~दिपा एवाई राई~
अन्धकार रातमा
माधुर्य छर्ने जुन झै
दिनको प्रतिनिधित्वमा
उदाउने सूर्य झै
कलाका
सृजनाका
मायाका आँखाहरुमा
म खोजि रहेछु
एउटा आँखा
जसले देख्नेछ
बुझ्नेछ
र परिभाषा गर्ने छ मलाई
जो म यहाँ
सदियौदेखि
मानवबिच हराई रहेकी छु
किन देख्दैनन् कसैले मलाई ?
अनगिन्ती ……..
प्रिय सुन्दर आँखाहरु माज
म आफू आफैलाई खोजी रहेछु
सुन्य……….सुन्य..
बिल्कुल सुन्य
बरु जिज्ञासका आँखाहरु
उभिएर पर्खाल बनेका छन्
त्यसैले स्वयम्भुको निश्छल र शान्त आँखासँग
भन्न मन लाग्दैछ
मायादेवी हुँ म, मायादेवी
तिमीलाई जन्माउने
एउटी आमा
पुन: म प्रत्येक आमाहरुको
आँखामा खोज्छु आफैलाई
आँसुका सागर सुकेर
मोतीविन्दु लागेका
आमाहरुका आँखा
अगेनाका बाक्ला धुवाले टालीएका छन्
लाटीएका आमाहरुबिच
म उभिरहन्छु
देख्दैन त कसैले ?
“आमा !” (म बोल्छु, बोलाउछु)
प्रतिउत्तरमा
दह्रो पहेलो दाताका पंक्तीहरुसँग
गनाउने श्वासका ढकार आउँछन्
यस बेला भएको छु
एउटा साईलोप्स म
निरन्तर खोजी रहन्छु मेरो अस्तित्व
मेरी गोरी दिदीका
लेन्स लगाएका
सुन्दर ती आँखाहरुमा
स्टार क्लोनका सिरीज प्ले भईरहेछ
सोच्छु म गहिरो विचारले
अब कोलम्बसको पाईला पाईलामा
म अमेरीगो हिड्नु पर्छ
ती एउटा भाषाको
एउटै बोलाई
एउटै बुझाई
एउटै उद्देश्यहरुमा
अँह ! कति जाती हामी सबैलाई…..
भो चाहिन्दैन मलाई
दुई आँखा
तिमीले नै लैजाउला
महादेव !
झनै तेस्रो आँखा
मलाई के को लागी र ???
(स्रोत : Bagaicha)