~रवि प्राञ्जल~
थुप्रै आवाजहरू कोठाभित्र छरिएका छन्
म टिप्न सक्दिन यी आवाजहरूलाई
लौन कोहि आई टिपिदेऊ यी आवाजहरू
म आवाजभित्र बोल्नै नसक्ने भइसकेको छु
मेरो भित्रको आवाज हराइसकेको छ ।
दिन बदलिसकेको छ रुन्चे साँझ बनेर
साँझ पनि अब ढल्नेछ रातको गहिराइमा
लौन कोहि रोकिदेऊ यी रातका गहिराइहरू
म तारा झरेको हेरिरहन नसक्ने भइसकेको छु
मेरो सहनुको आभास हराइसकेको छ ।
पहाड जस्तै उभेको छु चीर व्यथा खपेर
चिसो कुहिरोको बादलले मलाइ ढाकिसकेको छ
म त्यो अनन्त आकाशभित्र रम्न चाहन्छु
लौन कोहि खोजिदेऊ मेरो छेकिएको आकाशलाई
म हिउँ झैँ जमेर बस्न नसक्ने भइसकेको छु
मेरो सिङ्गो आकाश हराइसकेको छ ।
-रवि प्राञ्जल,
काठमाडौँ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)