~राजेन्द्र प्रसाद लामिछाने~
आफ्नो अस्तित्वलाई
पैतलामुनी दबाएर
बराजुहरूको निमेकमा
ढुनमुनिँदै परान फेरिरहेको
हाम्रो उज्यालो गाउँ।
‘तिमीले केही गर्न सक्छौ’ भनेर
न कसैले भने
‘हामीले केही गर्न सक्छौं’ भनेर
न हामीहरूले नै सोच्यौं
केवल नतमस्तक हुँदै
समयका प्रवाहसँगै
पहराको छेउ-छेउ बगिरह्यो
हाम्रो उज्यालो गाउँ।
समयको मार खाँदाखाँदै
झस्किएर ब्युँझिदाको अर्धस्वप्न जस्तै
पत्याई नपत्याई
आफूले आफैलाई ब्यङ्ग्य गर्दै
किनारा भेट्न खोज्दैछ
हाम्रो उज्योलो गाउँ।
इतिहासको कहाली लाग्दो रातमा
क्षितीजको आँगनमा तेर्सिएको
कालो पहाडको कापबाट फुत्किएको
दियालोको राप ताप्दैछ
हाम्रो उज्यालो गाउँ।
‘भो अब सुत्नु सुत्यौ’ भन्दै
हातमा हात
र, काँधमा काँध मिलाउँदैछन्
बाल, बृद्ध बनिता
सबैको स्वर एउटै हुँदैछ
र त काँचुली फेर्दैछ
हाम्रो उज्यालो गाउँ।
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क ३, मार्च २०१०)