~रमेश गौतम~
उभिएको छु
गतिहीन
एउटा उष्ण बगरमा
र
नियालिरहेछु
माछाहरुको क्रीडा
उष्णता र पीडा!
स्थिर पानी
र पानीको स्थिरता!
सामुन्नेको झाडीका
चराहरुको चिरी-बिरी!
गोमन चालहरु!
न्याउल पीडाहरु!
एक साथ हेरिरहेछु
मूल्यांकनका नयनहरुले
सुस्ताएको छु
निस्ताएको छु
जीवन बँचाइको
सायद् नियमितता-
नीसताहरु
मार्गहीनताहरु
निकाशहीन गुम्स्याइहरु
आत्मदाहका सीमाहीन पीडाहरु
पोखिएका छन्
एक साथ
भूगोलहीन अस्तित्वमाथि।
लामो समयको तपस्यापछि
प्राप्त वरदान-
नमीठो जीत
जीवनका भोगाइमा
उन्माद-उमंगमाथिको आक्रमण
दीर्घकालीन हारहरु!
आत्मसमर्पण गरेको एउटा गुरिल्लाजस्तै
निन्याउरो अनुहार लिएर
आक्रमण्कारीका सामु
निदाएको छु एउटा जर्जर निद्रा-
दिवास्वप्नमा निमग्न बनेर
हर क्षण भिज्ने गरेका अभिशप्त रातहरु
सडकजस्तै पीडाहरु
आत्मग्लानिहरु
एक साथ
पोखिएका छन्
जीर्ण-रुग्ण मानसिकतामाथि।
उडिरहेछन्
चिल र गिध्दहरु
गुन्जिरहेछन्
निर्मम बाघ-गर्जनहरु
बर्बर छन् पाइलाहरु
जर्जर छन् सपनाहरु
अग्निपरीक्षाहरु
पूर्वघोषित असफलताहरु
अट्टाहस गरिरहेछन्
एक साथ
व्यंग्यपूर्वक।
शिवालायका शंखध्वनिहरुबाट
मन्दिरका घण्टआवाजहरुबाट
चर्चका मंगलकामनाहरुबाट
त्रसित-त्रसित एउटा विस्तृति
बाँचिरहेछ
शताब्दि-सन्दर्भहरु।
थिचेको छु
कैयन चोटि आफैंलाई
लघुताभासले
च्यतेको छु
कैयन चोटि आफ्नै हृदय
परीक्षाका कठोरताहरुले
यद्यपि
बाँचेको छ एउटा पल
मरुभूमिको एक ग्लास पानी
एउटा अमुर्त मुस्कान
अगम्य-अस्पष्ट स्वर्ग सुखानुभूतिहरु
दूर क्षितिजमा चम्कने तारा-सुन्दरताहरु
खण्ड-खण्ड बाँचेका छन्।
अद्यापि बगेको छैन त्यो पानी
म एक्नाश नियालिरहे छु
माछाहरुको क्रीडा
एउटा उष्ण बगरमा उभिएर
सुनिरहेछु भ्यागुताहरुको ट्वार्र-ट्वार्र
र हेरिरहेछु गोमन सर्पका चालहरु।
यही समय
शंख बजेकोछ एकोहोरो
सायद् कसैको म्रृत्यु भएको हुनु पर्छ-
म तर्सन्छु-
मेरी आमाको क्रन्दन सुनेर
म आत्तिन्छु-
मेरी दिदीको रोदन सुनेर
म डराउँछु-
मेरो भाइको चिच्चाहट सुनेर
सयद्
मेरै म्रृत्यु भएको हुनु पर्छ………
उही बगरमा उभिएर नियाल्छु-
पानी अझै बगेको छैन
त्यो स्थिरता उस्तै छ
यति बेला
विदाइको अन्तिम हात हल्लाउँछु
त्यस बगरलाई
सधैँकालागि ।
रमेश गौतम/नर्वे
भुटानी साहित्य
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क १ – जनवरी 1, 2010)