कविता : केही विम्बमा रत्नपार्क

~योगेन्द्र राज शर्मा~Yogendra Raj Sharma 'Prakar Antar'

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो………

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच ………
एकोहोरो
मिल कराए झैं ।

२०६७-०४-०१, रत्नपार्क, काठमाडौं

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.