~पारिजात~
जीवनको पूर्व–पश्चिम
कुनै यात्रा यस्तो भएन
जहाँ पाइतालामा काँडा नबिझेको होस्,
जहाँ औलामा ठेस नलागेको होस्
दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका
सहयात्रीहरु देखेपछि
जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा
माइल ढुंगामा यसरी लेखेर आएको छु,
एकथरीको जीवन
विजयबाट शुरु भएर पराजयमा अन्त हुन्छ
अर्काे थरिको जीवन
पराजयबाट शुरु भएर पराजयमा अन्त्य हुन्छ
कुनै अनुभूतिको नाउँ जीवन हो?
कुनै दिन जीवनलाई मैले
कर्कलाको पातको पानीजस्तै सँगालें
कुनै दिन जीवनको अनुभूति मर्करी जस्तो फुटेर
कोसौं भाग लाग्यो
कुनै दिन अञ्जुलीभरिको पानी जस्तै
अनुभूति जीवनको
छताछुल्ल भई भुईभरि छरियो
बीस कोल्टे आँशु केही एक कोल्टे हाँसो फेर्न पाएँ
आजभोलि म रित्तो पेट र नांगो आङमा
अनुभव गरिरहेछु
र अनुभूति पसीना र थकानमा बाँच्दैछ
र अनुभूति थोरै ज्याला र धेरै असन्तुष्टिहरुमा साटिंदैछ
“नसहनु” भन्ने एउटा अनुभूतिमा छाम्दैछु, तौलँदैछु
त्यसले अनुभूति विद्रोहमा जाग्दैछ
चक्रको यस बिसौनीमा
चाहे पाइतालाभरि काँडा बिझेको किन नहोस्
म फेरि अर्को माइल ढुंगामा अर्को चिनारी लेख्दैछु,
जीवन पराजयबाट शुरु भएर विजयमा अन्त हुन्छ।
एउटा व्यक्तिको जीवन इतिहासको प्रतिनिधि हुन सक्दैन
त्यसैले जीवन निश्चितरुपले यस्तै हुन्छ।
जीवन पराजयबाट शुरु भएर विजयमा अन्त हुन्छ।
कुनै समय सुस्केरामा छाम्न पर्दैन जीवनलाई,
झुल्कँदा र अस्ताउँदा घाम यसरी रातै हुन्छ
जीवन आफै एकदिन विजय भएर जन्मनसक्छ
सुकुमारी पाइतालाहरुको भरमा उभिएर म
अनुभूतिको अन्तिम चिनारी लेख्नेछु
जीवन विजयबाट शुरु भएर विजयमा अन्त हुन्छ।
(पारिजात, संकलित रचना, ग्रन्थ ५)
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १६ – २०६६ फागुन १९ गते बुधबार)