~बिटु केसी बराल~
सधै झैं उठेर आङ तान्दै बाहिर चौरतिर नजर दौडाए । अहा ! फरक थियो विहानी आज । हुस्सुले ढपक्क ढाकेको ह्युस्टन देखेर भावुक भएछु म । काठमाण्डौ सम्झिएँ । विशालनगर चण्डोलको त्यो घर आँगन ,कहिले छोड़न नपरोस भन्ने लाग्थ्यो । आज सात समुन्द्र पारी पनि मन बुझेकै छ भन्नुपर्छ । एक दशक नत्र त्यसै कट्थ्यो होला र ! हुस्सुले दिलाएको मिठो अनुभूतिमा पलभरकोलागि लाग्यो म काठमाण्डौमै छु । त्यहि विशालनगर चण्डोल जहाँ मैले जीवनको उत्कृष्ट क्षण विताएकी थिएँ ।
काठमाण्डौमा घाम भन्दा प्यारो हुस्सु हुन त कहिले लागेन । तर त्यहि हुस्सुले आज मेरो मन लुटिरहेको थियो । चिसो भनेपछि तिनहात पर भाग्ने मन अनयासै आतुर भयो हुस्सुलाई अंगालोमा भर्न । निस्किएर बाहिर हुस्सुलाई सशरिर स्पर्श गरे । पुष माघको जस्तो बाक्लो हुस्सु कहाँ पाउनु ! तर जति थियो मेरोलागि यथेस्ट थियो । हुस्सुले भरिएका ती विहानीहरु अनमोल बनेर मेरो स्मृतिमा छरिए । स्कूले जीवनदेखि कलेज पढ़दाका समयहरुले एक फन्का लगाए । समय त्यति धेरै न हुस्सुसँग नै थियो न मसँग । एकछिनको भलाकुसारी पछि म कामतिर लागे उ घामसँग बिलाउदै गयो । कार्यथलोमा आईपुग्दासम्म घामले आफ्नो आधिपत्य जमाइसकेको थियो ।
शरद ऋतुको अमेरिका भनेपछि आँखाभरी हिउँ नै हिउँ आउछ । ह्युस्टनमा भने हिउँ देख्न हम्मे हम्मे पर्छ तर चिसो हावा चल्यो भने मुटु छेडिदिन्छ । धेरै बाक्लो हिउँ पर्यो भने हप्तौदिनसम्म जनजीवन ठप्प हुने प्रसस्त ठाउँहरु छन् अमेरिकामा । हिउँ नपर्ने हुँदा ह्युस्टनले थप मोहनी लगाएको छ मलाई ।
यो चिसोसँगै भित्रिएको छ अमेरिकाको प्रमुख चाड क्रिसमस । केहि दिन मात्र बाँकि छ अब । महिनौ अघिदेखि सिंगारिएको घर , अफिस र बजार देखेर आकर्षित नहुने को होला ? जताततै क्रिसमस ट्री र रङ्गीचङ्गी बत्तीले सुसज्जित अमेरिका हेर्न लायकको छ यतिखेर । अमेरिकनहरुको मन रोमांचित भएको हुनुपर्छ जस्तो हामीलाई दशैंमा नौरथा लाग्दा हुन्छ । जिसस क्राइस्टको यस धर्तीमा जन्म भएको दिन डिसेम्बर पच्चीसलाइ ईसाई धर्मालम्विहरुले क्रिसमसकोरुपमा मनाउदै आएका छन् । धार्मिक परम्परा अनुसार चर्चमा गएर प्राथना गर्नु र आफ्ना परिवारहरुसँग मिठो परिकार अनि उपहार आदान प्रदानमा रमाउनु क्रिसमसको महत्वपुर्ण पाटो हो । डिसेम्बरको महिना व्यापार व्यवसायकोलागि पनि अब्बल महिना हो अमेरिकामा ।
मन भने यसो मौका पायो कि उतै बुर्कुसि मारिहाल्छ । यहाँको हरेक बस्तुलाई देशसंग तुलना गरेर हेर्छ । अमेरिकीहरुले मनाई रहेको यो उत्सव र खुशियालीमा पनि मन चाहि साँघुरो भएर खुम्चिन्छ । यहाँको आधुनिक भौतिक सुख सुबिधावीच देशवासीले भोगि रहेको अभावहरुले अट्टहास गर्दै जिस्काइ रहेझैं लाग्छ । अमेरिकीहरुको खुशी र देशको संतापवीच म र म जस्ता प्रवासी नेपालीहरुलाई सजिलो र खुशी कहाँ छ र ! हो विश्वभरका प्रवासी नेपालीहरुलाई देशको पीडाले पोलेको छ । झन भोग्नेको पीडा के होला !
उध्योग कलकारखाना ठप्प हुँदा धेरैको रोजगारी गुमेको छ । दिनहुँ ज्यालादारिको भरमा जीवन गुजारा गर्नेहरुको अबस्था बन्द हड़ताले काहालि लाग्दो छ । आवेग र कुण्ठाले मानवीय सम्वेदना कति हदसम्म झर्दो रहेछ – जिउँदै मानिस जलाइनु , औषधिले भरिएको एम्बुलेंसमा आगो लगाउनु र जानकी मन्दिर तोड़फोड़ गरिनु उदारण मात्र हुन् ।
जति नै टाढा भएपनि देशको खबरबाट वेखबर भएर बस्न नसकिने रहेछ । कान्तिपुर टेलिभिजनको समाचार दिनहुँ हेर्छु । समाचारले बोल्ने नेपालीका पीडा मुटु हत्केलामा राखेर हेर्नुपर्ने अबस्था छ । हथौडा भएर सविधान टाउको माथि बज्रेला भनेर कसले चिताएको थियो र ! संविधान लागु भएपछि दिपावली गर्दै फुरुक्क परेका नेपालीको मनोदशा बर्णन गरेर साध्य छैन । सागभात खाएर शान्तसंग बाँकि जीवन नेपालमै काटौला भन्ने हामी बुढाबुढीको सपना पनि देशको थप बिग्रदो स्थितिले तुहाएको छ ।
एकातिर ह्युस्टनको हुस्सुमा रमाउदै गर्दा अर्कोतिर शीत ओढ़न बाध्य पिडीतहरुको पिडाले छटपटिएको छ मन । के तराई , के पहाड , के हिमाल नेपालमा सबैतिर हुस्सुले ढाकेको होला अहिले । जाडोलाई पिठ्यूँमा बोकेर आउने हुस्सुले भन्दा पनि तराई आन्दोलनको हुस्सु , नाकावन्दीको हुस्सु र भूकम्पको हुस्सुको मारले कठ्याग्रिएका छन् नेपाली । दिग्दारी र सधैंको अन्यौलले नेपालीको तनमनमा लागेको हुस्सु र कुइरो माथि पारिलो घाम कहिले लाग्ला ??
-ह्युस्टन , टेक्सास
(स्रोत : Himalayakhabar.com )