कथा : आवश्यकता

~विपुलविक्रम सिजापति~Bipul Sijapati

लगभग चार वर्षको अन्तरालपछि अध्यात्माको फोन आयो। एक मनले त नउठाउद्द जस्तो पनि लाग्यो। फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त। उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन,”सरोज के छ हाल खबर मलाई बिर्सियौ हगि ”

“मैले के सम्झनु, के बिर्सनु ”

“अनि के गर्दैछौ ?”

“यत्तिकै छु।”

“मलाई भेटने साह्रै इच्छा छ त्यसैले त्यहाँ आउँदै छु।”

“ए अनि त्यस्तो के पर्‍यो र मलाई भेटनु पर्ने ”

“किन तिमी मलाई भेटन चाहँदैनौ ”

……………………

“तिमीलाई भेटेर धेरै कुराहरु गर्नु छ प्लीज सरोज।”

“कैले आउँदै छौ।”

“म एक्लै आउन लागेको। एक डेढ महिना बस्छु। सानो काम छ। होटलमा रिजर्भेसन पनि गरिसकें। मात्र तिमीलाई भेटने ईच्छा छ यदि तिमी अनुमती दिन्छौ भने।”

“ठिकै छ। तर तिम्रो माईती हुँदाहुँदै किन होटलमा बस्ने नि ”

“तिमीसँग राख न त…… हाँसो…।होइन त्यहाँ अलि अप्ठेरो छ। वास्तवमा म आउने कुरा कसैलाई भनेकी छैन।”

“ल ल आउ अनि कुरा गरौंला यस बारेमा।”

अध्यात्मालाई म कलेज पढ्दा ताका प्रेम गर्दथे। मैले धेरै पटक यस बारेमा उनीसँग कुरा राखेको थिएँ। तर उनी हाँसेर मात्र ल ल भै हाल्छ नि भन्दथिन्। उनी मसँग हरेक बिषयमा खुलेर कुरा गर्दथिन्। पढाईदेखि लिएर उनका हरेक व्यक्तिगत तथा सामाजिक समस्याहरुको बारेमा समेत मसँग सल्लाह लिन्थिन। म उनको जीवनको एक खास व्यक्ति भएको थिएँ र सबैलाई लाग्दथ्यो हामी बिवाह पनि गर्नेछौ।

म अलि निम्न परिवारको जेहेन्दार बिद्यार्थी थिएँ। अध्यात्मा खानदानियाँ घरानकी तर पनि उनी निस्फिक्री मसँग हिँड्न डुल्न रुचाउँथिन। परिआएको बखतमा मलाई निकै सहयोग पनि गर्थिन्। धेरै पटक म उनको घरमा गएको थिएँ। उनका बुवा मुमाले पनि मलाई रुचाउँथे, आदर गर्थे। परिवारको सदस्य झैं म उनको घरमा हुने कुनै पनि कार्यक्रममा छुट्दिनथें।

एमबीएको सुरुवात हामी दुवैले सँगै गर्‍यौँ तर पढाई सुरु भएको पाँच महिनापछि उनी एक्कासी चौध पन्ध्र दिन उनी कलेज आइनन्। परिक्षाको तयारी गर्नु पर्ने भएकोले म उनको घरमा खोज्दै गए तर उनी त्यहाँ पनि थिइनन्। उनको मुमाले बाहिर गएकी छे मात्र भन्नु भयो। गायब भएको बीसौं दिनमा उनी मेरो डेरामा आइन्। उनको हालत देख्दा उनी निकै गहीरो सोचमा भए जस्तो लाग्दथ्यो।

“के भयो महारानी ?” मैले अवस्थालाई साधारण बनाउने कोशीस गर्दै सोधें। उनले एकछिन मलाई ट्वालट्वालल्ती हेरिन् र दौडेर आई मलाई अंगालो हाल्दै भक्कानेर रोइन्। मैले केही बुझ्न सकिनँ।

“के भयो ?”

“सरोज मैले विवाह गर्ने निश्चय गरेँ।”

मलाई अप्ठेरो भयो। म विवाह गर्ने अवस्थामा थिइनँ। म उसलाई प्रेम गर्थेँ तर पनि उनी अकस्मात यो कुरा भन्न आउली भनेर मैले सोचेको थिइनँ। म बोल्न सकिनँ। एक छिनको शान्तिपछि उनी आफै बोल्न लागिन्।

“सरोज युएसबाट श्रृषभ आएको छ। म उसैसँग बिहे गर्दैछु।”

मलाई एकै घुटकोमा हजार लिटर तेजाब पिए जस्तो भयो। मैले मेरो बारेमा सोचेको थिएँ तर यहाँ कुरा बेग्लै छ। श्रृषभ अध्यात्माको मावलीतिरबाट नाता पर्थ्यो। उस्को बारेमा उनले कहिलेकाहीँ मलाई भनेकी थिइन्। ऊ अध्यात्मासँग सात कक्षासम्म एउटै स्कुलमा पढेपछि बाबु आमासँग अमेरिका गएको थियो।

“मलाई नेपाल छाडेर जाने इच्छा छैन। पढाई पनि पुरा भएको छैन। तर पनि ऋषभ जिद्दी गर्दैछ अहिले नै बिवाह गरेर जानलाई। भन त म के गरुँ ”

म के जवाफ दिन सक्थें। सोधें, “अनि तिम्रो के विचार छ त ”

उ यहाँ आएको दिन देखि नै म उसँग गएकी थिएँ। त्यसैले कलेज पनि आइनँ। ऊ मलाई औधी माया गर्छ। म पनि मन पराउँछु। परिवारका सवै जना पनि बिवाहको लागि तयार छन्। भन न म के गरुँ ”

“तिम्रो आत्मालाई जे ठीक लाग्छ त्यही गर।”

“सरोज तिमी मलाई माया गर्छौ हगि। मैले धोका दिएको त ठानेका छैनौँ। मैले कहिल्यै त्यो रुपमा तिमीलाई लिइनँ।”

“तिमी आफ्नो बारेमा सोच। यहाँ के छ त्यहाँ जिन्दगी छ र आफ्नो इच्छा नै त्यही भएपछि तिमीले सायद विवाह गर्नु नै बेस होला। आखिर परिवाको इज्जत र आकांक्षा पनि त केही हो नि” मैले मुटु निचोर्दै भनेँ।

“तिमीलाई मेरो बारेमा सबै थाहा छ। मलाई राम्ररी बुझ्दछौ पनि के मैले यही गर्नु ठीक होला त ”

“हो त्यसै गर।” मैले मरे प्राय भएर जवाफ दिए। जाने बेलामा ढोका बाट बाहिरीसकेकी अध्यात्मा फर्केर आइन् र मेरो दुवै हात आफ्नो हातमा लिएर भनिन् “सरोज म तिमीलाई कहिल्यै बिर्सन्न।”

एयरपोर्टमा उनी एक्लै आएकी थिइन्। उनको अनुहारमा केही उदासी भए पनि आँखामा चमक थियो। नजिकै आएर धेरैबेर उनले मलाई हेरिरहिन्। सार्वजनिक स्थानमा भएको हुँदा मलाई अप्ठेरो भयो र भने “जाउँ गाडीमा कुरा गरौंला।”

“मलाई होटलमा छोडिदेऊ।”

“हैन मैले त तिमीलाई आफ्नै फ्ल्याटमा बस्ने व्यवस्था मिलाएको छु।”

“अनि मेरो बुकिङ्ग ”

“मैले क्यान्सल गर्दि सकें।”

“घरमा जहिले पनि फोन गर्दा म तिम्रो बारेमा सोधी रहन्थे।”

…………………………………

“तिमीले बिहे किन नगरेको अहिलेसम्म ”

मनले त तिमी बाहेक अरुलाई मन नपराएकोले भन्न मन लागे पनि मुखबाट निस्कियो, “फुर्सद नभएर।”

उनी धित मारेर हाँसिन्। उनमा पहिलेकै स्वच्छन्दता कायमै थियो। खाली देश अनुसारको पहिरन मात्र फरक थियो।

“अनि के काम हो त त्यस्तो, माइतमा पनि खबर नगरेर सुटुक्क आएको।”

उनको अनुहार गम्भीर भयो। भनिन, “एउटा ठूलै समस्या छ तिमीबाहेक अरुसँग त्यो भन्न पनि सक्दिन।”

फ्ल्याटमा आएपछि उनी दंग परिन्। चारैतिर नियालेर भनिन् “तिमीले त निकै प्रगति गरेछौ।”

“यो र गाडी अफिसले दिएको हो। म बैँकमा काम गर्छु।”

“तिमी त अझै पनि पहिले जस्तै ह्याण्डसम रहेछौ।”

“मेन्टेन गरेको छु।”

“सरोज मेरो खानाको लागि तिमीले केही गर्नु पर्दैन। म धेरै जसो बाहिरै हुन्छु।”

“किन नि ”

“भनिहालें नि मेरो अलिकति काम छ भनेर। तर कसैलाई नभन्नु म यहाँ आएको छु भनेर।”

“हस्।”

भोलिपल्ट निस्केकी अध्यात्मा पाँचौं दिन साँझ मेरोमा आइन्। म अफिसबाट भर्खर फर्केको थिएँ। उनले मलाई साँझ कुनै होटलमा डिनर खान जाने प्रस्ताव गरिन्। डिनरसँगै हामीले वाइन पियौं र फर्कँदा उनले अर्को बोतल वाइन लिइन्। मैले अर्को वाइन लिनुको कारण सोध्दा भनिन्, “सरोज आज तिमीसँग धेरै कुरा गर्नुछ। हामी कोठामा आयौं। उनी फेरि पिउन थालिन्।”

“बुझ्यौ सरोज” उनी अलि धेरै मातमा पुगिसकेकी थिइन्, “मेरो जिन्दगी पनि कस्तो अभिसाप कस्तो बन्जर।”

“के भयो त्यस्तो ?”

“तिमी केही बुझ्दैनौ सरोज, आज बिहे गरेका चार वर्ष भयो मैले कहिले शान्ति अनुभव गरेकी छैन। कहिल्यै राम्ररी हाँसेकी छैन, कहिल्यै निदाउन सकेकी छैन।”

“भन न त के भयो त्यस्तो ”

“तिमीलाई भन्न त म यहाँ आएको छु। तिमी मलाई माया गर्थ्यौ र पनि मैले तिमीलाई अंगाल्न सकिनँ। श्रृषभ पनि मलाई औधि माया गर्छ तर उ आफ्नो परिवारको अगाडि केही बोल्दैन। मेरो पक्ष लिन सक्दैन nobody cares my wish….sadist fellows…”

“सरोज म आत्मासँग सम्झौता गरुँ, उनीहरु किन बुझ्दैनन् ”

मैले उनको कुरा केही बुझिरहेको थिइनँ। सायद धेरै नै लागेछ क्यारे अंग्रेजीमा नानाथरी बर्बराउन लागिन्।

“ल भो अब पिउन पर्दैन।”

“म ठीक छु सरोज तिमीलाई थाहाछ मैले तिम्रो प्रेम लत्याएको पाप लागेको हो मलाई। मैले तिमीलाई धोका दिएको पाप हो यो। म आज प्रायश्चित गर्न चाहन्छु। सरोज म पानि भित्र भएर पनि प्यासी नै छु आज म मन खोलेर तिमीलाई माया गर्न चाहन्छु। आज तिमीलाई म आफुलाई सुम्पन चाहन्छु।”

“तिमीलाई धेरै चढेछ।”

“होइन सरोज, मेरो आखाँमा हेर त, म कति दिनदेखि अनिदो छु। मेरो ओठमा हेर त, म कति दिनदेखि प्यासी छु। म बन्जर छु। जिन्दगी मरुभुमी भएको छ। आज मलाई सिंच। मलाई जन्मजन्मान्तरको लागि तृप्त पारिदेऊ। प्लीज सरोज, यस बाहेक अरु मलाई केही चाहिन्न। आज मलाई माया गर………॥माया गर……॥”

त्यस रात जे नहुनु थ्यो भयो। मैले नचाहँदा नचाहँदै पनि गल्ती भयो या मैले भिखारीलाई भिक्षा दिएँ, खुट्ट्याउन सकिनँ। भोलिपल्ट बिहान म अफिस जान लागेको बेलासम्म उनी सुतिरहेकी थिइन्। साँझ फर्कँदा उनी कोठामा थिइनन्। मैले खोज्दा पनि खोजिन। चार दिनपछि उनी फेरि मेरो कोठामा आइन्। मैले उनीसित आँखा जुधाउन सकिनँ। तर उनी हाँस्दै मेरो नजिक आइन् र सोधिन्, ‘किन लाज मानेको?’ म केही बोल्न सकिनँ।

“जे भयो भयो, त्यसमा कुनै पश्चाताप गर्नु छैन। मलाई कुनै अफसोच छैन भने तिमीले पनि त्यो मनमा लिनु जरुरी छैन।”

“तर……।”

“भो अब केही भन्नु पर्दैन। म पर्सि अमेरिका फर्केर जाँदैछु। त्यसैले अब म तिमीसँगै बिताउँछु।”

“अनि तिम्रो काम सबै भयो त ”

“सबै भयो, अब कुर्नु मात्र छ।” उनले केही लाज माने झै गरेर भनिन्।

मैले केही बुझिनँ।

दुई दिन उनी मसँगै बसिन्। त्यो बसाईमा उनले मलाई कहिल्यै खल्लो महसुस हुन दिइनन्। हामी संगै खाना बनाउथ्यौं गफ गथ्र्यौ। हाम्रो भेट भए देखिनका साथीहरुका कलेजका रमाइला कुराहरु सवै समेटिए हाम्रो गफमा। उनले मेरो बारेमा पनि सोधिन्। मैले बुवा बितिसक्नु भएकोले आमा एक्लै गाउँमा बसिरहनु भएको बताए। महिनै पिच्छे म घर जाने आमाको हेरविचार गर्ने र त्यसको लागि एउटी गाउँकै आईमाईलाई जिम्मा लगाएको कुरा पनि बताए। आमा यहाँ एक्लै बस्न नरुचाउने भएकोले आउँदो साल बिहे गरी आमालाई पनि संगै राख्ने बिचार बताए।

एयरपोर्टमा उनलाई छोडन जाँदा उनी मसित धेरै बेर अंगालोमा कसिन् बडो कठिनाईका साथ उनी मसँग बिदा भइन्। फर्किएपछि मलाई पनि कोठा तर्साउने भुत जस्तै लाग्यो। दुई दिनको उनको साथले बानी पो भएछ कि।

त्यस पछिको शनिवार म कोठा सफा गर्दै थिए। अध्यात्मा सुतेकी कोठाको बेड र तन्ना मिलाउदा सिरानीमुनि उनको सानो पर्स भेटाएँ। खोलेर हेर्दा केही डलर नेपाली रुपैयाँ र शहरको ख्यातिप्राप्त गाइनोकोलोजिष्ट डा करुणाको कार्ड भेटें। डा करुणा हामी दुवैको अति मिल्ने साथी भएको हुँदा मैले उनलाई भेट्न खोजें। उनले भोलिपल्ट उनको क्लिनिकमा आउन भनिन्।

म भोलिपल्ट डा करुणाको क्लिनिकमा गएँ। सामान्य भलाकुसारी पछि उनले म आउनुको कारण सोधिन्। मैले उनलाई उनको कार्ड देखाएँ। त्यो कार्ड देखेर करुणाले भनिन्

“सरोज, अध्यात्मा यहाँ मलाई भेटन आएकी थिइन्। उनको एउटा समस्या थियो तर उनले कसैलाई पनि ऊ आएको कुरा मलाई नभन्नू भनेकी थिइन्, तिमीलाई पनि।”

“मलाई पनि ” मलाई आश्चर्य लागेर आयो। तापनि उनी मकहाँ बसेको कुरा भनिनँ, सोधेँ, ठिकै छ किन आएकी थिइन् त ”

“आउनुअघि उनले मलाई अमेरिकाबाट फोन गरेकी थिइन्। विवाहको चार वर्षसम्म पनि श्रृषभबाट बच्चा भएको थिएन। उनको सासु ससुरा कृत्रिम गर्भाधानबाट भए पनि बच्चा चाहन्थे। ऊ मान्दिनथी। यो कुरामा श्रृषभ केही बोल्न सक्दैनथ्यो। आखिर परिवारको कचकच अगाडि केही नचलेपछि त्यता कृत्रिम गर्भाधान गर्दा सन्तान नेपाली जस्तो नदेखिए अप्ठेरो पर्ने भएकोले उनी यहाँ आएकी थिइन्।”

“अनि तिमीले कृत्रिम गर्भाधान गरिदियौ त ”

“अहँ, यहाँ गर्दा खेरी बाबुको बारेमा केही थाहा हुँदैनथ्यो। अध्यात्मा भने सबैतिरबाट स्वस्थ, इन्टेलिजेन्ट, ह्याण्डसम पुरुष चाहन्थी, जुन संभव थिएन। तर एक हप्ताअगाडि उनी चेकअप गर्न आउँदा मैले उनलाई गर्भवती पाएँ म पनि छक्क परें। यो कुरा कसैलाई नभन है।”

मैले केही बोल्न सकिन नराम्ररी ठगिएको महशुस गरें।

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.