~राकेश कार्की~
सगरमाथाको टोपी थाम्न सकिन
दौरा सुरूवालभित्र अटाउन सकिन
बुद्वको दृष्टिले हेर्न सकिन
मादलको भाका बुझ्न सकिन
ढुङ्गेधाराको चिसो पानीले पनि
मन भित्रको तीर्खा मेट्न सकिन
शितल चौतारीमा मायालुसँग
गाँसेको मायाप्रीति सँगाल्न सकिन
बामे सर्दै लडीबुडी खेलेको
आमाको काख भुलिसकेँ
सुख दुखमा होष्टे हैँसे गर्ने
गाउँका साथी बिर्सी सकेँ
ती अतीत भए सारा अतीत
केवल म मात्र छु वर्तमान
मेरो बोली अर्कै मेरो घर अर्कै
केवल म मात्र मेरो पहिचान
धेरै सोचेँ धेरै विचार गरेँ
एक्लै आफ्नो हस्तरेखा पढेँ
आज आफैलाई थाहा छैन
म स्वर्गमा चढेँ या स्वर्गबाट झरेँ ।।
(स्रोत : Ratopati)