~शम्भुशरण भुजेल~
नव परिवर्तन यहाँ जब आयो त
स्थानीयहरुकन लुप्पा ख्वायो
आशेपासे सबलाई छकायो
असह्य महँगी चर्कायो ।
अन्तैको धाक लगायो
ढाँट र छलले जिल्लायो
नव परिवर्तन यहाँ जब आयो त
अपरिचितताको ढव देखायो ।
नक्कल झक्कल खुब बढायो
स्वाँंग स्वाँगले धन रित्यायो
बाहिरकालाई भित्र्याया
बेकुब यहाँकालाई गरायो
माला लायो, ताली खायो
अन्यत्रैको गुन गायो
नव परिवर्तन यहाँ जब आयो त
तिन छक सारालाई गरायो
स्वत्व देशको बिकाउनु नै
जनआधार हो भनेझैँ भान गरायो
विदेशलाई रिझाउनु नै
उद्धारको उपाय हो झैं ठहरायो
के के न होला भन्ठानेको त
हैरानी मात्रै भोगायो
बने बनाएको स्थिति भत्कायो
जिल्लराम गरायो
(स्रोत : श्री रुपरेखा)