज~
संगत गरिरहेको हुन सक्छ। वरिपरि सधैं देखिरहको पनि हुन सक्छ। तर, उसको साच्चिकै स्थितिको गहिराईसम्म पुग्नै सकिंदैन। उसको आर्थिक र समाजिक विक्षिप्तता, लाचारिपन, शारीरिक र मानसिक दुःख अति भयानक हुन सक्छ तर पत्तो हुंदैन। समाज र प्रबृत्तिका कारणले जन्मिएका ती आर्तनादहरु बढो मनोवैज्ञानिक र गहिरा हुन्छन्। त्यस्ता मानिसहरुको भित्री पिडा कलाले मात्रै प्रतिविम्बित गर्न सक्छ भन्ने लाग्छ मलाई। आम मानिसहरुका बीचमा त्यस्ता कैयन चरित्रहरुलाई हामी धकेल्दै, उछिन्दै, कुल्चंदै हिंडिरहेका हुन्छौं। उनीहरुको पीडाको आवाज कतै लुप्त भएर चिच्याइरहेको हुन्छ तर पत्तो पाउंदैनौं। त्यसप्रति हामी चाखै राख्दैनौं। क्यानभाषमा अनेकौं रंगहरु जथाभावी पोत्छन्। कुरुप बनाउंछन्। र, कलाकारहरु भन्छन्–’यो फलानोको अनुहार।’ वाहियात जस्तो पनि लाग्छ तर वास्तविकता के भने एउटा व्यक्तिको चरित्रको अनुहार हामीले बाहिर देख्ने जस्तो त हुन्न। उसको उम्लिरहेको मनको, नियतिको, अभावको, धोकाको, दुर्घटनाको, दुर्वलताको, यौन कुण्ठाको, स्खलनको वा व्यभिचारको अनुहार त रंगहरुको कोलाज जस्तै हुन्छ।’ मलाई लाग्छ, त्यस्ता भित्री अनुहारहरु साहित्य पढ्दा वा नाटक र चलचित्र हेर्दा अझै बलियो भएर आउंछन्।
चार्ली च्याप्लिनका मुक चलचित्रहरु त्यस्ता विक्षिप्त चरित्रका बलिया उदाहरण हुन्। भोकको चरम उत्कर्सले छालाको आफ्नै जुत्ता पकाएर खानु पर्ने विक्षिप्तताको सिमा त्यही जुत्ता पकाएर खाने मान्छेलाई भेट्दा पनि पत्तो नहुंदो रहेछ। भारतीय कथाकार मुन्छि प्रेमचन्दका कथाहरु पढ्दा मलाई त्यस्तै हुन्थ्यो। उनको गोदान उपन्यासको मञ्चन दिल्लीको एउटा नाटकघरमा हेर्दा म पुरै अनुहार कुच्याएर रोएँ । एउटा गरिव किसान ‘होरी’को आर्थिक र सामाजिक विक्षिप्तताको चरम पिडाको कथा हो त्यो। होरी जस्ता धेरै पात्र मैले मेरो समाजमा देखिरहेको थिएं। तर, उनीहरु प्रति कहिल्यै ध्यान गएको थिएन। गोदान पढेपछि र हेरेपछि मैले तिनका दुःखलाई अलिकति भएपनि छाम्न सकें। त्यसो हुनुको अर्थ साहित्य वा कलाले घटना र समस्यालाई बढाएर वा ठूलो बनाएर प्रस्तुत गरेकाले हो भन्ने होइन। हामीले स्वभाविक जीवनमा त्यस्ता चरित्रहरुको पत्रपत्रमा लुकेका पिडाहरुलाई ढम्याउन नसकेकाले हो। तर राम्रो कला वा साहित्यमा चरित्रका पत्रपत्रहरु समेटिएको हुन्छ। प्रस्तुतिको शैली अनेकौं हुन् सक्छ।
कति कृति पढ्दापढ्दै यस्तो घटना र पात्रहरु यस्तो ठाउंमा पुग्छन्। स्तब्ध होइन्छ। फ्रेन्च काफ्काको मेटामोर्फोसिस पढ्दा म आफै विक्षिप्त भएं। ग्रेगोर चरित्र विहान सुतेको ठाउंमा आखां खोल्दा आफूलाई सांङ्लोमा रुपान्तरित भएको पाउंछ। कथा पढ्दै जांदा उसको दुःख, गरिवी, बाध्यता र मानसिक विक्षिप्तताले ‘म’ पाठकलाई नै सांङ्लो भएजस्तो लाग्छ। अचम्म साहित्यमा यस्तो शक्ति हुँदो रहेछ । लेखकले कथाको चरित्र निर्माणमा कति मेहनत गरेको छ त्यो ठूलो कुरा हो भन्ने लाग्छ मलाई। हालसालै प्रकाशित नारायण ढकालको उपन्यास प्रेतकल्पमा पनि यथार्थ जीवनका धेरै थिचिएका चरित्रहरु मनछुने तरिकाले प्रस्तुत गरिएको छ।
सामाजिक विसंगतिले पिल्सिएको त्यस्तै एउटा अभागी चरित्र हो मोहन दास। भारतिय कथाकार उदय प्रकाशको नाम चलेका मध्ये एउटा कथा हो महन दास। यसलाई रङ्ग पत्रकार यज्ञशले नेपालीमा अनुवाद गरेका छन्। र, फाइन प्रिन्टले भर्खरै बजारमा लघु उपन्यासको रुपमा प्रकाशित गरेको छ।
उदय प्रकाश मैले त्यति पढेको नाम हैन। तर, कथाकार चंकी श्रेष्ठ जहिले पनि भेट हुंदा उदय प्रकाशको कुरा कोट्याइ हाल्थे। ‘ए, तिमीले अझै उदय प्रकाश पढेनौ? पढ है।’ उदय प्रकाशको कृतिको उत्कृष्टताको तारिफ शब्दमा व्यक्त गर्न नसकेर चंकी जी अक्मकिन्थे। र भन्थे ‘यस्तो छ नि…उ’ कस्तो छ भन्ने कुरा चाहिं आफै पढेर मात्रै थाहा पउने स्थिति हुन्थ्यो। छप्पन तोलेका कर्दन, तिरिछ, भाइका सत्याग्रह, दिल्लीका दिवार, साइकिल, पालगोमराका स्कुटर कन्ठग्र नाम पढ्दै चंकी उदय प्रकाशका कथा पढ्न उक्साउँथे। अचम्मको संयोग, करिव २ वर्षअघि आफ्ना रचनाहरु संग्रहित व्लग पढ्ने निवेदन सहित उनको ईमेल मैले पाएँ । कुनै सन्देह बेगर उदय प्रकाशसँग मेरो अनलाइन दोस्ती बढ्यो। अर्को आकर्षण थियो उनका कथाहरुको नाट्य प्रस्तुति। केही महिनाअघि उनका केही कथाहरु अमेरिकाका विभिन्न प्रान्तहरुमा मञ्चन भएका थिए। त्यसले पनि मलाई उनका रचना प्रति चाख बढाएको हो।
उनका धेरै चर्चित लामा कथा मध्ये मोहन दास एक हो। चरित्र निर्माण र कथाको प्रस्तुति शैली उदय प्रकाशको सिर्जनाको ठूलो शक्ति हो। मोहन दास कथामा मोहन दास चरित्रलाई उनले मोहन दास करमचन्द गान्धीको विसंगत प्रतिक खडा गरेका छन्। कथाको पात्रको आमा, बुबा, श्रीमतीको नाम पनि गान्धीकै आमा, बुबा, श्रीमतीको नामसँग मिल्छ। तर, ती दुई मोहन दासका बीच धेरै क्यालेन्डरहरु फेरिइसक्दा पनि समय उस्तै छ। जुन समयका विरुद्धमा लडेर एउटा मोहनदास अंहिसाका पुजारी भए, सामाजिक रुपमान्तरणका लागि संसारमा उदारणीय बने, तर वर्षौं पछि पनि त्यही समयमा जकडिएर अर्को मोहनदास विद्रुम मानिसको प्रतिक हुन पुग्छ। र, भन्न बाध्य हुन्छ–’म मोहन दास हैन। म मोहन दास हैन भनेर कबोल गर्न तयार छु तर मलाई यो यातनाबाट मुक्त गराई देऊ।’ कथाका मोहन दास पढ्दा गोदान वा मेटामोर्फोसिस पढ्दा जस्तै तनाव हुन्छ। मोहन दासलाई भेट्न पाए उसलाई सकेको सहयोग गर्न पाए हुन्थ्यो। यहाँ मैले कथा बर्णन गर्नुको कुनै तुक छैन। तर, लेखकले उभ्याएको चरित्रका बारेमा नभन्दा त मलाई नै छटपटी हुन्छ। कृतिमा हरेक ठाउं घटना र चरित्र आफै बोल्छ। उसले भोगेका र बोलेका कारुणीक स्थिति लेखकले इनभर्टेट कमा भित्र जस्ताको तस्तै राखेका छन्। त्यहाँ मोहनदासको नाममा कहींपनि लेखक आफैं बोलेका छैनन्। तर, नेपाली भाषामा अनुवाद गर्दा मोहन दास र अरु चरित्रहरुको भाषा शैली, परिवेश र कारुणिकता चाहिँ कम भएको छ। पुरै कृति पढ्दा मोहन दास र उसका परिवारको पिल्साई अनुभूत भने हुन्छ।
मोहन दासको जस्तै घटनामा जेलिएको मानिस त मैले देखेको छैन तर मोहन दास पढिरहँदा मैले मेरो गाउँका बाबुलाल झाँगडलाई सम्झी रहें। खर्रपनमा माटो बोकेर जिविकोपार्जन गर्ने बाबुबाल दाइका दुःख, उनको परिवारको स्थिति र बाबुलाल दाइ खुशी हुँदा र हाँस्दाको क्षण म अझै सम्भि्करहेको छु। लेखकको अर्को खुवी पनि त्यही हो कि एउटा अति गरिव, दुःखी मानिस खुशी हुँदा र रमाउँदाको क्षण कति कारुणीक हुन्छ, उदय प्रकाशले मोहन दासमा देखाएका छन्। मैले यतिखेर झमक घिमिरेलाई सम्झें। शारीरिक बिकलांग भएकी साहित्यकार घिमिरेको डकुमेन्ट्री बनाउनेहरुले मोहन दास त पढ्नै पर्छ। मोहन दास जस्तो चरित्रका पनि त खुशीका क्षणहरु हुन्छन्। चरम आर्थिक अभाव र दुःखमा पिल्सिएको मोहन दास पनि कहिलेकाहीं आशाको झल्को बोकेर श्रीमतीसँग जिस्कन्छ। रमाउँछ। मातेको बेला मज्जाले हाँस्छ। चरित्रलाई यसरी न्याय गर्नु लेखक वा निर्देशकको ठूलो क्षमता र कर्तव्य हो। तर एक घण्टाको डकुमेन्ट्रमा झमक घिमिरे कहीं एक पटक पनि खुशी हुन्नन्। त्यो कसैको पनि जीवनको वास्तविकता हैन। मोहन दासमा ट्र्याजिककमेडी प्रसस्त छ।
यज्ञशले गरेको नेपाली अनुवाद कृतिको विमोचन समारोहमा बुर्कुसी मारेर गएँ । कार्यक्रम रमाइलो भयो। कृष्णज्वाला देवकोटाले कृतिको स्पष्ट समीक्षा गरे। त्यतिराम्रो लेख्ने साथी यज्ञश मञ्चमा आएपनि काम्दा पो रहेछन्। रमाइलो विरोधाभाष भेटें।
यति राम्रो कृति अनुवाद गरेकोमा यज्ञशलाई बधाई। मलाई उदय प्रकाशको ‘मोहन दास’ प्रेमचन्दको ‘होरी’ चरित्रको अर्को अवतार जस्तो महसुस भैरहेको छ। यी चरित्रहरु हाम्रै वरिपरि मेटिन्छन्, तपाईंले ख्याल गर्नु भएको छ?