~सिर्जना वि.क.~
प्यारो हिमाल
कस्तेा छ तिमीलाई?
मत ज्यूँदै मरेतुल्य भएर
बाँचेरहेकी छु !
तिमीले थाहा पाएकै हौला
मेरो छाती दुखिरहेछ,
मेरा बारहरू ढलिरहेका छन्
मैले गरिखाने बारी खोसिएको छ,
मेरो झुक्दै नझुक्ने शिर
लाजले रातोपिरो भएको छ
वीर पूर्खाको सन्तान भन्न
हृदय आज खुलेको छैन !
म जान्दछु हिमाल,
तिमीलाई र मलाई छुट्टाउने
खबरले तिमी पनि
कम्ती दुःखी छैनौं !
हाम्रो मिलनको अभिन्न अंग
पहाडलाई पनि हामीबाट
अलग्याउने रे !
तिम्रो अञ्जुलीको चिसो पानीले
मैले हरेक पटक तिर्खा मेट्ने गर्छु
मसँग त एक अन्जुली पानी पनि छैन !
हाम्रो प्यारो साथी,
अझ मेरो त प्राण नै हो पहाड
त्यसैको प्राणवायुले म बाँचेकी छु !
तिम्रो भोक मेटाउन त सकेकी छैन
तर तिम्रो जीवन धान्नको लागि
पठाउने कोशेलीहरू पनि अब मैले
पठाउन पाउदिन रे !
थाहा छैन, थाहा छैन हिमाल
मेरै शिरमा मुस्कुराउने
गुराँस अब
कहाँ मुस्कुराउने छ?
मेरा छातीमा नाँच्ने मयुर
अब फेरि नाँच्न पाउँछ या पाउँदैन?
मेरा सन्तान मेरै अंशवन्डा
लगाउन खोज्दैछन्
कोही हात मात्र
कोही शिर मात्र र कोही पाउ मात्र
अंगअंग अलगअलग मागिरहेछन् !
मैले थाहा पाएकी छु
तिमी कहाँ पनि यस्तै भा छ रे !
एउटै बगानका सयथरी फूलहरूलाई
छुट्टाछुट्टै ठाउँ चाहियो रे !
एउटै प्रजातिका फूलहरू मात्र
सँगै बस्ने भन्छन्
अब त आँखाबाट पानीको आँशु
सिद्धिएर रगतको आँशु बग्न थालेको छ !
तिम्रो शिरको स्वस्थ निर्मल र पवित्र जल
तिम्रो आँखाबाट बग्ने
खुशी र दुःखको आँशु
मेरो छातीले ग्रहण गर्ने अधिकार
अब हुने छैन रे !
तर हिमाल,
आशाका किरण भने ममा अझै मरेको छैन
किनकि,
हामीलाई अलग्याउनु हुँदैन भनेर
संघर्ष गर्नेहरू पनि छन्।
उ हेर– उनीहरूको संख्या
दिनप्रतिदिन बढिरहेछ !
हाम्रो अजम्बरी नातालाई टुट्न नदिन
आफ्नो प्राणको आहुति दिन पनि
तम्तयार छन् उनीहरू !
उनीहरूको अभियान र संघर्ष
सफल बनोस र हाम्रो एकता
अझ बलियो होस्
यही कामना सहित विदा !
उही तिम्रो तराई
–नवलपरासी
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३२ – २०६७ आषाढ १६ गते, बुधबार)