~मेघ बस्नेत~
प्रकोपले उदासिन उसको मन
सायद गुँड पनि भत्कियो होला अनि
पोलेको होला मुटु धिक्कार्दै त्यो जीवन।
गुँड सार्ने तयारीमा जुटेकी छे चरी
जति उजाड उसको वन देख्छे
उति रून थाल्छे बेसरी।
बिचरा चरो छोड्न मान्दैन घर
भन्छ मलाई नै कुरीरहेछ त्यो पिपल र वर।
एक्लै चरी नौ डाँडा गुडेर गई
अनि सात समुद्र पारी उडेर गई।
अस्थिपञ्जर भएको वन छोडेर गई
बिना लक्ष्यको जीवन त्यागी
सुनौलो भविष्यतिरको बाटो मोडेर गई।
याद त उसलाई खूब आउनेछ
त्यो घर अनि त्यो एक्लो चराको
सधै उसकै घर अगाडि खेल्ने पुतली र भमराको।
एक दिन त पक्कै फर्केर अाउने छे ऊ
चरो सोच्दछ -“अनि नयाँ गुँड बनाउने छौँ।
आँशु होस् या हाँसो होस्
आफ्नै प्यारो माटोमा खन्याउने छौँ।”
***
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )