~बासु श्रेष्ठ~
नयाँ वर्षको आगमन
र पुरानो वर्षको अवसान सँगै
आज मैले क्यालेण्डर फेरेँ ।
यो क्यालेण्डर जसले
वितेको वर्ष
योजना दियो
परियोजना र कल्पना दियो
वर्षभरिकोलागी
मार्गचित्र दियो
समय तालिका दियो र
अगाडि बढ्न वर्षभरी
मेरो कोठाको भित्तामा
झुण्डिई रह्यो ।
कति केरकार भए
कति कोरकार भए
एक मितिको योजना
अर्का मितिको कोठामा सारियो
एक महिनाको परियोजना
अर्को महिनामा सारियो
यस क्यालेण्डरको निर्णय
अर्कै क्यालेण्डरमा सारियो
न कुनै प्रतिवाद न कुनै विवाद
चुपचाप सहि रह्यो
असिमित र अटूट
फेरबदलको नाटक मंचन हेरिरह्यो ।
मौन सहयोगी यो क्यालेण्डर
आज नयाँ वर्षको आगमनसँगै
यसको पनि अवसान भएको छ
टेबुल मुनी रहेको रद्दी टोकरीमा
अचानक फ्याकिएको छ
पछारिएको छ
सिँगान र रछ्यानसँगै मिसिएको छ
हिजोसम्मको यो हितैषी र सहयोगी
आज अचानक रद्दी भएको छ ।
तर टोकरीमा पछारिएको
यस क्यालेण्डरले मलाई हेर्दो छ
र मानौ
भनिरहेछ “तँ कृतघ्न रहेछस्”
म फालिएको यस क्यालेण्डरलाई
हेरिरहन असमर्थ महसुश गर्छु
क्यालेण्डरसँग
चार आँखा गर्न असमर्थ ठान्छु
मलाई उसको मितिका प्रत्येक कोठा
एक एक नयन भएर
तिखो नजरले
मेरा बलिष्ठ शरीर छेदन गरिरहेछ
र ममा हिनताबोध जगाई रहेछ ।
र मलाई बोध गराई रहेछ
उ पनि त ईतिहास हो
हिजोसम्म
आउँदा दिनको मार्गदर्शक,
भविष्यमा ईतिहास बनेर
साक्षी बस्न सक्ने
उसको उपादेयता के समाप्त भयो त?
होईन हिजोको मार्गदर्शक
भोलीको साक्षी यो क्यालेण्डर
ईतिहास नै भएर झुण्डिई रहोस्।
अनि उठाउँछु रद्दी टोकरीबाट
क्यालेण्डरमा
टाँसिएका फोहोर टक्टक्याउँछु
र झुण्ड्याउँछु
अहिले भर्खर
झुण्ड्याईएको नयाँ वर्षको
क्यालेण्डरको पछाडि।
उड़ब्रिज, भर्जिनीया
(स्रोत : Khasskhass)