~प्रमिला पाण्डे~
वेदनाले तड्पेर रुँदा उनकै काखमा आँसु पुछेको छु,
मनको बगैचामा गुराँस फुल्दा उसैसँगै साटेको छु
लाखौंको भीडमा आफूलाई एक्लै भेट्दा मित्रताको हात उसैले बढाएको हुन्छ । गुलाब टिप्न लाग्दा काँडाहरुले पारेको रक्ताम्मे शरीरमा मलम लाउने पनि उही, संसारले बिरानो ठान्दा आफ्नो केवल कविता हरपल साथ दिएको छ दुःखमा, सुखमा कसरी बिर्सिन सक्छु र उसलाई । हे ईश्वर, उसलाई बिर्सेको पल मृत्यु दिनू मलाई ।
यसरी आफ्नो मनको बह पोख्छन् कवि सजनकुमार ‘र पो आत्मा रुँदैछ’ एक उत्तरआधुनिक शब्दाञ्जलीमा । रोबर्ट फस्टले भनेका छन् ‘जब मानिसभित्रको भावुकता विचार बन्दछ र विचार शब्दमा परिवर्तन हुन्छ, त्यही विचार नै कविता बन्दछ’ यसरी कविले आफूभित्रको भावुकतालाई शब्दमा उतारेर धेरै विषयवस्तुलाई समेट्दै विशेष ढंगले सजाएर एउटा नयाँ संग्रह दिने जमर्को गरेका छन् । यस शब्दाञ्जलीभित्र दुई दर्जन कविताहरु अटेका छन् ।
यी कविताहरु सातवटा खण्डमा विभक्त छन् । ‘म र कविता’ ‘म र मेरो देश’, ‘म र भ्रान्ति’, ‘म र गुरु’, ‘म र प्रेम’, ‘म र म’ र ‘म र आत्मा’ । हरेक कविताले पाठकको मनमा एक नयाँपनको आभास गराउँदछ । यस शब्दाञ्जलीमा कविलाई एक रिक्तताको महसुस भैरहन्छ भने कतै कतै कविताले उक्त रिक्ततामा केही पूर्णता गरेको छ । त्यसैले होला कविताको आगमनमा खुसीको किरण पोख्दै कवि भन्छन्
अब म तिम्रो सहारामा बाँच्न सक्छु
जीवनका हर पीडा तिमीसँगै काट्न सक्छु
हारेको जीवन फेरि जित्न सक्छु
हरेक समय कवितालाई आफ्नो शाश्वत मान्दै जीवनका चुनौतीहरुसँग जुध्दै कवितामा नै रम्न चाहने कवि यस शब्दाञ्जलीमा एउटै धारमा मात्र हिँडेर आफ्नो मनको बह पोखेका छैनन् । उनले यस शब्दाञ्जलीमा गुरु, प्रेम, आत्मा, बाबाआमाको ममता देखी देशको कुनाकन्दरामा समेत हाम फाल्न भ्याएका छन् ।
अहिलेको नेपालको स्थितिलाई हुबहु चित्रण गरेर प्रधानमन्त्रीलाई चिीमार्फत नेपालआमाको सन्ततिले गरेको अगाध स्नेहको आत्मबोध गराउँदै, नेपाल आमाको क्रन्दन, चित्कार सुन्न र आमाको प्रसव पीडा खेर जान नदिन अनुरोध गर्दै उनी भन्छन्– तिमीले चाल्ने हरेक पाइलामा मूर्छित आमालाई पुनर्जीवित गराउने प्रतिज्ञा होस्, तिमीले उच्चारण गर्ने हरेक वाक्यमा तराई, पहाड अनि हिमाल ब्यूँझाउने उद्घोस होस् अहिलेको विभिन्न जातजाति, भाषाभाषी र धर्मबीच दिनानुदिन बढ्दै गएको असहिष्णुतामा समानता बोध गराउन समेत नचुकेका उनी ‘इसा अल्लाह’ शीर्षकमा हिन्दु र मुस्लिमबीच एक सहिष्णुता कायम राख्ने प्रयास गर्दै राम रहिम, ईश्वर अल्लाह एकै हुन् भन्दछन् । ‘मलाई गर्भ देऊ’ शिर्षकमा सृजनात्मक सम्भोगको नयाँ दर्शन, नयाँ पद्धतिबाट जीवनको पहिलो अनि अन्तिम गर्भको इच्छा गर्दछन् ।
पश्चिमी मूल्य र मान्यताको पछि लाग्दै आफ्नो संस्कृति निलिसकेको परीवेशमा गुरु र शिष्यबीचको सम्बन्ध पैसामा तौलने परम्पराको विकास भइरहँदा उनी गुरुमा नै आफ्नो सर्वस्व लुटाउँदै लेख्छन्– बुबामुमाले सृष्टि मात्रै गरे मेरा जिउने कला तिमीबाटै सिकेँ । यो संसारमा रम्न अनि रमाउन तिमीले सिकायौ ।
हे गुरु, तिमीबाट निर्मित म आज तिमीमै समर्पित हुन चाहन्छु । आफ्नो गुरुमा मात्र हैन प्रेममा पनि निकै भावुक बनेका कवि प्रेम लुकाएर लुकाउन नसकिने अमूल्य खजना हो भन्छन् र विवाहमा तनको हैन मनको मिलन हुन जरुरी छ भन्दै प्रेममा तगारो बनिने घर परिवारलाई यसरी व्यंग गरेका छन् । तसर्थ प्रेम होइन, विवाह हुनुपर्छ जसमा अधिकभन्दा अधिक दाइजो प्रवाह हुनुपर्छ । दुई मनको होइन, तनको संवाद हुनुपर्छ । यसका निर्णायक घरपरिवार हुनुपर्छ ।
हरिवंश बच्चनको मधुशाला, टेगोरको गीताञ्जली जस्तै आफूले शब्दाञ्जली बनाएको घोषणा समेत गर्छन् कवि । आफ्नो मातृस्नेहबाट वञ्चित हुनुपरेको पललाई कविले अत्यन्तै मार्मिक र हृदयस्पर्शी शब्दमा पोखेर पाठकलाई पूरै भावुक बनाएका छन् ।
उनको कविता पढ्दै जाँदा उनी होइन, उनको आत्मा बोलेको पाइन्छ । भूमिकामा डा. गोविन्दराज भट्टराईले भनेजस्तै यो एउटा दार्शनिकहरुको आह्वान हो अनि स्वयंको सूक्ष्म प्रतिछाया पनि ।
जब पाठक कविताको रसपानमा मनमुग्ध हुँदै जान्छन्, अन्तिम पृष्ठमा पुग्दा यस्तो लाग्छ यो कुनै कवितासंग्रह नभई एउटा उपन्यास हो, जहाँ एउटा ‘म’ भन्ने पात्रको जन्म हुन्छ जुन पात्रले जीवनको उतारचढावमा अनेक किसिमका दुःख हन्डर खाँदै एउटा जीवन तय गर्छ जहाँ उसलाई थाहै नभई कवित्वले अँगाल्छ जुन शब्दजालमा उ अल्मलिन पुग्दछ बिस्तारै देशको चिन्ता बढ्न थाल्छ र शान्तिको खोजीमा निस्कन्छ । जहाँ धर्मधर्मबीच लडाइँ हुन्छ र उसले सृजनात्मक गर्भको इच्छा गर्छ ।
अन्तमा मातापिताको स्नेहबाट वञ्चित हुँदा गुरुमा आफूलाई समर्पण गर्दै आफ्नो रोएको आत्माको क्रन्दन सुनाउँदै अब फेरि नरुवाउने र नयाँ जिन्दगी नयाँ उमङ्ग साथ आउने वाचा गर्दै उनी बिदा लिन्छन् र पो आत्मा रुदैँछ एक उत्तरआधुनिक शब्दाञ्जलीमा ।
(स्रोत : श्री रुपरेखा)