~मुक्तान थेबा~
यो सिङ्गै आकाश ओढ्छु
धर्ती ओछ्याउँछु
र, एक ढोक्रो सपनाको शिरानी लाएर
निस्फिक्री निदाउँछु-
एउटा अनागरिक निन्द्रा !
हो, म अनागरिक हुँ यो राज्यको
अबैध गर्भबाट जन्मिएको
न्वारनबिनाको एउटा अनाम मान्छे हुँ
मलाई नागरिक भन्दैन यो राज्य
तर यो सडक
हो, यो सडक
मलाई अन्तरङ्ग चिन्दछ
किन भने
यो सडक र मैले बाँचेको जिन्दगी उस्तै छ
पुष-माघको हिउँदे झरी र
प्रजातन्त्र उस्तै लाग्छ मलाई
जस्ले तिखो झीरलेझैँ
भित्रैसम्म छेँड्नेगरि घोचिरहन्छ मलाई
चैत-बैशाखको हुरी-बतास र भुमरी
४६ पछिको विश्वकै नमुना लोकतन्त्र जस्तै लाग्छ
जो, मैले सडक किनारबाट टिपेको
झिटी-झम्टा पनि खोसेर बेचिदिन्छ पुँजीबजारमा
अनि, अहो !
यो समाजवादी गणतन्त्र र
जेठ-असारको टट्याउने घाम उस्तै लाग्छ मलाई
त्यही घामले डढेको मेरो नाङ्गो शरीरको रङ्ग
र, मेरो सपनाको रङ उस्तै छ
अब भन्नुहोस्
यो नागरिक राज्यमा
एउटा कथित अनागरिक मान्छे
कुन आदर्शको लागि बाचुँ?
कुन सिद्धान्तको लागि बाचुँ ?
कुन ब्यबस्थाको लागि बाचुँ ?
र, कुन नयाँ रङ्गको लागि बाचुँ ?
मलाई बाँच्नु छैन
यो नागरिक राज्यमा
बरु छु म- अचेल
एउटा अलग आन्दोलनमा
खुल्ला आकाश ओढ्ने र
नाङ्गो धर्ती ओछ्याउने
म जस्तै
बेनाम नागरिकहरुको एउटा छुट्टै राज्य निर्माणको आन्दोलनमा
जहाँ घोषणा हुनेछ-
यो नागरिक राज्यका नागरिकहरु- ‘अनागरिक’
र, खोसिनेछ तिनका-
तीनपुस्ते परिचय
आखिर
म हुँ एक “अनागरिक”- यो देशका ।।
२०६८-०५-१० (याम्बु)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)