कविता : नातावादको अङ्कगणित !

~शिरिष पराजुली~Shirish Parajuli

सर नमस्ते !
‘नमस्ते’ भन्दा नै सर मबाट टाढिए,
मैले आफैंलाई सुघें–
कतै किर्तिपुरले मलाई दुर्घगन्धित त बनाएन
तर हैन म भित्र महङ्गो पर्फ्युम बास्ना छ ।
सोचें, सर मबाट किन टाढिए ?
अनि मनमा नानाथरी अङ्कगणित खेल्छ ।

म जन्मनु अगावै प्रजातन्त्रले खुट्टा तन्काएछ
तर म अझै प्रजातन्त्रलाई ट्रस्ट गर्दिन,
नातावाद, कृपावाद र अन्यवाद–
देशको मुटुमा रहेको त्रिवी बिरामी छ,
सिकिस्तै भएको छ,
नातावादको भाइरसले त्रिवी भित्रको स्नायूप्रणालीमा डेरा जमाएको देख्दा
आमाले दिनुभएको अघि बढ्ने आषिस
र काठमाडौंको घनिभूता गुमाए मैले ।

ए सर सुन्नुस् यार–
त्यो नातावादको चस्मा खोल्नुस् न, प्लिज
नातावादको चस्माले सरले मलाई देख्नुहुन्न
म मौन किन बस्ने ??
मौनताले पोहोर हानीगरिसक्यो !
अब भूत भन्दा भविष्य संग डर लाग्छ
मलाई अहिले भविष्यले सताउँछ
सर, सुन्नुस् न मेरो भविष्यको अङ्कगणित मिलाएर मलाई पनि आफ्नै मान्छे ठान्नु न !

घरबाट महिनाको जम्मा ५ लिटर तेल आउँछ
यार, अब त्रिवीमा कसरी खपत गर्ने ??
सर, म गरीबको छोरो
मलाई पनि नातावादको माला लगाइदिनुस् न
सर नाक खुम्चाएर टाढिंदाँ,
मेरो मन खुम्चिन्छ ।
म निराश कोठामा फर्कन्छु–
किताबका अङ्कगणित छरपस्ट
छरपस्ट किताबमा नातावादको गन्ध
सहन सक्तिन नातावादको ओशिलो गन्ध ।

साला त्रिवी घण्टाघर किन मौन छ ??
त्यो त यि सबै नातावादको प्रत्यक्षदर्शी हो
तर घण्टाघरको आफ्नै व्यथा छ,
घण्टाघरको अङ्कगणित त्यही
नातावादको लालपूर्जा बोक्ने टाउकेले
मेरो अङ्कगणित बिगार्नु पूर्व बिगारेका ।
घण्टाघर मौन छ, निर्जीव छ–
म सजीव तर नातावादले कन्क्रिट बनायो !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.