~बिटु केसी बराल~
उ भन्थी, के गर्नु जतिनै भएपनि प्रतिभा “बहुमुखि”
सम्बोधन नै गरेन कहिल्यै मलाई भनेर “सूर्यमुखी”
चुडाई दिए लौ जा, फितलो मायाको डोरी
खुला ह्रदय आफ्नो बुझ्यौ, उ थियो “अन्तर्मूखी”
हिड़ने एउटै बाटो हाम्रो उकालि ओरालि साथमा
बढोस माया दिन दुईगुना , चौगुनाले रातमा
संगालेर राख , सम्हालेर राख
यो सिङ्गो मुटु सुम्पे तिम्रो हातमा !!
मेरो अनुपस्थितिको अभाव हेर्न चाहन्छु
गुलाबी गाढा त्यो प्रेम हेर्न चाहन्छु
तिम्रो नयनमा अरू केही होइन प्रिय
सिर्फ मेरो मायाको प्रतिविम्ब हेर्न चाहन्छु !!
लहलह खेतैभरी धानको बाला झुल्यो
ढकमक्क मखमली र सयपत्री फुल्यो
उमंग मिठो दसैँको बोकी ल्याउछ हावा
घरदैलोमा सद्भावको शुभकामना खुल्यो !!
उठाएर अँगालो हालि चुम्वन गर्न मन लाग्यो
फुलैफुलको बिछ्यौना ओछ्याईदिन मन लाग्यो
वेखबर , यो अबोध तिम्रो मायालु निन्द्रा देखेर
सिरानी मेरो फालि कतै, त्यही तकियामा निदाउन मन लाग्यो !!
भन्छन् – ईश्वरले मायारूपी अमृत जगमा फैलायो
दुनियाँले त जहिले पनि मायामा खोट औंल्यायो
घृणा, रिस, द्वेष कहाँ कम छ र संसारमा ?
फेरि पनि हर मौसममा माया दुबोसरि मौलायो !!
फुल छ, र त सौन्दर्यको तापन छ
समुन्द्र छ, र त गहिराईको नापन छ
कति कुरूप र सतही हुन्थ्यो होला जिन्दगी
तिमी छौ, र त हाम्रो मायाको मापन छ !!
भावसँग नाँच्यो जिन्दगी
अभावसँग हास्यो जिन्दगी
यो जिन्दगी , खै के जिन्दगी ?
बर्बाद भएर पनि बाँच्यो जिन्दगी !!
अलिकति माया लिएर जाऊ
अलिकति घृणा लिएर जाऊ
फेरि भेट होला , नहोला !
अमृत मानी विष पिएर जाऊ
शीतल पवनसित लहराउदै मेरो केश झुल्यो
तिमी र म चाँदनी रातमा , यो मधहोसी खुल्यो
प्रणय बंधनको मग्न यो मौसममा
जादुमय तिम्रो मुस्कानले , मनमा रातो गुलाब फुल्यो !!
तिमीमै छ बसंत , तिमीमै छ श्रावण
तिमी नै हौ शुद्र , तिमी नै हौ ब्राम्हण
कर्मले नै धर्मं तय गर्छ साथी
तिमीमै छ राम , तिमीमै छ रावण !!
(स्रोत : बिभिन्न अन्तर्जालिय साहित्य चौतारीहरु )