~शिव प्रकाश~
अभिशाप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस् तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ,
त्यो मान्छेभन्दा महान छस्
गुनी छस्
ईमानी छस्
विष्टा खान्छस् त के भयो ?
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहीन छ
तेरो तुलनामा तुलनाहीन छ
ईश्वरको अनुपम रचना
मान्छे !
निक्रिष्ट छ
मान्छे, मान्छेजस्तो छैन
मान्छे, तँजस्तो पनि हुन सक्दैन
तँ, मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
अनुदारता ईश्वरको तँमाथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही ईश्वरको दया तँमाथि
धन्य तँ,
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे,
मान्छेजस्तो छैन
तँजस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
विवेकहीनता ईश्वरको तँमाथि
गोरु !
बुद्धिहीनतको विशेषण
तेरो विशेषता
त्यही ईश्वरको अनुपम कृपा तँमाथि
धन्य तँ,
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छेजस्तो पनि छैन
तँजस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !
Friday, June 13th, 2008
(स्रोत : Nepal.hk)