कविता : जस्तै-जस्तै

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

सोचाईहरुको समस्थलीमा उभिएर
अन्दाज गर्दा उस्तै-उस्तै
जीवनको गहिराईमा डुबेर
वास्तविकतालाई छाम्दा
त्यस्तै-त्यस्तै
अब भिन्नता के भनौँ
समान मान्छे भएर जिउदाका क्षणहरु
एउटै आकास सबैले ओढे जस्तै-जस्तै
समयको चाल्नोबाट भाग्यवस
छानिएर बाँच्दा
आसाहरु बाँधिन्छन धेरै
जहाँ रङ्गिने सपनाको दुनिया
झन् हुन्छ उस्तै-उस्तै
र व्यवधानको सागरभरि मडारिने ज्वाराभाटा
त्यो पनि हुन्छ त्यस्तै-त्यस्तै
अपवादमा यो मन मुस्कुराउदा
लाग्छ मलाई सारा मुस्कुराए जस्तै-जस्तै

परिस्थितिवस वर्वादिएका पलहरु
अतीत बनेर भोग्नुपर्ने पीडाहरु
हुन्छन त्यस्तै-त्यस्तै
आफ्नाआफ्नै स्वाद हुन सक्ला
अनुभूतिहरुमा
तर दोहोरिएर आउने दिनहरु
हुन्छन सधैको जस्तै-जस्तै

नदीको प्रवाहसँग चालेका पाइलाहरु
यात्रामा अघिपछि भए पनि
हिँड्ने गोरेटोहरु हुन्छन् उस्तै-उस्तै
गाउवस्ती सहर जहाँ रहे पनि
प्रत्येकले व्यहोर्नु पर्ने अड्चनहरु
हुन्छन त्यस्तै-त्यस्तै
अन्तराल नै के छ भनौँ
मैले जिएको जिन्दगी
तिमीले भोगे जस्तै-जस्तै ।

*****

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.