~कुसुम खवास~
दुःख आइपर्दा सुख सम्झी
दिन कटाउँदो रहेछ मान्छेले
सुख आइपर्दा दुःख बिर्सी
प्छिको ख्याल गर्दो रहेनछ
मान्छेले ।
यसै कारण नै
दिन पछि रात
आउने गरेको हो, भन्छन् यहाँ ।
उज्ज्वलतापछि अन्धकारले
यो कुरा सम्झाउने गरेको
मान्छन् यहाँ ।
साँचो कुरा गरौँ त
दुःखको आधारमा नै दुःखले
महत्व पाउने गरेको देखिन्छ
यसै हुनाले नै सधैं
दिनले रातलाई निम्त्याउँछ ।
यो देख्दा हामीलाई
रात र दिनको क्रम
सुखदुःखको परिचायक जस्तो लाग्छ
जीवन र जगतको गतिविधिलाई
स्थितिले स्पष्ट्याएको झैँ लाग्छ ।
यो तथ्यलाई गढेर
बुझ्नैपर्दोरहेछ मान्छेले ।
(स्रोत : श्री रुपरेखा)