~इन्द्र नारथुङ्गे~
सरकार !
जाबो एउटा पाल
र,
दुई छाक चामलको लागि
बल्झाएर पीडाहरु
खोतलेर खाटा बस्दै गरेको घाउ
उभिएर ठिङ्ग लाइनमा
लाउदै न्याउरो अनुहार
क्यामेराको क्लिकसँग साट्दै
भुइँचालोपछिको उदाशी
थाप्नु अपमान र निराशा
भो आउदिन म
राहत वितरण केन्द्रमा ।
सायद यो विपत्ति
महाविपत्ति हो अरुको नजरमा
परन्तु, पुस्तौँदेखि
राज्यबाट जब्बरजस्ती लादिएका अप्राकृतिक
योभन्दा कयौँ ठूला विपत्तिहरु खेपेर
बाँच्दै आएको म “कोकोम्हेँदो”
भुँइचालोको धक्काहरुले
भत्काए पनि घर
खोसे पनि आफन्त
लुटिएको छैन माटो अझै
हराएको छैन बाटो अझै
म यही माटोमा–
उभ्याउन सक्छु आफ्नो आस्था
यही बाटोमा–
हिँडाउन सक्छु विश्वास
कि, कमिशनको कसीमा घोटिएर
दुब्लाएको त्यो पालभन्दा
मेरै बाँसको भाटा बन्धिलो छ
उचाल्दा–पछार्दा
चढाउदा–झार्दा
चेप्ट्याउदा–नेप्ट्याउदा
सातो हराएको त्यो चामलभन्दा
मेरै धाराको पानी बढी पोसिलो छ ।
हो सरकार,
यो वर्षा अगावै
ठड्याउनु छ एउटा छाप्रो
कटाउनु छ बलेँसी र भल
बनाउनु छ भत्केका गह्रा
पुर्नु छ खाल्डाहरु
र,
उमारेर बियाडेमा सुन्दर सपना
गाड्नु छ हिलोमा रोपो
यी मेरा काम
म आफै गर्न सक्छु
त्यसैले,
यो चटारो छोडेर
बित्थैमा दिन बिताउन
आउदिन राहतको नाममा
अर्को आहात थाप्न ।
सरकार !
यदि दिने नै हो भने
मेरो पूर्खाले गुमाएको सान र पहिचान
फर्काइ दिनुस् नयाँ संविधानमा
र,
त्यसपछि
म आफै बनाउला
मेरो ताम्सालिङ
जतिसुकै ठूलो भूइँचालोले पनि
ध्वस्त नहुने मेरो छाती जस्तै
कहिल्यै नओइलाउने मेरै “कोकोम्हेँदो” जस्तै ।
शब्दार्थ : कोकोम्हेँदो : टोटोलाको फूल, जुन फूललाई तामाङ समुदायमा अति पवित्र र महत्त्वपूर्ण वस्तुको रुपमा प्रयोग गरिन्छ ।
(स्रोत : Pancha Vismrit’s Blog)