~रेशम बि.सी.~
ए आमाको देह लुछनेहरु
उनैको रगतमा
हुल्लि खेल्ने ब्वासाहरु
लुछ शरिरका अंग प्रत्येड्ड लुछ
प्रत्येक रेशा लुछ
आमालाई थिलो थिलो पार
संघीयताको नसामा
चुर्लुम्म डुबेर
ती राता,सेता
अनि काला बुटहरुले
छातीमाथि परेड खेल
आमाको चित्कारमा
खित्का छोडी हाँस्नेहरु
खुबै हाँस तिम्रो
हाँस्ने दिन यही हो
लुछ आउ मासु आमाको
ए दानवका सन्तानहरु हो
मृत्यु सैयामा प्राण पखेरु
उडीसकेकी आमाको
जसरी अबोध बालकले थाहै नपाई
अमृत रस नझर्दा पनि
चुसी रहन्छ त्यसरी नै
आमाका झाम्टा परेका
ती लाम्टाहरु तिमी दानवहरुले
चुस खुबै चुस
टुक्रा टुक्रा पारी चुस
जब म हर्लक्क बढ्ने छु
मेरो प्रत्येक नसामा
रगत सल्बलाउन थाल्ने छ
तब थाहा पाउने छौ
ब्वासाहरुले
मुटु टुक्रिदा बाधा
कस्तो हुन्छ भनेर
चित्कार भित्रको बेदना
दुख्दो रहेछ भनेर
दाङ , देउखुरी
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २४ – २०६८ बैशाख २० गते, बुधबार)