~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
तिमी र म मिल्यौं भने
एउटा भ्रम अवश्य हुन्छ
तर त्यो,
आकाश र धरती मिलेजस्तो
अनन्त र अमर अवश्य हुँदैन
हामी क्षणिक छौं
जवानी मैं हो यस्तो भ्रम रच्ने
जवानी मैं हो प्रेममा फस्ने
बुढ्यौलिसम्म
क्षितिजजस्तो भ्रम रहन सक्छ
बाँचिएछ भने
लौरो टेकेर सगैं
उक्लौंला टुट्न लागेका
भ्रमका दिनहरु
थोत्रो गाडीजस्तो
ठाडो उकालोमा
ति दिनहरु
धेरै लामा हुनेछन्
धरती वा आकाश
कुनै एक रहेन भने
बेरिनुपर्छ एक्लै-एक्लै
आँशुको धागोमा
हामीले रचेको क्षितिज शायद, त्यहिनेर
जल्छ आगोमा टौवाजस्तो
घाम क्षितिजबाटै निस्कन्छ
क्षितिजमै डुब्छ
क्षितिज नै नरहेपछी
दिन/रात एउटै भएर
अभिषप्त ऐठनहरुले
टोकिरहनेछन्
बुढो शरीरलाई
झिंगाहरुले झैं ।
(स्रोत : Inepal.Org)