~मेघ बस्नेत~
जहाँ प्रेमलापमा व्यस्त हुन्छन् सूर्यकिरण र हिमात्रामा चुली
अनि पारी हिमालबाट गिज्ज्याउछन् गुराँस राता निला फुली।।
जहाँ मध्यरातमा चन्द्रमा र विशाल धर्तीको क्रीडा
अनि अती प्रसन्न भई वृक्ष बजाउँछन् माधुरी विणा।।
जहाँ पहाडका कुना कन्दरबाट गुञ्जिन्छ कोइलीको बोली
अनि बैँसको तालमा मन खुलाएर बग्दछिन् सेती खोली।।
जहाँ कस्तुरी बीनाको सुगन्धले संसार मग्मगाएको हुन्छ
अनि रङ्गीविरङ्गी मयुरको ताण्डवले प्रकृति जमाएको हुन्छ।।
जहाँ सीता र बुद्धका निर्मल पाइलाले पावन भएको छ भूमि
अनि मादल र मुजुराको सुरिलो तालमा नाच्दछन् मारूनी।।
जहाँ सुन्दर माछापुच्छ्रे देखेर सल्बलाउछ फेवा ताल
अन्तिम सास रहेसम्म भल्दिन मेरो प्राणप्रिय नेपाल।।
***
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )