इलामको पद्य साहित्यको संसारमा जीवनहरि शर्मा नौलो नाम होइन । सुम्बेक–७ मा २०१७ सालमा जन्मनु भएका साहित्यकार शर्माले ‘टिष्टाको सन्देश’ र ‘तिलक प्रथा’ गरी दुई वटा सामाजिक खण्डकाब्य प्रकाशित गरिसक्नु भएको छ भने ‘अधम’ नामक फुटकर कविता संग्रह प्रकाशनको अन्तिम चरणमा पुगेको छ। जस्बीरेस्थित बालमण्डल उच्च माविमा सामाजिक बिषयको शिक्षण गर्ने शर्माले आफ्ना कृतिमा समेत सामाजिक खालका बिषयबस्तुहरु नै उठाउने गर्नु हुन्छ।
साहित्य यात्रामा कहिलेदेखि लाग्नु भयो ?
शर्माः मैले ०४२ सालमा मरब क्याम्पस पढ्दै गर्दा कवि शिरोमणिको जन्म जयन्तीको अवसरमा आयोजित समारोहमा ‘लेखनाथको सम्झनामा’ भन्ने कविताबाट गरेको हुँ । जुन कविता पुरस्कृत समेत भएको थियोे । तर त्यसको धेरै समय लेखिनँ । ०५८ सालमा मेरो बुबाको निधनमा प्रकाशित स्मृतिग्रन्थमा ‘अन्तिम बिदाइ’ भन्ने कविता लेखें । त्यसयता चाहिं लेखनमा सक्रिय छु ।
कसको प्रेरणाले लाग्नु भयो ?
शर्माः नेपाली बिषयको विद्यार्थी भएकाले लेख्न त आफैं थालेको हुँ । तर यसलाई प्रकाशन गर्न र बिभिन्न कार्यक्रममार्फत पाठक र श्रोता समक्ष पु¥याउन चाहिं इलामका तत्कालीन समयका कवि स्व. बुद्धिप्रसाद घिमिरेले प्रेरणा दिनु भएको हो । साँच्चै भन्नुपर्दा जिविसको सभाहलमा आयोजित कवि गोष्ठीमा एक पटक एक जना कविले अत्यन्तै अश्लील कविता बाचन गर्नुभयो । जसमा प्रयोग भएका शब्दहरुले हाम्रो शीर निहुरायो । त्यो कविता सुनिसकेपछि सभ्य साहित्यको शुरु गर्नुपर्छ भन्ने लागेर म पद्य साहित्यको क्षेत्रमा आएको हुँ । यस क्षेत्रमा आएदेखि ‘टिष्टाको सन्देश’ र ‘तिलक प्रथा’ गरी दुई वटा सामाजिक खण्डकाब्य प्रकाशित गरिसकेको छु भने बिभिन्न पत्रपत्रिका तथा रेडियोमार्फत पनि कविताहरु प्रकाशन तथा प्रशारण गराउने गरेको छु ।
पहिलो कृतिका रुपमा ‘टिष्टाको सन्देश’ प्रकाशन गर्नुभयो । तपाईको कृतिले दिन खोजेको टिष्टाको सन्देश खास के हो ?
शर्माः–पहिलो कुरा त कुनै पनि कृतिका निम्ति कुनै बिशेष बिषयबस्तु चाहिन्छ । खण्डकाब्यले मान्छेको जीवनको एउटा पाटोलाई प्रतिनिधित्व गर्छ । काम बिशेषले म सिक्किम गएको बेला त्यहाँको सामाजिक जीवन, सिक्किमेली जनताको चालचलन, उनीहरुको बोली र ब्यवहारबाट म निक्कै प्रभावित भएँ । यसले गर्दा सिक्किमेली जनताको त्यो भावना र ब्यवहार नेपाल र नेपालीको जीवनमा सन्देशको रुपमा पुगोस् भन्ने भावनाले ‘टिष्टाको सन्देश’ खण्डकाब्यका रुपमा पाठक सामु प्रस्तुत गरेको हुँ ।
सिक्किमका जनताको के त्यस्तो ब्यबहार पाउनु भयो जसले तपाईलाई सन्देशका रुपमा यो कृति लेख्ने प्रेरणा दियो ?
शर्माः–सिक्किम बाहेक म भारतको अन्य ठाउँहरुतिर पनि घुमें । त्यहाँको जनजीवन पनि देखें । बिशेष गरी भारतको बिहार, उत्तर प्रदेशलगायतका प्रान्तमा पुगेका कतिपय हाम्रा दाजुभाइहरु लुटिनेलगायत भारतीयहरुबाट दुब्र्यबहार भोग्नुपरेका घटनाले मेरो मनमा भारतीयहरुप्रति निक्कै नकारात्मक भावनाको बिकास भएको थियो । सिक्किम जाने क्रममा पनि त्यो आशंका र त्रास छँदै थियो । म पहिलो पटक सिक्किम जाँदै थिएँ । मलाई त्यहाँको बारेमा खासै जानकारी थिएन । कतै म लुटिने पो हुँ कि ? भन्ने डर पनि थियो । त्यसमा पनि राति मात्रै सिक्किम पुगेकाले अलपत्र पो परिन्छ कि भन्ने पनि लागेको थियो । तर त्यहाँ पु¥याउने गाडीका चालकदेखि होटल ब्यवसायी, डाक्टर, कर्मचारी र बिशेष गरी त्यहाँका जनताले यसरी सहयोग गरे कि यसले मलाई सिक्किम भौतिक रुपमा मात्रै होइन, मानवीय रुपमा पनि उत्तिकै बिकास भएको महसुस गरें । हामी त भौतिक रुपमा जति गरीब छौं, सामाजिक र मानवीय रुपमा त्यो भन्दा बढी गरीब र कमजोर रहेछौं । प्राकृतिक रुपमा निक्कै सम्पन्न रहेको सिक्किममा सिक्किमेलीले देखाएको आत्मीयता, सहयोगीपन र जीवनशैली यति उच्च रहेछ कि जसले मलाई सन्देशका रुपमा कृति लेख्ने प्रेरणा दियो ।
‘टिष्टाको सन्देश’ लगत्तै ‘तिलक प्रथा’ प्रकाशन गर्नुभयो । एउटा सामाजिक सन्देश र अर्को सामाजिक समस्या । यी दुईमा केही त्यस्तो संयोग पनि छ कि ?
शर्माः–सिक्किमको उच्च सामाजिक जनजीवनबारे कलम चलाइराख्दा हामी किन पछाडि प¥यौं भन्ने कुराले पिरोलिरह्यो । हामीलाई आर्थिक, मानसिक, सामाजिक रुपले अघि बढ्न कसले ब्यवधान खडा गरेको रहेछ भन्ने खोजी गर्ने क्रममा मुख्य समस्याका रुपमा तिलक प्रथा पनि भेटियो । यसको सेरोफेरोमा महिलाहरुलाई बोक्सी लगाउने, दाइजो नल्याएको निहुँमा कुटपिट गर्ने, घुम्टो प्रथालगायत हामीसँग यस्ता समस्याहरु छन् कि जसले हामीलाई मानसिक र मानवीय रुपमा बिकास हुन दिइरहेकै छैन । यस्ता कुसंस्कारहरुले समाजलाई नकारात्मकतातर्फ डोहो¥याउँछ । यसबाट मुक्त हुनुपर्छ भनेर ‘टिष्टाको सन्देश’ लगत्तै ‘तिलक प्रथा’ प्रकाशन प्रकाशन गरेको हुँ ।
तपाईं शिक्षण पेशामा आबद्ध मान्छे, कविता लेख्ने समय कसरी निकाल्नु हुन्छ ?
शर्माः–मैले शिक्षण पेशामा लागिसकेपछि नै कविता लेख्न थालेको हुँ । मेरो घरदेखि विद्यालय निक्कै टाढा भएका कारण अधिकांश समय त विद्यालयकै लागि खर्च हुन्छ । विद्यालय र विद्यालय आउने जाने समयभन्दा बाहेक मैले घरमा बिहान–बेलुका गर्ने कामबाट समय निकालेर कविता लेख्छु । यसमा मेरो परिवारले निक्कै साथ दिने गरेको छ । एक किसिमले भन्दा मेरो परिवार नै साहित्यिक र सांगीतिक खालको छ । मेरो बुबा पनि कविता लेख्नु हुन्थ्यो । मेरो ज्वाईं मुरारी गुरागाईं स्वर परीक्षा उत्तीर्ण गायक हुनुहुन्छ भने छोरी (रिता पोख्रेल) पनि कविता लेख्छिन् । माहौल नै साहित्यिक र सांगीतिक भएपछि कविता लेख्न धेरै घोत्लिरहनै पर्दैन । फेरि, शिक्षक भएकोले दैनिक बिभिन्न स्वभाव भएका मान्छेसँग भेटघाट हुन्छ । विद्यालयका विभिन्न अभियानमा गाउँ–गाउँ पुग्नु पर्ने पनि हुन्छ । हाम्रो जस्तो विविधतायुक्त समाजमा विषय खोज्न भौंतारिइरहनु पर्दैन ।
अहिलेको अवस्थामा कविता लेखेर मात्रै जीवन चल्छ ?
शर्माः–कविता लेखेरै जीवन चलाउनु हुने साहित्यकारहरु पनि हुनुहुन्छ जसले जीवनको सिङ्गै हिस्सा कविता रचनामा बिताउनु भयो । जीवन गुजारा चलाउन पुग्ने गरी गुणात्मक र मात्रात्मक रुपमा कविता रचना गर्न सक्नुपर्छ अनि जीवन चल्छ । मेरो चाहिं मुख्य पेशा अर्कै भएकाले यसबारे धेरै भन्न नसकुँला । अहिले परम्परागत रुपमा पुस्तक मात्रै निकालेर त सम्भव नहोला । यसलाई ‘डिजिटलाइज’ गरेर पाठकसामु पु¥याउन सक्नुपर्छ । विद्युतीय पुस्तकहरु पढ्ने चलनले अचेल परम्परागत पुस्तकहरु पढ्ने प्रचलन निक्कै घटेर गएको छ । तर रचना गर्न छाड्नु हुँदैन । पढ्ने तरिका परिमार्जित हुन्छ तर मान्छेले पढ्न छाडेको हुँदैन ।
अबको योजना के छ ?
शर्माः–म अहिले एउटा फुटकर कविता संग्रह प्रकाशनको अन्तिम तयारीमा छु । सायद यही पुसको अन्तिमतिर यो कृति बजारमा आउँछ । ‘अधम’ नामक यस संग्रहमा विभिन्न छन्दका २५ वटा कविताहरु छन् । यसमा सम्बन्धित छन्दका गणसंकेत, बिश्रामहरु र त्यो कविताले बोल्न खोजेको एउटा चित्र पनि आबद्ध छ । हुन त साहित्यको भाव झल्काउन चित्र राखिनु हुँदैन यसको भाव पाठकले आफैं बुझ्दछ भन्ने मतहरु पनि छन् तथापि यसमा प्रत्येक कविताको भाव बोक्ने एउटा चित्र हुनेछ । यद्यपि यो कृति शुरुमा परम्परागत पुस्तककै रुपमा प्रकाशित हुनेछ । आवश्यकता अनुसार विद्युतीय रुपमा पनि निकाल्नु पर्ला ।
शीर्षक नै निक्कै फरक खालको रहेछ । ‘अधम’ को शाब्दिक अर्थ के हुन्छ ?
शर्माः–शाब्दिक रुपमा अधम भनेको तल्लो दर्जाको अर्थात निकृष्ट हो । तथापि मैले लेखेका कविता अधम होइनन् । अधमताबाट मुक्त हुनुपर्छ भनेर सन्देश दिने खालका छन् ।
यसमा कस्ता बिषयहरुलाई उठान गर्नु भएको छ ?
शर्माः–सबै कुरा त पाठकले पुस्तक पढेपछि थाहा पाउनु हुनेछ । यसमा मुख्य रुपमा बिभिन्न बिषादीको प्रयोग, फेसबुकको दुरुपयोग, नारी, मानवीय ब्यबहार, पैसा कमाउने नाममा मानिसहरु मानवीय ब्यबहारबाट खस्कँदो स्थिति आइरहेको हाम्रो समाजमा यसलाई निरुत्साहित गर्नका लागि कवितामार्फत सचेत गराउने कोशिस गरेको छु । सारा समाज भोलि अस्वस्थ भएर बाँच्नु नपरोस् भनेर सचेत गराउने मेरो प्रयास हो ।
अन्त्यमा, पाठकहरुलाई इलाम पोष्टमार्फत के भन्न चाहनु हुन्छ ?
शर्माः–हामी सबैमा कुनै न कुनै किसिमको कला अवश्य हुन्छ । बाँच्नका लागि खाने काम त चरा–मुसाले पनि गरेकै हुन्छ नि । हामी जतिसुकै ब्यस्त भए पनि थोरै समय निकालौं र कला प्रदर्शन गरौं । कतिपय मान्छेहरु आफूमा प्रतिभा हुँदाहुँदै पनि ब्यस्तताका कारण त्यसलाई प्रष्फुटन गरिरहेका हुँदैनन् । ब्यस्तताको निहुँमा सिर्जनालाई मार्नु हुन्न । साहित्य सिर्जनाले मानिसलाई सदैब जीवित बनाई राख्छ ।
साहित्यकार शर्मासँग इलाम पोष्टका लागि देवेन्द्र चापागाईंको साहित्यिक भलाकुसारी
(स्रोत : इलाम पोस्ट अन्लाइन)