~ध्रुव रिजाल~
खैरो छानोबाट उछिट्टिएका
पहेला बाछिटाहरूको संग्रह पिएर
उसले आफ्नो प्यास मेटायो
उस्को तृप्ती भित्र
खडेरिले खण्डहर बनेका
पहेला गहुँका बोटले पाएको
शीत तृप्तीको प्रतिविम्ब विम्वित हुन्छ
गरिविको चित्र कोर्ने एक चित्रकारले
उसको प्रतिविम्बलाई असभ्य देख्छ
हो उ एक सिँगाने केटो
अगेनोको छेउमा लडिरहेकी
अर्धचेतन युक्त आमाबाट पाउने
जीवन्त मातृ वात्सल्यता
उस्ले प्राप्त गरेको एकमात्र सौभाग्य हो
सिँगानेकि आमा सँग
सिँगानेको सिँगान लुकाउने टालो छैन
उनी पहेलो सिँगान भित्र
सिँगानेको जीवनका रंग खोजिरहन्छिन
रंगिन बनेको खैरो भोटो
रंगिन बनेको खैरो छानो
रंगिन बनेको उनको खैरो गुन्यु
अनि
रंगिन जीवनभित्रको व्यस्त वुहार्तन
आहा……………………
सिँगानेले भएभरको बल लगाएर
स्वाक्क गर्यो
सिँगान माथि सारेर
एउटा नुनिलो घुट्को
घुटुक्क निल्यो
उसको सिँगान विलिन भयो
सिँगानेकी आमाका रंगिन सपना विलिन भए
अनि छर्लङ्ग देखियो
उहीँ खैरो भोटो
खैरो छानो
खैरो गुन्यु
अनि अवगत भयो
त्यो तारा झ्यान झ्यान घरको मोहले
उनकि कल्पित बुहारी भित्रिन्न
घिस्रियर डुल्दै मागेको एक कनरि घोगाले
सिँगानेको भोटो फेरिन्न
टालिएको छानो भित्रको पकेसामा
चुहिएको पानी थाप्ने
ताउलिहरू पनि चुहिने छन्
जस्ले भित्ताको ओभानो जोगाउन सक्दैनन्
सिँगाने तिनै चिसा भित्ता हेर्दै टोलाउछ
सिँगानेकि आमा
सिँगानेको झर्न नसकेको
त्यहि सिँगान हेरेर टोलाउछिन
सिँगान भित्रको सपनाको पुनरावृत्ति
संभावनाहीन भैसकेको छ
यध्यपि उनको प्रयत्न अनवरत छ
असंभावना भित्र पनि संभावना देख्ने
महान आमा
सिँगानेकी आमा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )