~ज्योति जंगल~
निहुरिएर उमेर काटिरहेकी छे
र, हात लागेको छ
एकमुठ्ठी हरियो घाँस ।
बेखबर छे, आफ्नो रूप
आधा शिर उचालेर
बाहिर आउन खोज्छन् छातीहरू
निधारको पसिना तप्प–तप्त खसिरहन्छ
जसरी खस्छन् उसका रहरहरू भुइँमा ।
उखेलिएर घाँसको जरा
जब अलिकति माटो मुखमा पर्छ
थुक्छे पर्तिर जीवन नमीठो भोग्नुको स्वाद
उभिएर कम्मरमा हात राख्छे
माथि रुखतिर हेर्छे
चराहरू उड्छन् र खिस्स हाँस्छे
कुइनो कम्मरमै राखेर
हँसियाको धारसँग फुटेका औंलाहरू मिलाउँछे ।
घामसँग बोल्छे सङ्गिनीसँग बोलेजस्तो ।
खै ! के सम्झन्छे
पढ्न नजानेको उसको जीवनको पुस्तक
आफ्ना पहेंला दाँत या ऐना नहेरेको अनुहार
सुन्न नभ्याएको गीत
कि औधी दुख्न थालेको कम्मरको औषधि ?
हतारिन्छे एकाएक
घाँस बटारेर डोरी बनाउँछे
मुठा पार्छे जिन्दगीको एकदिन
बच्चालाई काँधमा राखेजस्तो
मायाले घाँसका मुठा उठाउँछे र कुद्छे ।
किन कुदेकी हो त्यसरी
पक्कै सम्झी होली
स्कुलबाट फर्किएका नानीहरूको भोक
ढिलो गरेको निहुँमा
लोग्नेको अनुहारमा फुल्ने कालो गुलाफ
या गाईको खोबिल्टे भुँडी ।
यो घाँसयात्राले बाटो तय गर्छ
घर, बारी र मन्दिरसम्मको
धर्मले कमाएकी छे
घाँसैघाँसको टाउको र हरिया खुसीहरू ।
***
(स्रोत : Ekabita)