~ईश्वरी कार्की “वर्षा”~
सर्वत्र सुहाएको यो शान्त स्निग्ध रंग
मेरी आमाको शरीरमा किन सुहाएन ?
किन ऐँठन हुन्छ
आमालाई देख्दा ?
बुबासँगै जलेर खरानी भए
आमाका रंगीन सपना
आमा अचेल सेताम्य देख्छिन् सपना
आफूजस्तै उदास र शून्य ।
यी धर्म-संस्कारका आडम्बरबाट
सक्दिनँ म मुक्त गर्न आमालाई
म बुझ्दिनँ प्रारब्ध र परत्र
बुझ्छु केवल
कहिल्यै नसकिएका, यी दुःखका पराकाष्ठा ।
जुन दिनदेखि सेताम्य देखेँ
आमालाई
हो, त्यही दिनबाट
सेतो रंग अपि्रय लाग्न थाल्यो
मलाई पीडा दिने यो सेतो रंगले
आमालाई झन् कति दिन्छ होला
कहाँबाट ल्याऊँ म
त्यो विदीर्ण अनुहारमा इन्द्रेणी खुसी !
प्रकाशित: भाद्र २९, २०७१
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )