~माइलाकाजी कोर्काली~
भद्रगोलतन्त्र चलेको बेला
जसले जे गरे पनि
हुने भएको छ ।
शिक्षालयलाई मदिरालय
मदिरालयलाई शिक्षालय
कसैले गराए पनि
हुन्न भनी कसैले
नरोक्ने भएको छ
जसले जे गरे पनि हुने भएको छ ।
नारीलाई सारीविहीन
गराए पनि
सारीलाई नारीबाट
अलग्याए पनि
अशोभनीय भयो भनी
कोही नबोल्ने भएको छ
खाँदाखाँदै बिजुली निभ्न गए पनि
हिँड्दाहिँड्दै झल्ल बले पनि
फरक नपर्ने भएको छ
थेच्चरा भइसकेका छन् मान्छेहरु
पर्वाह नराखिने भएको छ ।
जनअधिकारको
ठेकेदार बनी
चुनाव नगर्ने भने पनि
आफूलाई देशको हकदार ठानी
चुनावमा ओर्लन खोजे पनि
विमति जनाउन हुन्न भनी
कोही अघि नपर्ने भएको छ ।
सोझा निमुखालाई मारे पनि
हुल्लडबाजलाई अघि सारे पनि
कानुन काइदा मिलेन भनी
कोही अर्घेला नहुने भएको छ
जसले जे गरे पनि हुने भएको छ ।
बहुलालाई सद्दे र
सद्देलाई बहुला ठहराए पनि
पर्वाह नगरिने भएको छ
राजाको राँगो फुक्यो भनिन्थ्यो
पहिले पहिले मनपरी गर्नुलाई
आजभोलि महिषेको डाँगो फुकेझैँ छ
जसले जतिसुकै भाउ चर्काए पनि
उपद्र रची दुनियाँ थर्काए पनि
स्वाभाविक मानिन गएको छ
गडबडकारीलाई नै यसबेला
अभिभारा सुम्पिन गएझैँ छ
जसले जे गरे पनि हुने भएको छ
गोरु पनि अब त दुहिने भएको छ ।
(स्रोत : श्री रुपरेखा)