हाजरा, कालो बुर्का ओढ्दिन। काँधसम्म छाँटेको स्टेप कट कपाल। गाजलु ठुला आँखा। त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि?”
‘हो, एकदम खुशी छु।’ यद्यपि, प्रष्ट हुन सकेकी छुइनँ, संतुष्टि र प्राप्ति के हो यो रातो राहदानी मेरा लागि? शरणार्थी बनेर बर्षौं बेघर बिताएका समयका प्रत्येक पीडाले मलाई यो स्थितिबोध दिइरहेको थियो कि, कहाँ र कसरी अटाउन सकिन्छ यो जीन्दगीलाई। आफैंसँग प्रतिप्रश्न गर्दैछु– एउटा सचेत ‘नागरिक’ र केवल, ‘मान्छे’ मात्रै भएर बाँचिदिनुले के साँच्चै नै गहन तथा ब्यापक अर्थ बोकेको हुन्छ?
‘मैले बुझिनँ हाजरा।’ उसलाई भनें।
हाजराले बुझाउन खोजी। संक्षिप्तमा भन्नुपर्दा, वर्तमान यो अवस्थासँग दाँजेर हेर्दा मेरो जीन्दगी सामान्य देखिरहेकी छौ निक! वास्तवमा, एक किसिमको भयंकर दुःस्वप्नबाट गुज्रिएर यो अवस्थासम्म आइपुगेको हुँ म।
लामो श्वासपश्चात् ऊ भन्दै गई………….
जलालबादका बासिन्दा थियौं हामी। राजधानी काबुलदेखि करिब १३० कि.मी. पूर्व। पाकिस्तानको दक्षिण सिमाना नजिकैको सुन्दर शहर। नब्बेको दशकको मध्यसमय। तालिवानहरुको विगविगी। राजधानी काबुलमाथि अतिक्रमण गर्नुअघि जलालबाद मुख्य नाका थियो तालिवानहरुको। राजनैतिक अस्थिरताको भयंकर द्वन्दमा कसरी विते मेरा किशोर दैनिकीहरु बताउन सक्दिन।
थाहा थिएन, के भइरहेको थियो। रातारात पाकिस्तानको भूमिमा हुन्थ्यौं कहिलेकाहिं हामीहरु।
मेरा अन्य धेरै आफन्तहरु पाकिस्तानस्थित शरणार्थीशिविर पहिल्यै गइसकेका थिए। आधारभूत अभावभन्दा पनि राजनैतिक अस्थिरताको चपेटभित्र भिषण संन्त्रासमा वितायौं। शुन्य शहर। बन्द विद्यालय। बन्द बजार। सबै बन्द। कर्फयु लागेका रातहरु। अस्थायी शिविरमा वितायौं। झरीमा वितायौं। उष्ण तापमा वितायौं। चिसोमा वितायौं। अनिंदो वितायौं। भोको वितायौं। गरिबी एवं अशिक्षामा वितायौं। महाशुन्यमा वितायौ।
थाहा छ! यस्तो परिस्थितिमा बाँच्नका लागि सिंगो मुलुक सोच्दैनन् मान्छेले। टेक्नका लागि सानो आँगन नै प्रिय हुँदोरहेछ। आफ्नो जीन्दगी पनि खुबै प्रिय लाग्दोरहेछ। आखिर, आत्महत्या गर्न पनि त आँट चाहियो। जीवनमोह पनि अनौंठो नै हुँदोरहेछ। वास्तवमा, बाँच्न तथा आत्महत्या दुवैका समान प्रतिभा चाहिंदोरहेछ। ममा त्यस्त्ाो खास प्रतिभा केहि नभए पनि कमसेकम बाँच्ने आँट गर्दैछु। फिस्स हाँसी हाजरा। पानीरंगको लिपग्लस उसको ओंठमा टल्कियो।
पूर्वी लण्डन। इसेक्सको यो सानो टाउन। हामी लञ्च ब्रेकमा छौं। हाजरा निक्कै खुशी देखिन्छे। हिजो बेलायती रातो राहदानी पाएको खुशीयालीमा लञ्चको भुक्तान उसैले गरी।
उसँगका कुराकानी मेरो कानमा दिनभर गुञ्जिरह्यो।
हाजरा सुनाउदै थिइ–
धेरै घुमाउरो र अप्ठ्यारो कुइनेटो काटेर यहाँसम्म आइपुग्दा मान्छेका स्वाभिमान तथा सिद्धान्तहरु सम्झौताको संघारमा आएर साँच्चै नै रनभुल्ल पर्दोरहेछ। त्यही अवस्थामा छु म। मान्छेले के सोच्छन्, त्यो सोच्न सक्दिन अहिले।
अचानक मलाई एउटा प्रसंगको संझना आइदियो।
“मैले पनि १० वर्ष विदेशमै विताएको थिएँ। नेपालमा छँदा कहिले पनि नरुचाएको गुन्द्रुकको झोल विदेशमा छँदा मिठो मान्दै खाएको अहिले पनि संझन्छु। सन् १९८४मा लण्डन घुमेको संझेको छु। High Gate Cemetery, British Museum, Big Ben-West Minister Charring Cross Station, BBC House and Natraj Restaurant in Warren Street, Greenwich Museum, Double Deck Red Bus, Buckingham Palace, Trafalgar Square, Madame Toussades, London Tube, Victoria Station, Boating in Thames अझ …Sea LinkÚ ship cruiser (English Channel) चढेर Ostende बाट Dover पुग्दाको रात, अध्यागमन विभागमा कुइरेले मेरो हरियो पासपोर्ट हेरेर मलाई आँखा तरेको अझै संझन्छु। विदेश बस्दाको तितो अनुभव मेरो। “के तिनिहरु अझै पनि त्यसरी नै आँखा र्तछन् नेपाली हरियो पासपोर्ट हातमा पर्दा?” त्यस्तो मुलुकमा कसरी नेपालीहरु आत्म–सम्मानपूर्वक बस्न सक्छन् त? ”
एउटा सिंगो याम वित्दैछ।
बेलायत बसाईको मेरो अवस्था कस्तो गुज्रन्दै छ भन्ने सर्न्दभमा नेपालमा बस्नुहुने मेरा एक परिपक्व मित्रले उक्त सवाल गर्नु भएको थियो। उक्त सवालको जवाफ मसँग छैन। अध्यागमन विभागमा कुइरेले हरियो पासपोर्ट हेरेर तर्ने आँखाको प्रसंगमा–हाजराजस्तै बेलायती रातो राहदानी निकाल्ने धेरै नेपालीहरु छन् यहाँ। रातो राहदानीको मोहभन्दा अनौंठो नियति! प्रायः उस्तै जवाफ पाएँ, ‘स्थानीय नागरिकसरह पाइने अन्य सुविधाहरु भन्दा पनि यात्रा गर्दा वैदेशिक अध्यागमनमा विभागमा ब्यहोर्नु पर्ने हरियो नेपाली पासपोर्टको तितो अनुभवबाट बच्न सकिन्छ।’
हामी भन्छौं– आत्मसम्मान प्रत्येक सचेत नागरिकले जहिं बसेर जुनसुकै अवस्थामा पनि बोकेका हुन्छन्। कसरी विश्लेषण गर्ने आत्मसम्मान तथा स्वाभिमानका परिभाषाहरुलाई? हाजरालाई सोधेकी थिएँ। संझिप्त उत्तर थियो–’आत्मसम्मान पनि मान्छेका भोगाइ तथा मानसिक परिप्रेक्ष्यको सापेक्षसँग तुलना गर्न बाध्य हुनुपर्दोरहेछ।’
हाजराको जस्तै समान पृष्ठभूमि। नेपालकै सर्न्दभमा, कैंयन छन् तत्कालिन माओवादी जनयुद्धको दुःस्वप्नबाट गुजि्रएकाहरु। उस्तै समान पींडा र अनुभव बोकेर विस्थापित भएका नेपाली नागरिकहरु। राहदानी त के जीन्दगीभर नागरिकता नदेखेका र नपाएकाहरु नेपाली नागरिकहरु छन् मुलुकमा। आफ्नै आँगनमा हाजराजस्तै बेघर भएकाहरु कति छन् कति। राहदानीका सवालभन्दा भोको पेटका र नांगो आङ्ग ढाक्ने सवाल उनीहरुको पहिलो प्राथमिकता हो।
समग्रमा सबैको प्रतिनिधी आवाज बोक्दिन।
मान्छेका मनस्थितिहरु जब विथोलिन्छ् नि! तिमी अनुमान गर्न सक्तिनौ–देशप्रेम के हो? यस्तो नहुँदो हो मेरो मुलुकको अवस्था यतिका जर्जर हुँदैन थियो होला। राजनीति गर्दिन। पोख्त नेता होइन। नत, मुलुकको संरचनाभित्र अटाउँछु। देशप्रेमका भावना तथा दर्शनका ब्याख्याहरुभन्दा बेगल यर्थातको यो धरातलमा आफैंलाई बढि माया गर्न थालेकी छु। सायद विद्रोही बन्दैछु। कहिलेकाहिं यो विद्रोहले पनि एकप्रकारको संतुष्टि दिंदोरहेछ। मान्छे हुनत, कहिले पुर्ण र संतुष्टि बन्न सक्दैन। या, संतुष्टि हुनुको खास अर्थ पनि नहोला। उसले कुरा टुंग्याई।
समर्थन या विरोध दुवै छैन।
वास्तवमा आफैं अन्योलमा छु म। सोध्न मन लागेको थियो, हाजरा, साँच्चै! बाध्यता हो कि, मोहमात्रै तिम्रोलागि यो रातो राहदानी? गरिब मुलुकको नागरिक हुनुको नियति हो सायद। बास्तवमा, विकशित मुलुकको बासिन्दा बन्न खोज्दैछे यो हाजरा पनि। अनुमान मेरेा। गलत पनि हुन सक्छु। यतिबेला हाजराको अनुहारका भावहरु नियाल्दैछु। आड पाएझैं सोधें– “के तिमी कुनै दिन आफ्नो मुलुक अफ्गानस्तान फर्किछौ?”
“संभवतः कहिले नफर्किन पनि सक्छु।”
‘सुनेकी थिएँ, पठानीहरु कट्टर हुन्छन् तर हाजरा, तिमी निर्दयी पनि रहिछौ।’ थप अर्को प्रश्न तेर्स्याएँ– आफ्नो मुलुकलाई के तिमी यतिविघ्न घृणा गर्न सक्छौ?
‘स्वभावैले स्वार्थी मान्छे। घृणा होइन। स्वार्थी बन्दैछु।’ आफ्नो मत दिई हाजराले।
भिन्न सोच। फरक अभिमत। अलग परिणाम। अनेकन प्रतिक्रिया। रातो राहदानीभित्रका सपना या, यर्थात्।
हाजरा, समयले क्रमशः तिम्रा विगतका घाउहरु भरिंदै जालान्। दुःस्वप्नबाट मुक्त भएर तिमी आफ्नो मुलुकलाई औधी प्रेम गर्न सुरु गरौली। र, कुनैदिन तिमी जलालबाद फर्किने छौ। प्रियजनहरुसँग तिम्रो पुर्नमिलन हुनेछ।
हाजरासँगका वार्तालापहरु टाइप गर्दैछु…………..
वैदेशिक अध्यागमन विभागमा हरियो पासपोर्टप्रतिको मानसिकता तथा आँखा तर्ने परिदृश्यहरु मेरो मष्तिष्कबाट ओझेल हुन सकेन।
हाजराले भनेजस्तै राजनीति गर्दिन। पोख्त नेता होइन। नत, मुलुकको मुल संरचनाभित्र अटाउँछु। तैपनि, मुलुकको अस्थिर अवस्था, राजनैतिक कारण अथवा नेतालाई सत्तेसराप गर्नुभन्दा ‘नेपाली हरियो पासपोर्ट देख्दा हेयदृष्टि राख्ने वैदेशिक अध्यागमन विभागका कर्मचारीहरुका नजर तथा मानसिक हेपाहा प्रवृतिउपर परिवर्तन आउनसक्ने अवस्था कहिले र कसरी सिर्जना गर्न सकिएला?’ एउटा प्रश्न त्रिशंकु बनेर झुण्डियो–’प्रत्येक भुक्तभोगी स्वाभिमानी नेपाली नागरिकका अंतरहृदयभित्र पनि के उस्तै चिंतन नहोला त?’
लारा/लण्डन,बेलायत
April 17th, 2010
(स्रोत : Mysansar)