~निमेष निखिल~
जिन्दगीले सधैंसधैं खुसी पाउँदो रहेनछ
बेदनाले मुटु जल्दा धुवाँ आउँदो रहेनछ
….
जतिसुकै छाँटे पनि आदर्शका कुराहरू
भोको पेट देशभक्ति गीत गाउँदो रहेनछ
….
खुसी साट्ने धेरै देखेँ साथीभाइ इष्टहरू
विपत्तिमा आफन्तैले हात लाउँदो रहेनछ
….
सन्तापले मुटुभित्र डेरा हाली बसेपछि
सान्त्वनाले दुःखी मनको पाली छाउँदो रहेनछ
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क ३, मार्च २०१०)
