~कन्हैया नासनानी~
चारा खोजेर खुवाउँदा–खुवाउँदा हैरान भइसकेको माउ चीलले आफ्नो बचरोलाई भन्यो, ‘बाबु, तिमी हुर्किसकेका छौ । जवान पनि भइसकेका छौ । अब आफ्नो आहाराका लागि आपैंm कोसिस गर्नुपर्नेछ । याद राख, हामी सिकारी चरा हौं । सिकारबिना हाम्रो पेट भर्दैन । तिमी आकाशमा उड । उचाइबाट धेरै देख्नेछौ । देख्ने मात्र होइन, सिक्ने पनि छौ । आकाश चराहरूको पाठशाला हो । आ, बरु होस गर । हिजोआजको आकाश पहिले–पहिलेको जस्तो सुरक्षित छैन । उडिरहेको जहाजमा ठोकिएला । पखेँटा हुने र आकाशमा उड्ने सबै चरा हुँदैनन् भन्ने बुझ । तिम्रा बा जहाजमा ठोकिएरै त मरेका थिए नि । एक्लै तिमीलाई हुर्काउन मलाई कम गार्हो भएको थिएन ।’
‘ठीक छ, तर पेटभरि खाएर उड्न पाए मजा आउँथ्यो । अहिले त मलाई भोक लागेको छ,’ जवान चीलले भन्यो । ‘भोक ज्ञानको हुनुपर्छ, खानेकुराको होइन । लौ उडिहाल, खन्चुवा तिमी १ विलम्ब नगर । ठुङ् मार्छु नत्र तिमीलाई म ।’ अझ ठूलो स्वरले माउ चीलले भन्यो । माउ चीलले चाहेजस्तै नउडी सुख नपाइने देखेर जवान चील उड्यो । उड्दा–उड्दै त्यसले भन्न बिर्सेन, ‘म फर्केर आउँदा तपाईंले मलाई मिठो भोजन तयार पारेर राखेको हुनुपर्छ ।’
जवान चील उड्यो । त्यसले माथि उडेको पहिलोपटक थियो । उड्ने अभ्यासमा खोलाको वारिदेखि पारिसम्म, रूखको एउटा हाँगोदेखि पर रूखको अर्को हाँगोसम्म, आफ्नो गुँड भएको पर्वतको चट्टानदेखि अर्को पर्वतको चट्टानसम्म मात्र उडेको थियो । निकै रमाइलो लाग्यो उड्दा । कावा खाँदै माथि, झन् माथि, अझ माथि उडेर चक्कर लगाउन थाल्यो । मनमनै भन्यो–‘आकाशको सिमाना हँुदैन रहेछ ।’शरद याम थियो । आकाश सफा र निर्मल थियो । जवान चीलले विभिन्न जातका अरू पनि धेरै चराहरू आनन्द मान्दै उडिरहेको देख्यो । जमिनमा नदेखेका थरीथरीका चराहरू उडिरहेको देख्यो । मनमनै भन्यो, ‘जमिन जसको भए पनि आकाश सबैको साझा रहेछ ।’
बेरसम्म उडेपछि अचानक जवान चीलको आँखा केही पर उडिरहेको नीलो रंगको एउटा चारपाटे आकृतिमाथि पर्यो । आकृति कहिले माथि उचाइ लिने, कहिले तल डुबुल्की मार्ने, कहिले दायाँ हान्ने, कहिले बायाँ हान्ने गर्दै उडिरहेको थियो । जवान चीललाईआकृतिसँग कुरा गर्न मन लाग्यो । नजिकै पुगेर त्यसले सोध्यो, ‘म चील हुँ । तिमी कुन जातका चरा हौ ?’
झिरझिर हाँस्दै आकृतिले भन्यो, ‘म चरा होइन, म चंगा हुँ ।’ ‘आकाशमा चराहरू मात्र होइन, केही अरू पनि उड्दा रहेछन् ।’ तरुनो चीलले मनमनै भन्यो । त्यसलाई चंगाको बारेमा केही जान्न मन लाग्यो । त्यसले सोध्यो, ‘तिमी निकै सुखी देखिन्छौ । तिम्रो बास कहाँ हो ?’जहिलेजस्तै हाँसेर चंगाले भन्यो, ‘सबैले आफूलाई भन्दा अरूलाई सुखी देख्छन् । आ, मेरो बासअघिसम्म लट्टाईमा थियो । अब कहाँ हुने हो, ठेगान छैन । म तिमीले सोचेको जस्तो सुखी छैन । म आफै उड्न सक्तिनँ । अरू सबै चंगालाई जस्तै मलाई पनि मान्छेले उडाउनुपर्छ । मलाई तिनीहरूको इसारामा उड्नुपर्छ । उड्नु मात्र होइन भिड्नु पनि पर्छ । यो एकैछिन्पछि तिमीले देख्नेछौ ।’
‘म त तिमीसँग कुनै हतियार देख्दिनँ । केले भिड्छौ तिमी ?’ जवान चीलले सोध्यो । ‘धागो नै मेरो हतियार हो । झन् मेरो धागोमा त माझा हालेको छ ।’ यसो भन्दाभन्दै नीलो रंगको त्यो चंगा हड्बडाएको जस्तो, उत्तेजित भएको जस्तो देखियो । जवान चीलको आँखा अकस्मात् त्यो चंगानजिकै भएर उडिरहेको रातो रंगको एउटा अर्को चंगामाथि पर्यो । त्यसले हेर्दा–हेर्दै दुइटा चंगाको भिडन्त भयो । नीलो चंगा चेट् भयो । धागो चँुडिएकोले ढुन्मुनिँदै उडेको त्यो पर एउटा रूखको हाँगोमा पुगेर अल्झियो । जवान चीलले मनमनै भन्यो, ‘मान्छेले अरूलाई भिडाएर आनन्द लिने रहेछ ।’
अरू केही बेर उडेपछि जवान चीललाई थकाइ लाग्यो । त्यो फर्कने तरखर गर्दै थियो, अचानक त्यसको आँखा एउटा बाजमाथि पर्यो । केही पर चार–पाँचवटा सेता परेवा उडिरहेका थिए । हानिएर नजिकै पुगी बाजले एउटा परेवालाई गाँज्यो । छिटो उडेर परको जंगलतिर उडिरहेको त्यसलाई मुस्किलले भेट्टाएर जवान चीलले भन्यो, ‘बाज दाइ १ मलाई असाध्यै भोक लागेको छ । एक चोक्टा मासु मलाई पनि दिनुहुन्छ कि ? म तपाईंसँगै आउँछु ।’
‘चील भाइ, मैले आफ्नो सिकार अरूलाई दिने गरेको छैन १ त्यसैले तिमी मसँग आउनु बेकार छ । तिमी आफ्नो आहाराको लागि आपैंm प्रयास किन गर्दैनौ ?’ बाजले भन्यो र हुइँकियो । जवान चीलले मनमनै भन्यो, ‘अब भने मैले राम्ररी थाहा पाएँ– आफ्नो आहारा अरूले होइन, आपैंmले जुटाउनु पर्दो रहेछ ।’ जवान चील थाकेर लखतरान भइसकेको थियो । भोक त त्यसलाई उड्नुअघि नै लागिसकेको थियो । त्यसलाई देख्नुपर्ने र सिक्नुपर्ने बाँकी केही नभएको जस्तो लाग्यो । त्यो आफ्नो गुँडमा फक्र्यो । माउ चील त्यसलाई पर्खिरहेको थियो । जवान चीललाई एकछिन थकाइ मार्न दिएपछि त्यसले सोध्यो , ‘बाबु, भन त, तिमीले केके देख्यौ र केके सिक्यौ ?’
जवान चीलले आफूले आकाशमा अघि देखेका र मनमनै भनेका सबै एक–एक गरी बतायो । माउ चीलले सोध्यो, ‘मैले बुझें, तिमीले धेरै देखिसकेका रहेछौ र धेरै सिकिसकेका पनि रहेछौ । तर के तिमीले आकाशको उचाइबाट आफ्ना तिखा आँखाले जमिनमा चरिरहेका कुखुराका चल्लाहरू, खेतमा दौडिरहेका मुसाहरू, जंगल नजिकैका मैदानमा उफ्रिरहेका खरायोका बच्चाहरू देखेका थियौ ?’ माउ चीलको प्रश्नबाट अक्मकिएको जवान चीलले भन्यो, ‘अहा १ त्यतातिर त मेरो आँखै गएन ।’
माउ चीलले भन्यो, ‘उसो भए तिमीले देख्नैपर्ने केही देखेका रहेनछौ र सिक्नैपर्ने पनि केही सिकेका रहेनछौ । तिमी परीक्षामा नराम्रोसँग फेल भयौ । अब तिमीले एकचोटि फेरि उड्नुपर्ने भयो ।’
प्रकाशित: मंसिर २७, २०७२
(स्रोत : कान्तिपुर – कोपिला)