संस्मरण : तीन प्रधानमन्त्री र एउटा आम मान्छे

~नयनराज पाण्डे~Nayan Raj Pandey

एकादेशमा, मैले भेटेको थिएँ तीन प्रधानमन्त्रीहरूलाई । अहिले सोच्दा लाग्छ, नभेटेकै भए हुन्थ्यो ।

——-

त्यतिबेला मैले आफूलाई बहुतै ठूलो मनुवा सम्झिएको थिएँ, जतिबेला पहिलोपल्ट नेपालका प्रधानमन्त्रीसित मेरो फेस टु फेस भेट भएको थियो । भावुकता घाँटीको मध्यभागमा अवस्थित मेरो सुकोमल किल्किलेमा आएर रोकिएको थियो र मलाई केही शब्द बोल्नुअघि मज्जाले रुन मन लागेको थियो । भावुकताले टनाटन भएको बेला प्राय: मलाई बोल्नुभन्दा केही अघि रोएर आफ्नो आँसु निखार्न मन लाग्छ । शौचालयको सुविधा छ भने त्यस्ता रोमाञ्चक क्षणमा म समयमै सुसु पनि गर्ने गर्छु । नत्र, ऐन मौकामा सुसुले च्याप्छ र मेरो ध्यान चुरो कुरोभन्दा अन्यत्रै जान थाल्छ ।

प्रधानमन्त्रीज्यूसितको यो पहिलो भेटमा मैले उहाँको उज्यालो, कोल्डक्रिम लगाएझैँ चिल्लो र गरिमामय अनुहारमा देशको ग्ल्यामरस र सेक्सी छवि देखिरहेको थिएँ । लाग्यो, अब उहाँ नै देशका पालनहार हुनुहुन्छ र उहाँकै नेतृत्वमा विकासको मूल फुट्छ ।

प्रधानमन्त्रीको नाम गिरिजाप्रसाद कोइराला थियो । म उहाँको अगाडि उभिँदा निजको देब्रे हातमा कटनको निख्खर सेतो रुमाल र दाहिने हातमा दूध चियाले भरिएको एरा कम्पनीको सिसा गिलास थियो । शिरमा कालो भादगाउँले टोपी, क्रिम कलरको दौरासुरुवालमा कालो कोट । पाउमा अनुहारै हेर्न मिल्ने टिलिक्क टल्किएको कालो छालाजुत्ता । उहाँको समग्र व्यक्तित्व फोटोजेनिक थियो ।

म बालुवाटारस्थित प्रधानमन्त्री निवासको पहिलो तलाको प्रधानमन्त्रीको निजी बैठक कक्षमा थिएँ । दस बाइ बाह्रभन्दा ठूलो थिएन यो कोठा । सोफाहरूमा सेतो खोल थियो र झ्यालका पर्दा पनि सेतै थिए । सादा, सुकिलो र सिनित्त परेको त्यो बैठकमा ममात्र हैन, मसँगै अरू दुईजना पनि हुनुहुन्थ्यो ।

करिब एक वर्षअघि नेपाल सरकारले मलाई चलचित्र विकास बोर्डको सदस्यको रूपमा नियुक्त गरेको थियो । मित्र राजु केसी पनि सदस्यमै नियुक्त भएका थिए र शैलेश आचार्य अध्यक्षको रूपमा पदासीन हुनुभएको थियो । प्रधानमन्त्री यथावत् भए पनि मन्त्रिमण्डलमा माओवादी पार्टी पनि सामेल भएकाले सञ्चारमन्त्रीमा कृष्णबहादुर महरा नियुक्त भएका थिए । त्यसपछि हामीलाई नैतिकताको आधारमा बोर्डमा बसिरहनु निको लागेन । तर हामीले मन्त्रीलाई हैन, प्रधानमन्त्रीलाई नै आफ्नो राजीनामा बुझाउने निधो गर्‍यौँ र एक थान राजीनामा बोकेर प्रधानमन्त्री भेट्न आयौँ ।

प्रधानमन्त्रीले हामीलाई चिया ख्वाउनुभयो । हाम्रो राजीनामा लिएर पीएलाई हस्तान्तरण गर्नुभयो र भन्नुभयो, ‘काम गर्न सजिलो लाग्दैन भने बोर्डमा नबसेकै राम्रो । तपाईंहरू योग्य हुनुहुन्छ । अरू मौका आउँछ नि ।’ मलाई त्यतिबेलाको धेरै कुरा याद भएन । तर, उहाँले भनेको एउटा कुराचाहिँ बहुतै याद आउँछ । उहाँले कलात्मक ढंगले मुजा परेको, तर उज्ज्वल मुहार त्यही सेतो रुमालले पुछ्दै मर्जी भएको थियो, ‘जसरी सुख सुविधाले हामी कांग्रेसीहरू मात्तिएर पतन भएका थियौँ । एक दिन यी माओवादीहरूको नियति पनि यही हुन्छ । डन्ट वरी ।’

——-

निज गिरिजाबाबुसितै मेरो दोस्रो भेट पनि भयो । तिनताक मति बिग्रेको थियो मेरो र म कांग्रेसको एउटा भ्रातृ संगठनको सभापतिको दाबेदार भएको थिएँ । यसअघि नै भ्रष्टाचार विवादले त्यो संगठन दुई चिरा भएको थियो र म एउटा चिराको सभापति भएको थिएँ । हाम्रो विवाद मिलाएर संगठनलाई फेरि एक ढिक्का बनाउन उहाँले हामी दुवै पक्षलाई आफ्नो महाराजगन्जस्थित निवासमा बोलाएका थिए । म आफ्नो समूहका साथीहरू र अर्को सभापति महोदय आफ्ना गुटका साथीहरूसित त्यहाँ भेला भएका थियौँ । म यसपटक पनि भावुक भएको थिएँ र गिरिजाबाबुलाई भेट्नुअघि सुसु गरिसकेको थिएँ । भावुकता यसपटक पनि मेरो किल्किलेमा अल्झिएको थियो । मैले भनें, ‘गिरिजाबाबु, हामीले हाम्रो संगठनलाई म्यानपावर बनाउनु भएन । पैसा खाँदै गैरकलाकारलाई कलाकार बनाएर विदेशमा छाड्नुभएन । यसले संगठनमात्रै हैन, पार्टीकै बदनाम हुन्छ ।’

‘हो, पार्टीलाई बदनाम गर्नुहुन्न ।’

गिरिजाबाबुले सेतो रुमालले उज्यालो अनुहार पुछ्दै भनिबक्सियो । म अझ उत्साहित भएँ र भनिहालेँ, ‘संगठन सिस्टममा चल्नुपर्‍यो । हामी कोही पनि भ्रष्टाचारको दलदलमा फस्नु भएन ।’

गिरिजाबाबुले भन्नुभयो, ‘राम्रो कुरा । म भन्छु, सिस्टम हुनुपर्छ । म फेरि भन्छु, भ्रष्टाचार हुनु हाँदैन ।’

उनको निवासबाट निस्किएपछि एकजना मित्रले बडो गम्भीर कुरा भने मलाई ।

‘यार, नेताहरूसित भ्रष्टाचारको कुरै गर्नु हुन्न । उनीहरूलाई जो भ्रष्ट हुन्छ, उही प्रिय हुन्छ । आदर्शका कुरा गर्नेहरू किनारा पारिन्छन् ।’

नभन्दै त्यस्तै भयो । केही महिनापछि जब भ्रातृ संगठनको पोखरामा चुनाव भयो । म हैन, मैले जसको विरुद्ध यतिका कुरा गरेको थिएँ, उनै व्यक्ति गिरिजाबाबुका आधिकारिक र प्रिय उम्मेदवार भए । चुनावमा चक्रपथका डनहरू आए । सुजाता दिज्यू पनि उनै उम्मेदवारलाई जिताउन आइस्यो । पार्टीले नै निर्वाचन कमिटी बनाइदिएको थियो । कमिटीले मतदान भोलि हुन्छ भन्ने जानकारी दियो । त्यसपछि मेरा साथीहरू आआफ्नो होटलमा गए । अचानक मध्यरातमा मतदान हुने भयो । मेरा साथीहरू केही निद्रामा धङ्धङ्गिँदै आए, कोही सुतेको सुत्यै भए । मलाई जुन मित्रले नेतासित भ्रष्टाचारको कुरा गर्नु हुन्न भनेर सिकाएका थिए, तिनै मित्र अर्को पक्षसित मिलेछन् । फर्जी मत हाल्नेमा उनै एक नम्बरमा थिए ।

मैले चुनाव हारेँ । सिस्टम र भ्रष्टाचारको मेरो मुद्दाको हैसियत दिनभरि पसिना पुछ्ने र साँझ धुन पठाउने गिरिजाबाबुको हातको कटनको मुलायम सेतो रुमाल जति पनि भएन । त्यो त उहाँकी सुपुत्री सुजाता दिज्यूलाई रुघा लागेको बेला नाक पुछ्ने कागजको नेप्किनजस्तो मात्र भयो । युज एन्ड थ्रो । हाय, कहाँ फसँे म !

जे होस् । भूलचुक लेनीदेनी । सेतो रुमालले सधैँ आफ्नो गोरो, चिल्लो र उज्यालो मुहारको पसिना पुछिरहने अनि लगातार दूधचिया खाइरहने स्वर्गीय गिरिजाबाबुको स्वर्गमा वास होस् ! उहाँ जहाँ रहनुभए पनि एरा कम्पनीको सिसा ग्लासमा चिया खान पाइरहनुहोस् ।

——-

सेयरहोल्डर साहित्यकारहरूबाट निर्वाचित भएर म साझा प्रकाशनको सञ्चालक सदस्य भएको थिएँ र केही कालपछि संस्थाका केही जिम्मेवार व्यक्तिहरूसितको विवादका कारण आमरण अनशन बस्ने बहुलट्ठी निर्णय गरेको थिएँ । आज सम्झँदा लाग्छ, त्यो मेरो हठ थियो । तर कहिलेकाहीँ हठले नै आत्मबल पनि दिँदोरहेछ ।

बसी त हालियो । केही साथीहरूले टेन्ट र कुर्सीहरूको पनि व्यवस्था गर्दिहाले । साहित्यवृत्तमा गतिलै चर्चा भयो । तिनताक मैले लू नामक उपन्यास पनि लेख्दै थिएँ । एकजना मित्रले भने पनि, ‘यार, खुरुखुरु लेख्न छाडेर कहाँ फस्नुभएको तपाईं ? देशकै सिस्टम ठीक छैन, साझालाई सिस्टममा राख्छु भनेर हुन्छ ?’

अनशनको पहिलो दिन पुलिस हस्तक्षेप भयो र मलाई अनशन बसेको स्थलबाट रातारात पुलिस भ्यानमा राखेर मलाई अनशनमा साथ दिनुहुने साहित्यकार खगेन्द्र संग्रौलाको निवासमा मध्यरातमा पुर्‍याइयो । मेरो बाँकी रात खगेन्द्र दाइको पिंढीमा बित्यो ।

तेस्रो दिन साहित्यकार साथीहरूको अनुरोधमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई मेरो अनशन तोडाउन आउने हुनुभयो । उहाँ आउनुअघि पुलिसको कुकुर आयो । मलाई सुँघ्यो । वरिपरिको परिवेशलाई पनि सुुँघ्यो र आफ्ना हाकिमलाई, ‘यहाँ बम छैन । सब ठीक छ । प्रधानमन्त्रीज्यू आए फरक पर्दैन’ भन्ने संकेत गरेर आफ्ना निकट सहयोगीका साथ प्रस्थान गर्‍यो । कुकुर गएपछि ‘मुस्ताङ’ चढेर प्रधानमन्त्रीज्यू रत्नपार्क आउनुभयो र मेरो छेउमा बसेर साहित्यकारहरूलाई सम्बोधन गर्नुभयो, ‘साहित्यसित जोडिएको साझा प्रकाशन कृषि मन्त्रालयअन्तर्गत छ भन्ने मैले बल्ल पो थाहा पाएँ । अब यो शिक्षा मन्त्रालयमा आउँछ । नयनजीका अरू मागहरू पनि पूरा हुन्छन् । साझा सिस्टममा चल्छ ।’

त्यसपछि ताली बज्यो । वरिष्ठ लेखक भिक्टर प्रधान र प्राध्यापक रमेश भट्टराईले असनको एउटा जुस पसलबाट करिब सय डेढ सय रुपियाँ धितो राखेर एरा कम्पनीको बियर ग्लासमा जुस ल्याउनुभयो । प्रधानमन्त्रीज्यूले मलाई त्यही जुस खुवाउनुभयो । मिक्स फ्रुट जुुस । त्यसको गुलियोले मलाई बेलाबेलामा एसिडिटी हुन्छ । अहिले पनि ।

——-

डाक्टर बाबुराम भट्टराईसित यसअघि पनि मेरो भेट भएको थियो । त्यो भेट आदरणीय खगेन्द्र संग्रौला दाइकै कारणले र उहाँकै सहयोगमा भएको थियो । डाक्टर साब त्यतिबेला देशको अर्थमन्त्री भएका थिए । नेपालको विकासमा सहयोग गर्ने दाता राष्ट्रहरूको निकट भविष्यमा सम्मेलन हुनेवाला थियो । सम्मेलनमा भाग लिन आउने दाताहरूलाई नेपालको आर्थिक हैसियत, नेपालको विकाशको चाहना र आर्थिक सहयोगका क्षेत्रहरूका बारेमा जानकारी दिनको लागि करिब पन्ध्र बीस मिनेटको वृत्तचित्र बनाउने इच्छा रहेछ डाक्टर साबको । त्यो इच्छा उनले कुनै भेटमा खगेन्द्र दाइलाई प्रकट गरेका रहेछन् । म कुनै बेला श्रव्यदृश्य माध्यमसित सम्बन्धित रहेको कुरा खगेन्द्र दाइलाई थाहा थियो । उहाँले अर्थमन्त्रीसित मेरै नाम लिनु भएछ ।

म बाबुरामजस्तो व्यक्तित्वसित भेट्न पाएर गदगद थिएँ । भावुकता फेरि किल्किलेमा आएर रोकिएको थियो र मैले सिंहदरबारको फस्ट फ्लोरमा अघि नै सुसु गरिसकेको थिएँ । वृत्तचित्रबारे गजबको अवधारणा रहेछ अर्थमन्त्रीज्यूसित । म चकित भएँ । उहाँले भन्नुभयो, ‘एनजीओ, आईएनजीओले बनाउने विकासे खालको चालू वृत्तचित्र हैन, अलिक सिर्जनात्मक खालको र रोचक बनाउनुहोस् ।’
त्यसपछिको भेटमा उनले वृत्तचित्रको अंग्रेजीमा अनूदित स्क्रिप्टबारे आफ्नो राय दिए । उनी आफैँले स्क्रिप्टका विभिन्न ठाउँमा संशोधन गरिदिएका थिए । कतिपय ठाउँमा वाक्य नै थपिदिएका थिए । केही सिक्वेन्सलाई तलमाथि गरेर मिलाइ पनि दिएका थिए । देशको अर्थमन्त्रीले यसरी एउटा वृत्तचित्रको स्क्रिप्टमा देखाएको सचेतताले म झन् मुग्ध भएको थिएँ ।

तत्कालीन राजनीतिक स्थितिका कारण सत्ता परिवर्तन भयो । उनी अर्थमन्त्री रहेनन् । दाताहरूको सम्मेलन रोकियो । वृत्तचित्रको प्रदर्शन हुन पाएन । तर डाक्टर बाबुराम भट्टराईसितको यो भेटले मलाई उनको सरलता, उनमा अन्तर्निहित सिर्जनात्मकताको बोध भएको थियो । उनको हातबाट जुस खाइरहँदा मैले उनीसितका ती भेटहरूलाई झल्झली सम्झिरहेको थिएँ ।

देशको नयाँ संस्करणको संविधान लेखिइसकेपछि केही दिनमै उनले आफू संलग्न रहेको पार्टी छाडेका छन् । सामाजिक सञ्जाल र सञ्चारका अरू माध्यममा उनको पछिल्लो कदमका बारेमा राम्रा नराम्रा टीका टिप्पणी भइरहेका छन् । मलाई उनको बहिर्गमन पलायन हो या नयाँ शक्तिको उदयको संकेत हो, थाहा छैन । यससम्बन्धी पटकथाका दृश्यहरू अझै स्पष्ट भइसकेका छैनन् । तर एउटा कुरा कमरेड बाबुरामले याद गरेको राम्रो । अब धेरैले तपाईंलाई देशको नयाँ संविधान जारी गर्नमा योगदान दिएर देश विकासको राजमार्ग फराकिलो बनाएकोमा भन्दा तपाईंले प्रधानमन्त्री हाँदाताका काठमाडौंका सडक फराकिलो बनाएकोमा सम्झिनेछन् । यस्तो स्मृति तपाईंप्रति सम्मान हो या व्यंग्य, तपाईं जेएनयु, इन्डियाका विधावारिधिधारक महाशयले आफैँ बुझ्नुहुनेछ ।

——-

तेस्रो प्रधानमन्त्री, जोसित मेरो भेट भयो, उहाँ त मेरो टोले दाइ नै हो । नेपालगन्जमा उहाँको घर र मेरो घरबीच पाँच सात सय मिटरको फरक थियो ।

एसएलसी सकेर क्याम्पसमा भर्ना भएपछि केही समय म नेपालगन्जको विद्यार्थी राजनीतिमा संलग्न भएँ । त्यतिबेलादेखि नै चिनेको हाँ उहाँलाई । २०४४ सालमा जब नेपाली कांग्रेसले स्थानीय निकायको चुनावमा सहभागी हुने निर्णय गर्‍यो, मैले तत्कालीन नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको चुनाव प्रचारमा खुब दौडधुप गरेँ । चुनाव सकिएपछि मतपेटिका राखेको ठाउँको सुरक्षाका लागि म र मेरा साथीहरू नगरपालिकाको भवनमै दुई रात सुतेका पनि थियौँ । मतगणना सुरु भएपछि उपमेयरमा त कांग्रेसकै उम्मेदवार अगाडि देखिए । उनको जित्ने सम्भावना पनि देखियो । तर मेयर पदमा भने स्थानीय मुस्लिम नेता अगाडि थिए । तत्कालीन सीडीओले केही नेताहरूसित छलफल गर्दै भने, ‘मुसलमानले जित्नुभन्दा पञ्चायत पक्षधरकै मेयरको उम्मेदवारलाई जिताऔँ । हिन्दू पनि, पहाडिया पनि । कांग्रेसले सहयोग गर्‍यो भने म मतपेटिका सजिलै अदलबदल गरिदिन्छु ।’

सुशील दाइसम्म यो कुरा पुग्यो । उहाँले सीडीओको प्रस्ताव अस्वीकार गर्दै भन्नुभयो, ‘चुनावमा भाग लिइसकेपछि परिणामलाई स्विकार्नुपर्छ । सिस्टम र प्रजातान्त्रिक अभ्यासको कुरा हो यो ।’

——-

केटाकेटीदेखि चिनेको व्यक्ति प्रधानमन्त्री हाँदा मलाई खुसी नै भयो । सधैँ सिस्टम, प्रजातन्त्र र आर्थिक स्वच्छताको कुरा गर्ने भएकाले पनि मलाई मन पर्नुहुन्थ्यो उहाँ । प्रधानमन्त्री भएपछि मैले पनि उहाँको निवासमा गएर बधाई दिएँ ।

उहाँसित भेट्न जाँदा नेपालगन्जमा मसितै विद्यार्थी राजनीतिमा लागेका एकजना सहपाठीसित प्राय: भेट भइरहन्थ्यो । हार्दिकतापूर्वक कुराकानी हुन्थ्यो उनीसँग पनि । उनले भने एकदिन, ‘तपाईंजस्तो प्राज्ञिक मान्छे एकेडेमीमा आउनुपर्छ । म प्रयास गर्छु तपाईंका लागि ।’

सुशील दाइका पुराना ढकाल थरका पीएले पनि मलाई भन्थे, ‘दाइले तपाईंलाई माया गर्नुहुन्छ ।’

तर प्रधानमन्त्री भइसकेपछि सुशील दाइसित भेटन सहज थिएन । मलाई उहाँसित भेटिरहनुपर्ने कुनै आवश्यकता पनि थिएन । हरेक बिहान बालुवाटार जाने भीडको हिस्सा बन्नु पनि थिएन मलाई । बरु म संयोगबस अमेरिका पुगेको बेला भने न्युयोर्कमा भेटने अवसर जुर्‍यो उहाँसित । उहाँ आफ्नो जिब्रोको क्यान्सरको उपचारको फलोअपमा अमेरिका आउनुभएको थियो र दूतावासले व्यवस्था गरेको अपार्टमेन्टमा बस्नुभएको थियो । फोटो पनि खिचियो उहाँसँग त्यहाँ । एक घन्टाजति आरामले कुरा गर्न पाइयो । उहाँको शीघ्र स्वास्थलाभको कामना पनि गर्‍यौँ हामीले । उहाँसित यसरी भेट्न पाउँदा म भावुक भएको थिएँ र मेरो भावुकता उसैगरी किल्किलेमा आएर अड्किएको थियो ।

——-

एकदिन एकजना मित्रले भने, ‘सुशील दाइको पिएले बोलाएको छ । तपाईँलाई पनि लिएर आउनु भनेको छ । जाऊँ । साँझ सुशील दाइसित पनि भेट हुन्छ ।’

म गएँ । बालुवाटारको प्रधानमन्त्री निवास पस्नेबित्तिकै मेरा तिनै पुराना सहपाठी भेटिए । उनी अब प्रधानमन्त्रीका सल्लाहकार भएका थिए । म पिएको निम्तामा प्रधानमन्त्री निवास आएको थाहा पाएर उनको अनुहार रातो भयो । त्यति राम्रो सम्बन्ध थियो उनीसित, तर बालुवाटारमा भने मलाई वास्तै नगरेकोजस्तो गर्न थाले उनले । उनी मसित रिसाउनुको कारण पछि मात्र बुझेँ । सुशील दाइका पीए र उनीबीच पानी बाराबार रहेछ । पीएको मान्छे उनको लागि शत्रुसरह हाँदोरहेछ । पछिल्लो समयमा सुशील दाइका पीए विवादित पनि भएका थिए । कतिले भन्थे, ‘सुशील दाइका केही गोप्य र अन्तरंग क्षणका भिडियो बनाएर राखेको छ उसले । सुशील दाइलाई त्यही भिडियो देखाएर ब्ल्याकमेल गर्छ त्यसले ।’ सत्य के हो, दैव जानुन् ।

त्यसको केही दिनपछि मैले एकजना आफ्नो छोरी नाता पर्ने शिक्षिकालाई अर्को जिल्लाबाट काठमाडौं सरुवा मिलाइदिन आग्रहसहित प्रधानमन्त्रीको सल्लाहकार भएका ती मित्रलाई फोन गरेँ । उनले रूखो स्वरमा जवाफ दिए, ‘मलाई हैन, तपाईँको त्यही प्रिय पिएलाई नै भेट्नुस् । तपाईँ त उसैको खास मान्छे ।’

त्यसपछि दिक्क भएँ म । मित्रको त्यस्तो व्यवहारले प्रधानमन्त्रीसित भेट्ने मोह पनि सकियो मेरो । टन्टै साफ ।

सुशील दाइ प्रधानमन्त्री भएपछि तीन चारपटक बालुवाटार गएको छु । तर जतिपटक गएको छु, उनलाई उनका थरीथरीका पीए, भाँतीभाँतीका सल्लाहकार र रंगरंगका आफन्तहरूले घेरिएकै पाएको छु । जतिपटक सल्लाहकारसित भेटेँ, उसले पीएको कुरा काटेकै थियो । जतिपटक आफन्तसित भेटेँ, उसले सल्लाहकारको कुरा काटेकै थियो । जतिपल्ट पीए भेटेँ, उसले सुशील दाइका आफन्तहरूको कुरा काटेकै थियो । त्यति चाकडी, त्यति चुक्ली, त्यति चारआने वार्तालाप त कालीमाटी तरकारी बजार या गणबहालको माछा बजारमा पनि हाँदैन होला । प्रधानमन्त्री निवास देशको विकास र भविष्यको बारेमा चिन्ता र चिन्तन गर्ने गम्भीर व्यक्तित्वहरूको भेटघाट हुने थलो हो भन्ने लाग्थ्यो उहिले । तर त्यो ठाउँ प्रधानमन्त्रीका केही पीए, केही आफन्त र केही सल्लाहकारको भात खाने र सुकला गर्ने ठाउँ पो रहेछ । बल्ल पो थाहा पाएको थिएँ मैले ।

के त्यो बालुवाटारको प्रधानमन्त्री निवासमा बस्ने सुशीलदाइ, उही व्यक्ति हुुन्, जसले पहिला खुब सिस्टमको कुरा गर्थे । अचेल त्यस्तो कुरा गर्छन् कि गर्दैनन् ? थाहा छैन । तर, जतिजतिपटक उनीसित भेटने मौका पाएँ, उतिउतिपटक उनलाई चिन्तनहीन र योजनाहीन नेताको रूपमा बुझ्दै गएँ । मलाई लाग्न थाल्यो, उनी राजनीतिमा विचारका कारणले भन्दा लामो समयसम्मको संलग्नताका कारणले टिकेका हुन् । कोइराला भएकोले टिकेका हुन् । उनी बलियो भएर हैन, अरू कमजोर भएर टिकेका हुन् । उहाँलाई जति बुझ्दै गएँ, मन उति खिन्न हाँदै गयो ।

——-

तीन भिन्न समय, तीन भिन्न परिस्थिति र तीन भिन्न प्रधानमन्त्री । ती प्रधानमन्त्रीहरूसित म एउटा आम मान्छेका तीन भिन्न सन्दर्भको भेटघाट । देशको राजनीतिमा यो भेटको कुनै अर्थ छैन । आम मान्छे र प्रधानमन्त्रीबीचको भेटघाटको सन्दर्भ इतिहासमा कहीँ पनि लेखिन्न ।

तर मेरो मनभित्र पनि एउटा न्यायाधीश त बस्छ नि हजुर । चानचुने नठानिबक्सियोस् प्रधानमन्त्रीज्यूहरू । मभित्रको आम मान्छेले हरेक समय तपाईँहरूको परीक्षा लिइरहेको हुन्छ । मेरो मनले पनि लिएको छ परीक्षा र दिएको छ नम्बर । लु, रिजल्ट सुन्नुस् । मेरो मनको परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशित गरेको छ । तर, तपाईँहरू तीनैजना यो परीक्षामा फेल पो हुनुभयो ।

हे प्रिय प्राइमिनिस्टर्स ! मैले तपाईँहरू कसैलाई पनि देशको सिस्टम सुधारको लागि अंक दिन सकिनँ । तपाईँहरूले देशबाट भ्रष्टाचार मिटाउनुभयो भनेर सगौरव अंक दिन सकिनँ । तपाईँहरू कसैले पनि यो कमजोर देशलाई शान्त र समुन्नत बनाउन विशेष योगदान दिनु भयो भनेर कुनै अंक दिन सकिनँ मैले । लागेको थियो, तपाईँहरूले टाढाको दृश्य देखिने चस्मा मात्र लगाउनु हुन्न, तपाईँहरूसित दूरदृष्टि पनि छ । त्यसैले यो परीक्षामा तपाईँहरूको कम्तीमा असी पचासी अंक त आओस् भन्ने लागेको थियो । जबकि मैले लिने सय नम्बरको परीक्षाको उत्तीर्णांक चालिस मात्र थियो । मात्र चालीस । चुत्था फोर्टी ।

केही दिनअघि गणतान्त्रिक नेपालको संविधान जारी गर्दा म खुसी थिएँ । केही थान मैनबत्ती मैले पनि बालेको थिएँ । विगतमा दिएको अंकतालिकामा केही अंक ग्रेस मार्क दिएर तपाईँहरूलाई उत्तीर्ण गराउने चाहना थियो । तर जब डाक्टर बाबुरामले आफैंले हस्ताक्षर गरेको संविधानको मजाक उडाउँदै हिँड्न थाल्नुभयो र जब सारा भद्र सहमतिलाई तोडेर सुशीलदाले आफ्नो पदलोलुप स्वरूप उदांगो बनाउनुभयो, मलाई मैले विगतमा दिएको नम्बर पनि फिर्ता लिन मन लाग्यो । तपाईँहरूजस्तो राजनीतिज्ञको यस्तो पतनशील छवि देखेर लाग्यो, जीवनको कुनै कालखण्डमा तपाईँहरूसित मैले नभेटेकै ठीक हुनेरहेछ ।

गिरिजाबाबु त स्वर्गमा बसेर के गर्दै हुनुहुन्छ, गड नोज । तर तपाईँ डाक्टर बाबुराम र सुशीलदासित अब अचानक कतै भेट भयो भने म अलिकति पनि खुसी हुने छैन । मलाई उन्मादमा सुसु आउने छैन । मेरो भावुकता मेरो गर्दनको मध्यभागमा अवस्थित किल्किलेमा अड्किने छैन ।

म सामान्य मान्छे हाँ । आम मान्छे । मलाई थाहा छैन, मैले तपाईँहरूसित फेरि भेट्न नचाहनु मेरो दुर्भाग्य हो या तपाईँहरूको ?

प्रकाशित: आश्विन ३०, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.