कविता : लोक गान

~लोककवि बिरुबाबु~

जान्नेभन्दा तान्ने मान्छे
बढ्न गए यहाँ धेरै धेरै
छाडापनले घर जमाउँदा
साँढा बढ्न गए धेरै धेरै ।

न भूतकालको ज्ञान छ यस्तालाई
न छ भविष्यको चिन्ता
पात पातमा नाची केवल
बोल्छन् बनेर फिरन्ता ।

कारण बुझ्नेहरु भन्दा
नबुझ्नेहरु यहाँ भए धेरै धेरै
केवल असहमति मात्र जनाउँछन्
वचनबद्धता यिनमा छैन
मर्का अर्कालाई परोस् जस्तै
परवाह कत्ति गरिन्न ।

आफैं जान्ने आफैं सुन्ने
यहाँ भए मान्छे धेरै धेरै
विदेश रिझाउने स्वदेश भसाउने
यिनको चाला देखिन्छ ।

ढाँटी, छली या जे गरेर होस्
झिट्न र लुट्न सके हुन्छ
मान्नेलाई अमान्य सम्झने
मान्छे यहाँ भए धेरै धेरै ।

कसरी पाउलान् यस्ताले पार ?
होला कसरी जन उद्धार ?
चटक रचेझैँ गरेर नांगिई
कसरी सुध्रेला जग व्यवहार ?
लुट रक्सौटमा तन्मय बन्ने
यहाँ भए धेरै धेरै ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.