~विजय योजीत~
थियो यै अनौठो र फेरी हुँदैछ
यहाँ रात बित्दा अँधेरी हुँदैछ ।
तँ भित्रै तलाऊ छ भन्छन परेली
त्यहीं जल्छ छाती खडेरी हुँदैछ ।
कहाँसम्म भागौँ म संसार जित्न
यहाँ पाउ छेक्ने मझेरी हुँदैछ ।
छ सम्बन्ध यस्तो खुशीसंग मेरो
सधैं घाउ मनको मितेरी हुँदैछ ।
म आजाद बन्दा हुँ कैदी कसैको
सदर फैसला यो नहेरी हुँदैछ ।
बहर : मुतकारिब मुसम्मन सालिम
रूक्न : फऊलुन् × चार
छन्द : भुजङ्गप्रयात
गण : यमाता × चार
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)