~बिष्णु सुवेदी ‘दोलखे’~
आगो नै टेकेर
आगो नै चपाएर
यहाँ सम्म आइपुगेको म
आगोको यात्रा हिंडेर !
आगो बालेर सपनाहरुमा
आगोले नै नुहाइरहेछु
जीवनको रङ्ग डढाएर
आगो नै ओढिरहेछु
यो कास फुल्ने समय
यो उन्यू फुल्ने समय
यही समय हो–
आँखाभरी ढुङ्गाहरुले
मन सजाउने समय
उकुस मकुस बाँचेर
युगौं पछिको जिजिविषामा
रहरहरुको कैदी बन्न चाहिन म
यो कुरुप समयमा
कुरुप सौन्दर्य साटेर
धमिराहरुको बलि हुन चाहिन म
जीवन एक भुङ्ग्रो आगो रहेछ
जसरी बले पनि हुने÷बाले पनि हुने
आगोमा नै पौडेर
वर्षौको तिर्खा मेट्नु पनि
रमाइलो नै रहेछ
यो मौसमको यात्रा
यो जीवनको यात्रा
पाइलाहरु चोपलेर आगो मै
हिंड्न सक्दा
हार्दोरहेछ आगोले मान्छेसँग
र जित्दा रहेछन् जीवनका उत्साहहरुले !
भीरबाट आदिम पहरोका ढुङ्गाहरु
लडाइरहनु दुःखका पहिरासँगै
बल्झेर आएका घाउहरुलाई
लामो रातपछिका यादहरुमा
छोडेर कतै भञ्ज्याङ्गहरु
एक्लो मनको आँखाले
पर–पर देख्नु
र बाल्नु आगोको मुस्लो !
जगाएर धुनी आगोमै
पोल्नु विसंगति
एउटा कालो इतिहासको विरुद्ध
समयलाई मुछेर पीठो झैं !
तिलचाम्ले उमेरहरु
अगाडि बढिरहनु
पाइला–पाइलामा आगो टेकेर
कुन स्वाद मिल्छ र,
जीवनमा यो स्वाद भन्दा मीठो !
बेलाबखत
आगोको यात्रामा
आँटहरु हिंडिरहेछन्
र त
फेरिन्छ बेला बखतमा
नाटकका दृष्यहरु
उठिरहन्छन् समय विरुद्ध आवाजहरु
आगोको यात्रा नै
जीवनको सार रहेछ
जीवनको तार रहेछ !
बुझ्दैछु म आजकाल
आगो विनाको मान्छे
र मान्छे विनाको आगो
दुवै निरर्थक रहेछन् !
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)