कविता : अखबारमा एकाबिहानै

~साम्ब ढकाल~Samba Dhakal

चराहरूको चिरबिर कलरव कोलाजले

घरकरेसा नसजिँदै

आँगनको धुलोमाथि लुरे हक्करले

ताजा अखबार फ्यात्त हुत्याउँछ।

अखबारमा त छिरोलिएका आँसु ओभाएकै रहेनछ

अखबारमा त आततायीले बगाएको आलो रगत सुकेकै रहेनछ

अखबारका अक्षरका कापकापमा हतास र हतप्रभ मौका कुरी बसेकोबस्यै छ

अखबारमा नितान्त पीडाम्मे क्षणहरू बग्रेल्ती देखिन्छ।

ठूलाठूला पानाभरिका कालाकाला अक्षरले मान्छेका तमाम सेता कुराहरू निलेको छ

फोटोग्राफीका क्याप्सनमा आँतै बाउँडिने दृश्यांस पटकपटक दोहोरिन्छ

अखबारका कुनाकानी सबै विवेकहीन समाचारका हरफले टनाटन छ

निरस वाक्य र पदावलीहरूका लर्कनले अखबारलाई नै दिङमिङ् बनाउँछ।

नपढ्दा अखबार धेरै कुराले पछाडि बनाउँदो रहेछ यसरी-

बढीभन्दा बढी खरानी घसेका नयाँ जोगीका अख्खड प्रलाप

माइकल ज्याक्सनको अन्त्येष्टिको भावविह्वल समापन

ओखतीमुलो नपाएर लासको क्याराभानमा हिँडिरहेका जाजरकोटेका मार्मिक यात्रा

भर्खरै एसएलसी सकेर मन विमूढ बनाइरहेकी छोरीले

छान्न नसकिरहेका कलेजको आकर्षक विज्ञापन

नृशंस हत्याका शृङ्खलामाथि शृङ्खला

र झण्डै छुटेको शेयरको पछिल्लो सूची।

अखबारमा खाँदिएका शब्दातीत विन्यासले नपढाउन खोजिरहेछ अखबार अब

सम्प्रेषणहीन भएर पल्टेका पानाबाट कत्तिखेर आँखा हटाऊँ लाग्छ

सर्वत्याज्य शासकको कुटील मुस्कानले न्यौछाबर प्रथम पृष्ठदेखि नै

झन् अखबार हुत्याऊँहुत्याऊँ लागेर आउँछ ।

खै आज किन किन अखबारले

एकाबिहानैदेखि वितृष्णा फैलाइरहेछ।

साम्ब ढकाल/हेटौंडा
samba.dhakal@ntc.net.np

(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क १ – जनवरी 1, 2010)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.