कविता : प्रिय मित्र

~जीवन शाही~

युग परिर्वतनको
दायित्व बोकेका
सुनौलो भविष्य निर्माणको
दिशामा लागिपरेका
महान युद्धका तिमी योद्धाहरू
तिम्रो दुःख लाग्दो वर्तमान
उराठ लाग्दा, दिक्क लाग्दा क्षणहरू सँग
घम्सा घम्सी खेल्दै
संघर्षको इतिहास रच्न
प्रतिवद्ध ति तिम्रा छात्तीहरू
जीवनका ति कठिन घडीहरू, सवै सवैलाई
संघर्षको रापले पार गर्ने
ति तिम्रा उन्नत विचारहरू
सुन्दर संसार निर्माणको
महान यात्रा तर्फ लम्किरहँदा
दुष्ट तगारा र छेकवारहरू
जसले, तिम्रो महान यात्रालाई
तहस नहस पार्ने कोशिस गर्ने छन्
जसले तिम्रो सपनाको त्यो सुन्दर घर
भत्काउने दुष्प्रयास गर्ने छन्

प्रिय मित्र,
त्यो संगीन घडीमा
तिमी,त्यहाँ, त्यतिखेर
वीरताको हाँक हालेर
सेतै हिमाल उभिए झैं
अडिग र चम्किलो भएर
आफ्नो अविचलित यात्रालाई
विचलित हुन बाट जोगाउदै
गन्तव्य तर्फ लम्काउदै जाऊ
घुम्तीहरूमा तेर्सिएका
चुनौतीहरूलाई पार गर्न
दबिएका पिल्सिएकाहरूका भावना
शोषिएका र हेपिएकाहरूको वेदना
पक्कै तिम्रा लागि र तिम्रो यात्राका लागि
संघर्षको मैदानमा
जहाँ, पीडाले व्याकुल बनेका हुनेछौ
त्यहा,ँ तिम्रा लागि साहस बन्ने छन्
उत्प्रेरणा बन्ने छन्
ईख बन्नेछन्

मेरो प्रिय मित्र,
पीडामा छटपटिएर
दुःखका घडीहरूमा
आफ्नो धैर्यतालाई गुमाउने
साहसलाई कम्जोर पार्ने
मेरो प्रिय मित्र, तिमी कायर नहुनु
बरू आफ्नो अगाडी खडा भएका
चुनौती सँग नडग्मगाएर
नयाँ युग निर्माणको हाँक दिंदै
लम्किराख चम्किराख

मेरो प्रिय मित्र
अनि मात्र तिम्रो सपना साकार हुनेछ
तिम्रो मात्र होईन
तिमी जस्तै मुक्ति चाहने
सर्वहारा जनको
त्यही सपना विपना बन्ने छ।
पत्यार नलाग्न सक्छ तिमीलाई

मेरो प्रिय मित्र
त्यो घडी तिम्रा सामु खडा नभएता पनि
देख्न नसकिने भएता पनि
नयाँ वस्तीको एउटा कुनाबाट
तिम्रै सामु आउँदैछ
तिम्रो संघर्षको कथा सुर्न्न पर्खिरहेको छ
एकहोरो टोलाई रहेकोछ
तिम्रै वरीपरि घुमिरहेछ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ११ – माघ १२, २०६७, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.