~झमक घिमिरे~
अक्षरका माला उन्दा बहर बनी आयौ तिमी
कल्पनाको सागरमा जहर बनी आयौ तिमी
उत्साह र उमंगका कुरा त मिलनमा हुने
मेरो जीवनमा बाँच्ने रहर बनी आयौ तिमी
सुख्खापनले उजाडिएको खेतका फाँटहरु
सिंचाई गर्न एउटा नहर बनी आयौ तिमी
रातमा उज्यालो छर्दै चम्किन्छे जुनकिरी
उनी संगै संघर्ष को प्रहर बनी आयौ तिमी