~भावना पोखरेल~
प्रकृतिका शालीन सिमाहरू नाघेर
कुल्चदैनन् परेवाहरूले सभ्यताका मानक
कसले भन्नसक्छ परेवाहरूको राष्ट्रियता हुँदैन
एक पेट चारो खाज्दै नौडाँडा काटेर गए पनि
परेवाहरूले बिसिदैनन् आफ्नो वस्तीको माटो
परेवाले कब्जा गर्दैनन् अर्काको आकास
र खसाल्दैनन् जमिनमा प्रलयकारी विस्फोटनहरू
बन्दुकका आतङ्कले सन्त्रस्त्र वस्तीमा पनि
हरेक बिहान परेवाहरूले
निर्भय गाउन सक्छन् निरन्तर
जागरणका कलात्मक गीतहरू
उभिन्डा चमेराहरूलाई पनि
रातको समर्थन गरेको आरोपमा
वाँच्नमा प्रतिवन्ध लगाउँदैनन् परेवाहरूले
हल्लाउँदै आफ्नो सानो पूच्छर
‘क्याटवाक’ गर्दैनन् र्याम्पमा परेवाहरू
सायद लेख्न वाँकी छ
सहश्र यी सेता परेवाहरूको गौरवशाली इतिहास
यी परेवाहरू पनि मान्छेहरु जस्तै अनविज्ञ होलान्
भ्रमित हिनतावोध बोकेर आफ्नो मौलिक इतिहाससँग
मान्छेले पढेका स्वतन्त्रताका ठेलीहरू भन्दा
गर्विला छन् परेवाहरूका शालीन प्रेम र सौदर्य चेतना
मान्छेले पढ्न बाँकी प्रेम र शान्तिका
यी जीबन्त सन्दर्भ सामग्रीहरू
March 22nd, 2009
(स्रोत : Mysansar.com)