~सुधीर ख्वबि~
(जीवनको यात्रामा)
गर्भबाट संसार चियाउँदा
आँकुरा कोमल र अबोध
अनि कपास जस्तै हलुका हुन्छ।
(आमाले )
त्यो कपासलाई
कैयन रात परेली खोलेरै
बाटेर धागो काट्छिन् ।
ममताको तानमा
मन बुनिबुनिकन
कपडा तयार पार्छिन्।
आल्हादित स्नेहले
मालिस गरिकन , हुर्काउँछिन्
खुशिका रंगले रंगाउँछिन्।
(बाबाले)
चिसोले सताउलान् कि
गर्मीले पोल्लान् कि
बत्तासले तर्साउलान् कि भनेर
अभेध्य किल्ला बनेर
छातीको दुर्ग भित्र लुकाई
काँध चढाई सुगठित बनाउँछ।
(त्यो आँकुरा)
अब फूल बनिसकेको छ
र यन्त्र बन्न तयार छ
आफ्नै नौलो संसारमा ।
स्नेह देखावती देख्दो हो
वास्ता व्यर्थ लाग्दो हो
जन्मको नाता बोझ ठान्दो हो ।
तर पनि आमाबाहरु
स्नेहिल र न्यानो छ अझै
कपास जस्तै नरम सदा झैं
(समयले )
बनाई दिए कसिङर
आफ्नाको आँखामा
र ठाने कपासलाई बोझ ।
उड्छन् चरा बनी नाघेर पाखा पर्वत
हराउँछन् सिमा काटेर कता कता
मुक्त थानी कपासको बोझबाट।
(स्रोत :कर्णाली संचार)