कविता : हिउँमारा तापमान

~बासुदेव अधिकारी~Basudev Adhikari

बीस बर्षपछि
नाम्चे पुग्यो सोनम
उसले हिमाल हे-यो
हिमालको पयर हे-यो
र धुरूधुरू रोयो
ऊ सँगसँगै रोयो हिमाल
उष्णाताले बाफिएर
प्रदुषणले गाँजिएर
रूवाइको आत्मियताले बाँधिएर उनीहरू
नाङ्गा भुतुङ्गा केटाकेटीले
हेरिरहे तिनको रूवाइलाई
किन रोएका हँ सोनम र हिमाल?
किशोरहरूले कुरै बुझेनन् तिनको
किशोरहरूले आँशु ने देखेनन् तिनको

चकित भयो सोनम
कहाँबाट मरूभूमि
बास बस्न आइपुग्यो हिमालको काखमा?
किन माथिमाथि सर्दै गयो हिमाल?
ऊ खूब टोलायो
हिउँको बर्को निकालेका पहाड
पग्लिएका हिउँका निला खोपिल्टा
हे-यो
एक टक लाएर हे-यो उसले
हिमाल ठुङ्दै आइरहेको उष्णता
हिमाल मास्दै आइरहेको तापमान
त्यहीँ पुगेर हे-यो उसले
त्यहीँ गएर देख्यो उसले
कहाँबाट आयो हँ
हिमालमारा तातो?
कुन पापिष्टले पठायो हँ
हिउँमारा तापमान?
सोनम सोधिरहेछ
सोलुको विज्ञान शिक्षकसँग
बात मारिरहेछ
भूगोल शिक्षकसँग
पाका पुराना सँगातीसँग

पग्लिरहेको हिमालको फेदमा
खरझैं बल्न थाल्यो उसको हृदय
रोइरह्यो सोनम
हाँसिरह्यो आणविक परीक्षक
बगिरह्यो तातो हावा
तातो हावामा
सुमुद्रका माछाको छटपटाहट
सुन्यो सोनमले

-बासुदेव अधिकारी/कामाण्डौं
-२६ कार्तिक २०६६-

(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क १ – जनवरी 1, 2010)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.