कथा : अन्धविश्वासको जाँतोमुनि

~श्यामल~Shyamal_1

असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । उद्या दैलोमा टुक्रक्क बसेको थियो । उसको दाहिने कानको लोतीमा सुनको मुन्द्री टल्किरहेको थियो । मैले भनें, ‘उद्या दाइ, यतिबेला के परेर आउनुभो त ?‘

ऊ निकै उदास देखिएको थियो । उसका आँखा डब्डबाएका थिए । ऊ मलाई हात जोडेर पुकारा गरिरहेको थियो । भनिरहेको थियो ‘प्रभु, पानी खान पाइएन ।’

मैले भनें, ‘प्रभु स्रभु कोही छैन यहाँ, उद्या दाइ हामी त तपाईंजस्ता जनताको सेवा गर्न खटिएका मानिस हुम् । लौ भन्नोस् कसले तपाईंलाई पानी खान दिएन ?’

ऊ थर्थर कापिरहेको थियो ।

‘यहींका ठकुरी बाउसाब् र अरू विष्टहरूले दिएनन्, हजुर †’

‘अनि मैले हिजोको बैठकमा तपाईंहरूका समस्या के के छन् भन्नोस् भनेर हिजो सोधेको होइन तपाईंहरूलाई ? झन् दलितहरूका लागि केही सामाजिक अप्ठेरा छन् कि भनेर बारम्बार सोधेको हैन ? त्यतिबेला किन नबोलेको ? अनि यति राति आएर कुरा फेर्ने ?’

इन्जिनियर र ओभरसियरहरू मेरो अनुहारतिर ट्वाल्ल हेरिरहेका थिए । यस्तो गम्भीर सामाजिक समस्यालाई मजस्तो परामर्शदाताले कसरी हल गर्दोरहेछ भन्ने जिज्ञासा तिनका अनुहारमा दौडिरहेको स्पष्ट देखिन्थ्यो । मैले उद्यालाई ढोकाभित्र पस्न र सँगै बसेर छलफल गर्न हौस्याएँ । तर उसका खुट्टा संघारभित्र सर्न मानिरहेका थिएनन् । हजारौं वर्षको दलनले उसको दिमागमा घर गरेको थियो । अत: मैले उसको हातै समातेर भित्र तानेर लगें । उसको जीउ गर्‍हुंगिएको थियो । त्यो पश्चगमनकारी प्रकारको जीउ थियो काथर, त्रस्त र संकोची प्रकारको जीउ थियो । तर मैले उसलाई आफूछेउको कुर्सीमा राखिदिएँ । उसमा अझंै आत्मविश्वास थिएन । गाउँकै प्लम्बर उसलाई आफ्नो भान्सासमेत रहेको यस ठाउँमा उद्या ढोलीलाई देख्ता उकुसमुकुस भएको थियो । ऊ भनूँ के गरूँको अल्मलमा घरी उद्यातिर, घरी मतिर हेरिरहेको थियो । उसका आँखा निषेधकारी थिए । सायद ऊ मनभित्रभित्रै भनिरहेको थियो, ‘देख्लास् पछि, अहिले हाकिमसाब् भएको मौका पारी तँ मेरो भान्सामा पसिस् । यो हाकिम दुई चार दिनमै फर्कन्छ, अनि कहाँ जालास् मछली, मेरै ढडिया ।’

उसको मुद्रा देखेर यस्तो रातिको चिसोमा पनि उद्याका निधारमा पसिना टल्किरहेका थिए । मैले उसलाई आश्वस्त पार्न उसको ढाड मुसारें । ऊ स्वयं खानेपानी उपभोक्ता समितिको जिम्मेवार सदस्य थियो । तर हिजोको बैठकमा मैले उनीहरूले बेहोर्नुपरेको समस्याबारे सोध्दा केही समस्या छैन हजुर भन्नेमा ऊसँगै अर्को सदस्य पार्की पनि थियो । मैले समस्याको गहिराइ नाप्ने कोसिस गरें ।

अस्ति सिलगढीबाट पिपल्ला हुँदै यस गाउँमा आउँदा मैले अत्यन्त लज्जास्पद र घीनलाग्दो दृश्य देखेको थिएँ । म हिँडेको बाटोबाट कुलो बगिरहेको थियो । र, गाईभैंसी बाख्राहरू त्यो कुलोमा पानी पिइरहेका थिए । त्यसको तल पाखोबारीमा एक युवती तामाको गाग्रीमा पानी भरिरहेकी थिई ।

मैले उसलाई सोधेको थिएँ, ‘ए बैनी यो पानी गाईभैंसीलाई हो ? कि आफैं खाने हो ?’

उसले ‘आफैं’ भनी र नयाँ मानिससँग बोल्नुपरेकोमो पटुकीको टुप्पोलाई मुखमा पुर्‍याई र लाजले रातै भएका उसका गालामा पसिना पुछेझैं गरी यताउता घुमाई । मैले एक छिन त्यस युवतीका अनुहारमा दौडिएका पीडाका रंग र रेखा पढ्ने प्रयास गरें ।

त्यस युवतीले पानी भरिरहेको ठाउँबाट खानेपानीको ट्यांकी पचासेक हात टाढा मात्र थियो । ट्यांकीमा पानी नअटेर ओभरफ्लो भएको थियो र कुलो हुँदै त्यस युवतीको गाग्रीमा झरिरहेको थियो । मैले अनुमान गरें, यहाँका कथित उच्च जातले सरकारले दिएको खानेपानीको सेवा एकलौटी गरेको हुनुपर्छ र दलितले धारो छुन नहुने अन्यत्रको झैं यस गाउँमा पनि चलन चलाएको हुनुपर्छ । यस्तो देखेको मैले हिजै उपभोक्ता समितिको बैठकमा दलितहरूका भिन्नै समस्या छन् कि भनी बारबार सोधेको थिएँ । तर दलित समुदायका प्रतिनिधिले केही पनि समस्या नरहेको बताएपछि चकित भएको थिएँ ।

तर आज राति समाजको सम्मानित नागरिक हुनुपर्ने असीवर्षे उद्या ढोली (दमाई) समाजबाट लुकेर एक्लै आफ्नो र आफ्नो समुदायको पीरको गाँठो फुकाउन मकहाँ आइपुगेको छ । मैले इन्जिनियरलाई पानी ट्यांकीको कुल भण्डारण क्षमताबारे सोधें । र, योजनाको दस्तावेज मागें । कुल बीस हजार लिटर क्षमताको त्यस ट्यांकीबाट चुहिरएर बाटोभरि यात्रा गर्दो त्यस पानीलाई दलितका लागि छोडिएको थियो र यतिका वर्षसम्म खानेपानी प्रशासन र स्थानीय निकायले यत्रो गहिरो विभेदलाई देखको नदेख्यै गरेर दलित समुदायलाई हेपेका रहेछन् ।

इन्जिनियरलाई भने, ‘भोलि बिहान दलितहरूका दस परिवारका लागि एउटा भिन्नै धारो ठड्याउनुपर्‍यो इन्जिनियर साब् ।’

अनि उद्या दाइतर्फ फर्केर भने, ‘दाइ, तपाईंका सबै दलित घरधुरीबाट कम्तीमा पनि एक एकजना बिहानै जम्मा हुनोस्, तपाईंकी बड्डी बुहारी छोरी भए तिनलाई पनि ल्याउनुहोला । म भोलि बिहानै तपार्इंहरूका लागि भिन्नै धारो बनाउँछु । अब भिन्नै धारो भएपछि त्यसको सरसफाइ र मर्मतमा कथित विष्टहरूको भन्दा पनि राम्रो व्यवस्था गर्नुपर्छ नि, उनीहरूका अगाडि तपाईंहरूले मिलेर देखाउनुपर्छ, कुरा बुझ्नुभो ?’

उद्यालाई मैले बिदावादी गरें । इन्जिनियर र प्लम्बरलाई आवश्यक सामान र उपकरण छन् कि छैनन् भनेर निश्चित गरें । सातबजे बिहानै श्रमदान गर्ने निधो भयो । र, हामी पनि करिब एक बजे राति बिस्तरामा गयौं ।

बिहान यो गाउँ सार्‍है चहकिलो देखिएको थियो । अलि पूर्वतिर जाँदा नेपालका विख्यात नेता डा. केआई सिंहको गाउँ डुम्राकोट आइपुग्थ्यो । इतिहासमा रुचि हुने मानिसले त्यस्ता कुरामा ख्याल गर्छन् । भोलिपर्सि फुर्सद हुँदा त्यतातिर जाने कल्पना गर्दै म निदाइसकेको थिएँ । इन्जिनियर बाघको भन्दा डरलाग्दो गर्जन गरिरहेका थिए । प्लम्बरलाई भनेर गर्धन सीधा नगरेको भए सुत्न सकिने थिएन । र, राति सपनामा मैले धारो बनाइरहेको थिएँ । उद्या दाइकी बड्डीले गाग्रोमा पानी भरेर उद्घाटन गरेकी थिइन् । र उद्याका सन्तानले ट्याम्को, दाहिनु, झ्याली, नर्सिंगा र सहनाईको धूनले उद्घाटन समारोहलाई भव्यता प्रदान गरेका थिए । तर यो एक सपना थियो ।

बिहान स्नानादि कर्म सकेर प्राविधिकहरूको टोली लिएर म दलित समुदायका सबै परिवारलाई पायक पर्ने ठाउँ खोज्न हिँडे । त्यसअघि गैरदलित समुदायका उपभोक्ता समितिका सबै सदस्यलगायत दलित समुदायका घरबाट कम्तीमा दुईजना सदस्यलाई बोलाउन लगाएँ । दिगोपनका लागि नयाँ धाराको जडानको विषयलाई लिएर व्यापक छलफल गरी उपभोक्ता समितिको बैठकबाट विधिवत् निर्णय गराउनु जरुरी थियो । अर्को कुरा, दुवै समुदायलाई एउटै समुदाय हुन् र पानी साझा स्रोत हो, बिनाभेदभाव पानी खान पाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नु थियो ।

जब मैले दलित समुदायले पानी भर्न नपाएको बारे कुरा उठाएँ, एक दुईजना ठकुरी बाबुसाहेबहरू क्रुद्ध र उत्तेजित देखिए । उनीहरूले पानी भर्न दिएको दाबी गरे । तर यथार्थ त्यस्तो थिएन । मैले अन्यत्रका उदाहरण दिँदै यस्तो भेदभाव सदाका लागि अन्त्य गर्न बूढापाकाहरू नै अग्रसर हुनुपर्ने अन्यथा मर्मतसम्भारको खर्च यस आयोजनाले नपाउने धक्कु दिएँ । एकजना बाबुसाहेब ससाना ठेकेदार रहेछन् । मर्मतसम्भारको पैसा उपभोक्ता समितिले नपाउने मेरो धमासले काम गर्‍यो । उनले अब त्यसो नहुने कसम खाए । तर दलित समुदायका लागि त्यस्तो किरिया कसमको कुनै अर्थ थिएन । मैले नै गैंटी चलाएर आफैं बसी एउटा थप धारो बनाउन लगाएँ । इन्जिनियरले हिटिङ प्लेट तताएर पाइप जोड्ने काम गरे । उद्याहरूको अनुहारमा खुसीको लहर दौडिएको प्रत्यक्ष देखें मैले । तर त्यो खुसी केही घन्टाकै अन्तरालमा टुंगियो ।

भालिपल्ट मध्यराति फेरि कसैले ढोका ढक्ढक्यायो । मैले नै ढोका खोलिदिएँ । बाहिर एक दुब्लो कायाको युवक प्रार्थनाको शैलीमा उभिएको थियो । मैले यसलाई भित्र बोलाएँ । तर ऊ यन्त्रवत् हात जोडेर उभिएको थियो ।
मैले सोधें, ‘किन भाइ यतिबेला आएको ? के भो ?’

‘सर् हजुर,’ रुन्चे गलामा उसले भन्यो, ‘उद्याको छोराले पानी भर्न दिएन ।’

‘किन ? हिजो मात्रै मैले तपाईंहरूका लागि भिन्नै धारो बनाइदिएको होइन ? के भो फेरि ?’ मेरो आक्रोशयुक्त प्रश्न सुनेपछि ऊ डरायो । एक छिन केही बोलेन ।

‘के भो, लौ भन्नुस् । म त्यो धारो उखेलेर फाल्दिन्छु ।’ मैले भनें । यहाँ यस्तो गर्नु मेरो अधिकार क्षेत्रभित्र पर्ने नपर्ने कुरा पनि थिएन । उचित अनुचितको प्रश्न थिएन । सामाजिक न्यायको प्रश्न थियो ।

‘मेरी जहान पानी भर्न गएकी हजुर सर्, उसले भन्यो, उद्याको छोराले पाँच सय रुपियाँ तिर अनि पानी भर्न पाउँछेस् । हामीले पैसा तिरेर बनाको धारो भनेर रित्तै गाग्री पठाइदिएछ । के हामीले पानी खान नपाउने हजुर ?’ ऊ अझै हात जोडिरहेको थियो । मैले उसको हात छुट्याइदिएँ र भनें, ‘लौ भोलि सबैलाई जम्मा पार्नोस् । यस्तै हो भने खानेपानी चल्दैन ।’

उसको पारिवारिक र जातीय पृष्ठभूमि जानेपछि फेरि चकित भएँ म । ऊ यस गाउँको एक्लो भुल (चर्मकार) थियो । बाँकी दलित ढोली र पार्कीहरू थिए । ऊ दलितहरूमध्येको पनि महादलित बनेको थियो यस गाउँमा । त्यसैल उद्या ढोलीको छोराले उसकी बड्डीसँग पैसो असुल गर्ने विचार गरेछ । मैले म स्वयं उद्यालाई भेटेर छिनोफानो गर्छु भनेपछि ऊ अँध्यारोमा हरायो ।

भोलिपल्ट बिहानै इन्जिनियरलाई लिएर म उद्याको घरतिर लागें । उद्या अँगेनाको छेउमा बसेर फाटेको भोटो सिलाइरहेको थियो । मलाई देख्नेबित्तिकै ऊ झस्क्यो ।

मैले भनें, ‘ए उद्या दाइ, के हो तपाईंको चालामाला ? पानी भर्न धारोमा गएकी भुलकी बड्डीसँग तपाईंको छोराले पैसा माग्यो रे हो ? उखेल्दिम् धारोसारो ?’

उद्या दाइको अनुहार कालोनीलो भयो । एक छिन उसको बक् फुटेन । हत्पत् उसले चकटी ल्याएर राख्यो । मैले भनें, ‘बोलाउनुस् त तपाईंको छोरोलाई । म पुलिस बोलाएर थुन्दिम् त्यसलाई ? के गरेको त्यल्ले ?’

मेरो भाषा बुझेर उद्या बेस्सरी झस्क्यो । उसले अनुनय विनयको थर्थराउँदो स्वरमा भन्यो, ‘सर् हजुर, त्यल्ले जानेन होला, म हप्काउँछु हजुर, म त्यसलाई ठीक गर्छु हजुर । एकपल्टलाई त्यसो गरेकै रैछ भने माफ पाऊँ म बूढोले ।’ ममा उद्या दाइप्रति अचानक श्रद्धाभाव जागृत भएर आयो । अनि मैले भुलकी बड्डी (यथार्थमा कुपोषण र गरिबीले यसलाई बैंसमै बूढी देखाएको थियो, उमेरले उसले पच्चीस काटेकी थिइन्) लाई भनें, ‘आइन्दा कसैले यस्तो व्यहोरा देखायो भने सिधै सिलगढी पुगेर इन्जिनियर साब्लाई भन्नू । इन्जिनियरले के गर्नुपर्छ जान्नुभाछ । है ?’

त्यसपछि प्लम्बर साथीहरूले हामीलाई खान बोलाए । कसैले, सायद इन्जिनियरका कृपाल,े सेतीका ज्युँदै माछा ल्याएर पानीट्यांकीको छेउमा हिजैदेखि राखेको थियो । माछाको झोलसँग भात खाँदा म हाम्रो वर्णमा आधारित विकासका चिन्ता पनि चपाइरहेको थिएँ । माछाको झोल जति तिख्खर थियो हाम्रो समुदायको विभाजन र विभेदका शृंखला भने अत्यन्त टर्रा र बेस्वादका थिए ।

दिउँसो खानेपानी प्रणालीको जाँच गर्ने क्रममा मेरो टोली गाउँको पुछारतिर लाग्यो । सुरुकै घरमा एकजना युवती चर्को घाममा अँगेनामा गुन्द्रीमाथि पल्टेर धताइरहेकी थिई । अवस्था बडो गम्भीर लाग्यो मलाई । मैले आँगनमा ओर्लेर उनलाई बोलाएँ, तर उनी बर्बराइरहेकी थिइन् । बेलाबेला मरें मरें भनिरहेकी थिइन् । मैले उनको पातलो पछ्यौरा उनका अनुहारबाट हटाइदिएँ । सोधें, ‘घरमा तपाईंको को छ ? कोही छैन ? ’

युवतीको अनुहार ज्वरमग्न थियो । उनी गोरी त थिइन् नै, तर ज्वरोले उनको गोरो छालालाई रातो पिरो बनाइदिएको थियो । नाडी अस्वाभाविक गतिमा धड्किरहेका थिए । मैले मेरो झोलाबाट थर्मामिटर र एक फ्ल्याप सिटामोल झिकें । नापेर हेरें । १०३ डिग्री ज्वरो पुगेको थियो । अवस्था नाजुक बन्दै थियो । म उसको घरभित्र पसेर गाग्रीबाट पानी सारें र पानी पट्टी लगाइदिएँ । एक चक्की सिटामोल खुवाएर तिनलाई ज्वरो आएको बेला यस्तो चर्को घाममा सुत्नुहुन्न भनेर सम्झाउने प्रयास गरें । रूखको छायामा एक छिन सुस्ताउन लगाएको मात्र थिएँ, एकजना अधबैंसे कराउँदै आफ्नो घरमा दाखिल भयो । ऊ आफ्नी भाइबुहारी नछुने भएको बेला मैले छोइदिएकोमा निकै रिसाएको थियो । उसको भाइ भारततिर कतै कामको खोजीमा गएको केही महिना भइसकेका थिए । अनि यो युवती एक्लै बिरामी परेकी थिई । एकातिर भाइबुहारीलाई छुन नहुने हाम्रो संस्कार छ, अर्कोतिर नछोईकन उसलाई बचाउन सकिने थिएन । मैले छुनुपरेको कारण बताएँ । करिब आधा घन्टापछि उसलाई बिसेक भएको देखियो । जतिसुकै तर्क दिए पनि जेठाजु बम्किरहेको थियो । ऊ आफ्नो टोलका मानिसहरूलाई गुहारिरहेको थियो ।

‘कता कताको मान्छे आएर मेरी नछुने भएकी बुहारीलाई छोयो । लौ न कोई छौ भने आओ † घरमा कोही नभएको बेला यसले मेरी बुहारीलाई हात हाल्यो ।’

यसो भनेर बम्किरहँदा बुहारी भने दुर्गामाडौंतिर अनुहार फर्काएर मुसुमुसु गरिरहेकी थिई । सायद यसको माइती त्यतै होस् । सायद उसको लोग्ने भारततिर गएको बाटो त्यही हो । यो ठकुर्नी युवतीसँग भन्नुपर्ने कुरा धेरै थिए, तर उसको जेठाजु थियो जसले जस्तै अप्ठ्यारोमा पनि बुहारीलाई छुन मिल्दैनथ्यो । अनि जेठाजुसँग मुखमुखै लाग्नु झन् ठूलो अपराध हुन्थ्यो ।

जब गाउँका केही मानिस बाबुसाहेबको घरमा आए, तिनीहरूले मेरो कामलाई अपराधै हो भन्न सकेनन् । किनभने त्यतिबेला उसकी बुहारीले प्वाक्कै भन्दिएकी थिई, ‘सर् आएर ओखती दिए, पानीपट्टी गरे त के बिराए † म त मर्ने रैछु । यो घरमा अब बस्तिनँ, राख तिम्रो घर तिमीसँगै । म हिंडेँ माइत । जतिबेला मेरो लोग्ने लिन आउला, त्यै बेला फर्कुंला ।

मैले दिएको सिटामोल पटुकाको टुप्पामा बाँधेर ऊ घरभित्र पसी । एउटा सानो झोला लिएर बाहिर निस्की । जेठाजुले फर्काउन सकेन । किनभने उसले नछुने भएकी भाइबुहारीलाई छुन मिल्दैनथ्यो । म उठें र उसका पाखुरा समातेर घरतिर फर्काउँदै भनें, ‘बैनी आवेशमा आएर यसरी घरबाट निस्कन हुन्न । फर्कनोस् । सन्चो भएपछि माइत जानुहोला ।’ ऊ पनि खुरुखुरु मैले भनेको मान्दै आँगनको पेटीमा आएर बसी । जेठाजुलाई मैले उसकी नछुने भएकी बुहारी छोइदिएकोमा सार्‍है गारो परेको थियो । उता बुहारीको ज्वरो झरेर ९९ मा पुगेको थियो ।

जेठाजु बुहारी दुवैले मतिर हेरिरहेका थिए । भुलकी बड्डी पनि बाटोछेउ उभिएकी थिई । सायद उसलाई पनि मैले ठकुर्नी मैयाँलाई छोएको मन परेन कि ? अथवा निकै मन परेको पो थियो कि ? यस्तो रूढ समाजलाई बदल्ने ताकत छ त नेपालका राजनीतिक दलहरूमा ? कि तिनीहरू पनि जेठाजु नै हुन् ?

मलाई भने उद्या ढोलीले आफ्नै घरको नाचमा पुकारेको देउडाका गेडा सम्झनामा आलै छन् :

दानकोटको पीपलको टुप्पो हरियो
दुर्पताको बालो बैंस जोबान भरियो ।

(दानकोटको पीपलको टुप्पामा हरियाली छाइरहेको छ, द्रौपदीको कुमारी बैंसमा जवानी भरिन लागेको छ ।)

डोटीको सुन्दरताको गाथा गाउनुपर्ने थुप्रै पक्ष छन् तर समाज विकासमा तगारो हाल्ने अँध्यारा पाटाको चर्चा नगरी डोटी बुझिने छैन । तर यो घटना भएको तेईस वर्ष बितेका छन् । डोटी बदलियो त ?

प्रकाशित: माघ ९, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.