कथा : बिद्रोही आत्मा

~महेन्द्र महक~Mahendra Mahak

……..त्यसपछि उनीहरूले मेरी आमाको लाश घिसार्दै यहाँ ल्याए । जहाँ पहिलादेखि नै तीन फिटको खाडल तयार थियो । गर्भाशयभित्र मैले अर्धचेत अवस्थामा अनुभूति गरिरहेँ–घिस्रिरहेको । अनि म पर्खिरहेँ गर्भाशयमा– कहिलै नजन्मिनका निम्ति ……..। तर, आज इतिहासको अदालतमा यी शब्दहरूलाई साक्षी बनाएर न्यायको पक्षमा वकालत गर्न पठाउँदैछु ……।

न्यायधीशहरूले मेरा साँक्षीहरूको वयान सुन्नैपर्नेछ । यदि न्याय दिइयो भने, सोच्ने छु,– न्याय जीवित रहेछ, दिइएन भने विश्वस्त हुनेछु–मेरी आमाको लाशसँगै उनीहरूले न्यायलाई पनि तीन फिट खाल्डोमुनि गाडिसकेछन् ।

मेरो रचना गर्र्भाशयभित्र भयो । तर, रचनाक्रमको मैले केवल अनुमान गर्न सक्छु ।

– म युद्धको विर्यसेचन थिएँ ।

– म कालकोठरीभित्र बर्बताको उपज थिएँ ।

– म प्रेमको नासो थिएँ । तर, म विवाहित आमाको गर्भमा प्राकृतिक गर्भाधान भने थिइनँ । त्यसैले म विद्रोही आत्मा बनेँ…………। मैले जीवन अनुभूति गरेको थिएँ जब सम्पूर्ण गर्भाशय चिसिँदै थियो कि अचानक ठूलो प्रहार भयो । म सँगै गर्भाशयको भित्तामा भू–कम्प गयो । कोही चिच्यायो । मेरी आमा रोएको हुनुपर्दछ……।

भूकम्पमा मेरो जीवन पर्खिरहेको आत्मा चीर निद्रामा प¥यो अर्थात् मृत्यु अँगाल्न पुग्यो । तर, जब मैले स्वर्गको अदालतमा न्याय मागेँ तब त्यहाँबाट मलाई गलहत्याइयो । स्वर्गबाट गलहत्याइएपछि म पुनः गर्भाशयमा फर्किएँ……….। म अर्थात् विद्रोही आत्मा ।
म गर्भाशयमा ब्यूँझिएँ । एउटा नयाँ रूपमा, नयाँ प्रतिवद्धतासँगै–मेरो मृत्युको बदला मेरी आमाको हत्याको बदला–न्यायको खोजीसँगै । म प्रहारसँगै ब्यूँझिएको आत्मा हुँ । प्रहार…..हजार प्रहार…..भयानक प्रहार….। त्यो प्रहारले गर्भाशयका एक–एक कोष प्रकिम्पत भए । (गर्भाशयको कोष प्रकिम्पत हुँदा गर्भको बालक विद्रोही बन्छ ।) प्रकम्पित भएको म अकस्मात दिव्यदृष्टि युक्त भएँ र मैले आँखा उघारेर संसार चिहाएँ । संसार, दुःखको भयावह संसार । यातनाको दर्दनाक संसार ।

उसले वर्दी लगाएको उसलाई वर्दीधारी ‘क’ भन्न सक्छौं । मान्छेको रूपमा ऊ सैतान थियो । उसले लगातार मेरी आमाको कोख भकुरी रहेको थियो । आमा एकसासे भई बेहोस भएपछि उसले भकुर्न छोड्यो र आफूजस्तै वर्दीधारीलाई भन्यो–“बेहोस भई, साली आतंकारी…..। “व्यूँझिई भने मजा लुटेस् केटा….।”

यसपछि उसको नजर सर्वत्र दौडिए । सँगै नजर पनि प…..र…..प…..र सम्म पुगे । त्यहाँ थियो– एउटा गृह–यातना गृह । एउटा सभ्यता–हरेक पल कुरूप मृत्युको मुहारलाई म्वाई खाने सभ्यता । एउटा जीवन–मगजभित्र मृत्यु रोपिरहेको जीवन । मान्छेहरू–चण्डाल र जल्लाद समुदाय ।

वर्दीधारी ‘क’ ले किनारामा लुटपिएको युवतीको मुहारभरि पानी छ्याप्यो । (उसको मुहारभरि उर्वर मृत्युका स–साना दाना उम्रिए ।) उसले पीडामा कराउँदै जीवन बोध गरी । “नाई दाइ मलाई यस्तो नगर्नुहोस्–ममाथि यस्तो अत्याचार नगर्नुहोस् ।”

उसले स्वयंलाई एउटा सानो पोकामा बदलिई । मानसिक विक्षिप्तताले अँगालेपछि उसले सबै वर्दीधारीलाई यसरी सम्वोधन नै गर्थी र स्वयम्लाई पोको पार्थी वर्दीधारी ‘क’ ले उसका खुट्टामा समात्यो र उसलाई उफा¥यो । त्यसपछि उसलाई चिर्थोर्न थाल्यो । हिंस्रक बाघलेझैँ अनि उसलाई आफ्नो ठूलो शरीरमुनि किच्यो । चिच्याहठका स्वर विस्तारै बिलिन हुँदै गए……।

परको कुनामा वर्दीधारी ‘ख’ ले एकजना युवकलाई ड्रममा चोबल्दै थियो– साले आतंकारी ।

वर्दीधारी ‘ग’ र ‘घ’ ले कुर्सीमा लहरै बाँधेकाहरूका हातका नङमा पिन–किला ठोक्दै थिए । कसैले नङ उप्काउँदै थिए । (नङभित्र खुफिया दस्तावेज भेटिन सक्थे । वा नङभित्र कतै एम्बुसको व्यूह रचना हुन सक्थ्यो ।

–टक……टक…….।

–आमा…….आमा……..ऐयाँ…….मरँें… ।

–मलाई छोड्दे…….।

– म आतंकारी होइन……….।

वर्दीधारी ‘अ’ ले नयाँ आगन्तुकको आँखामा बाँधिएको कालोपट्टी खोल्दै थियो ।

–नयाँ आगन्तुकको नयाँ ग्रहमा प्रवेश……। (उसलाई यो ग्रह विचित्रको लागेको हुनुपर्छ । त्यसैले केहि पल सास रोकेर यस ग्रहका विचित्र मानवका चित्रविहिन क्रियाकलाप हेरिरह्यो ।)

आगन्तुक ‘अ’ आगन्तुक ‘ब’ लाई तर्सिएको रूवाँसी बोलीमा सोध्यो, “हामी कहाँ छांै ?” आगन्तुक ‘ब’ टोलाइरह्यो । (टोलाउनु अब उसको नियमित थियो ।) वर्दीधारी ‘अ’ गर्जियो– “यो भैरवनाथको ग्रह हो । यो जल्लादकहरूको राज्य हो । “यहाँको संविधान र ऐन कानुन तिम्रो ग्रहको भन्दा फरक छन् । संंविधान र ऐन कानूनका दफा र उपदफाको प्रयोगात्मक परिक्षणपछि तिमीहरू यो ग्रहबाट मुक्त हुनेछौ । उसले वर्दीधारी ‘आ’ लाई भन्यो–“सबैलाई कुर्सीमा बसाल् ।” उसले ठूलो आवाजमा भन्दै थियो–“ए केटा हो । नयाँ पाहुनाहरू आएका छन् । नयाँ तरिकाले उनीहरूको स्वागत गर…..।

त्यसपछि पुरूष आगन्तुकलाई कुर्सीमा हात बाँधेर पाता कसेर हाल खबर सोधनी सुरू भयो । (हाल खबर शोधनीको नयाँको यो विशिष्ट र मौलिक पहिचान र सभ्यता हुनुपर्छ ।) अनि महिला आगन्तुकलाई नङ्ग्याउने क्रम बढ्दै गयो । (नग्न देहमा गोप्य पात्रहरू खोपिएका हुन सक्थे । ती पात्रहरूलाई भाषान्तरण गर्नुपर्ने कानुनी प्रावधान रहेको थियो ।

–गुहार……….।

–पापी….थुइक्क…..मलाई यस्तो नगर्नुहोस्…….।

–समयलाई एकदिन तिमीहरूले पाई–पाईको हिसाब बुझाउनुपर्नेछ….।

विषाक्त आवाजहरूले चर्किएको ग्रहमा म गर्भभित्रको विद्रोही आत्मा अनायासै बेहोस भएछु ।

– टक…….टक……….टक……….। कसैको पढ्चापसँगै म व्यूँझिएँ ।

– वर्दीधारी ‘घ’ को प्रवेश । उसले हातमा कालो वस्तु समातेको थियो जसलाई उसले बारम्बार चुम्बन खोज्थ्यो ।

– वर्दीधारी ‘घ’ कालो वस्तु मुखनेर बनाएर बोल्यो– “सर, केटाहरूले अलि बढी नै स्वागत गरे जस्तो छ– कोही बोल्दैन !

– उताबाट आवाज आउँछ–“शिवपुरी लैजाउ त सबैलाई, एकजना पनि बाँकी नराख्नु ।”

– त्यसपछि वर्दीधारी ‘क’ ‘ख’ ‘ग” ‘अ’ र अरूहरूको पनि त्यहाँ प्रवेश हुन्छ । सबैले मूर्दाहरूलाई सुम्सुम्याउँछन् । (उनीहरूले केवल मुर्दाहरूलाई मात्र सुम्सुम्याउन सक्छन् । विचारलाई सुम्सुम्याउन सक्ने उनको हैसियत छैन ।)
कतै–कतै मृृत्यसँग बात मारिरहेको सुसेलीहरू सुनिन्छन् । पानी….पानी……।

“ए, केटा ! उसलाई पानी दे……। वर्दीधारी ‘क’ को आदेश । वर्दीधारी ‘अज्ञात’ ऊ छेउ जान्छ । एउटा जगको पानी त्यो प्यासाको मुहारभरि छ्याप्छ र उसको कपाल समातेर चिच्याउँछ–“पहिला तेरा साथीहरूको ठेगाना बता–तिमीहरूको नयाँ योजना के छ, त्यो बता नत्र भने मर्र्न तयार हो ।”

– “सर……म…….म……होइन, म त मजदुर…….पानी…….।” ऊ अर्धचेत भई ‘पानी’ माग्दै थियो । (पानी माँग्नु उसको नैर्सगीक अधिकार हो, जुन उसले लामो समयदेखि माग गर्दै आएको हो ।)

– वर्दीधारीले अज्ञातले खल्तीबाट ठूलो कैँची झिक्यो । प्यासो चिच्यायो………ग्रह चर्किएर फुट्लाझैँ भयो । “भन्–नत्र तेरा एकएक औँला यसरी नै काटिने छन् । (औलाहरूको माला उनेर शायद उसले माला लगाउन चाहन्थ्यो–फूलहरू जति सबै धरापमा ध्वस्त भइसकेपछि मालाका लागि आंैला राम्रो विकल्प थिए ।)

– प्यासो चिच्याइरह्यो…….. ऐया मा…… मरेँ……त्यसपछि उनीहरू मेरी आमाको लास घिसार्न थाले ।

– “क्या च्वाँक छे यार……यति राम्रीले त घरजम गर्नुपर्छ, केको देश यार…….।” घिसार्ने वर्दीधारी बोल्यो । प्यासको चिच्याहटबीच असङ्ख्य मूर्दाहरू घिस्रिदै थिए । उनीहरू–पत्रकार थिए, व्यापारी थिए, ज्ञात थिए, अज्ञात थिए, शिक्षक थिए, विद्यार्थी थिए, आमाहरू थिए, लेखक थिए, अधिकार माग्नेहरू थिए ।, तर अब केबल मूर्र्दाहरू थिए ।) घिसारिदै गरेका आतंककारी………….।

प्यासले चिच्याउन बन्द ग¥यो । ऊ बेहोसी भएको हुनुपर्छ । घिस्रिदै मूर्दाहरू खुला आकाशमुनि आए । पहिलो पटक मैले सूर्यको अनूभूति गरेँं । कालो अग्लो गाडीमा उनीहरूको मूर्दाहरू हुले । मेरी आमाको लाश अन्तिममा हुत्याइएर फाले–निर्जीव ढुङ्गा ।

एक भट्कासँगै गाडी हुइँकियो । गाडी सहर बीचबाट बेतोडले गुडिरहेको थियो, त्यतिबेला तपाईले,

– राममानको पसलमा चिया खाँदै हुनुहुन्थ्यो ।

– कलंकीको सडक किनारमा पत्रिकामा आँखा गाड्नुभएको थियो…….जना आतंककारी पक्राउ….जना आतंककारीको मृत्यु ।

– होटेल ड्रिमल्याण्डमा ड्रिम गर्लसँग ड्रिम गर्लका लागि शानदार कोठा बुक गर्दै हुनुहुन्थ्यो ।

– श्री ५ को देशवासीको नामको सन्देश सुन्दै हुनुहुन्थ्यो– “शान्ति, सु–व्यवस्था र प्रजातन्त्रका निम्ति…।”

– भिसा नआएको खबर घर पठाउँदै हुनुहुन्थ्यो ।

– राती कसैको घरमा चोरी गर्ने प्लानिङ गर्दै हुनुहुन्थ्यो ।

– तपाईको गाडीको टायर पञ्चड भएको थियो, टायर बनाउँदै हुनुहुन्थ्यो ।

– रामेछापकी सीतालाई पर्खेर सातदोबाटोमा चुरोट पिउँदै हुनुहुन्थ्यो ।

– तपाईले टि.भी.मा समाचार हेरिरहनुभएको थियो–श्री ५ द्वारा….जिल्लाका सर्वसाधारणसँग ‘भलाकुसारी’ ।

–तपाईले विद्रोहको योजना बनाउँदै हुनुहुन्थ्यो……।

अर्थात् तपाई केहि गरिरहनु भएको थियो । केहि गरिरहेकै कारणले मेरी आमासहित थुप्रै लासहरू बोकी हिँडेको गाडीलाई तपाईले ध्यान दिन सक्नु भएन । (सबै कुरामा ध्यान दिनैपर्ने जिम्मेवारी तपाईले बहन गर्नु भएकै छैन–त्यसैले तपाई यसमा निर्दोष हुनुहुन्छ ।) गाडी लगातार दौडिरह्यो । सहरलाई आफ्नो पछाडि धकेल्दै……जंगलतिर…..। गाडी अन्धकार जंगलभित्र हराएर खुला चौरमा पुग्यो । त्यहाँ केहि मान्छे पहिलादेखि नै थिए–खाडल खनिरहेको थिए– काठको चाङ मिलाइरहेका थिए । लासहरू सबै एकैपटक जमीनमा हुत्याइए ।

– कति त जिवित नै रहेछन्……….। पानी…..पानी……अँ…..मरे…..।

– “यिनी कराउनेहरूलाई ऊ पर लिएर शान्त पार त……। वर्दीधारी ‘क’ ले आदेश दियो ।

वर्दीधारी ‘क’ ‘ख’ र ‘ग’ ले पालो–पालो उनीहरूलाई घिसार्दै पर लगे ।डयाङ…….डयाङ……डयाङ…….फाइरिङको आवाज त्यसपछि ती खाडल खनिरहेकाहरूलाई वर्दीधारीले ‘घ’ आदेश दिँदै भन्यो– “अब भाग–भाग्न सक्छौ भने भाग !”

–उनीहरू जंगलभित्र जिन्दगी खोज्न दौडन्छन् ।डयाङ…….डयाङ……डयाङ…….फाइरिङसँगै उनीहरूले मृत्युलाई अँगाल्छन् ।

“यिनीहरू जेजति अट्छन् खाडलमा पुरे…..अरूलाई त्यो काठको थुप्रोमा होमेर आगो हाल…छिटो । वर्दीधारी ‘घ’ को आदेश थियो । अनि वर्दीधारीहरू खटाएको काममा खटिन्छन् । खाडलभित्र मूर्दाहरू खसालिन्छन््……..।

एक दुई तीन चार पाँच……….। काठमा पेट्रोल छर्किएर लाशहरू त्यसमाथि हु¥याइन्छ । अनि आगोको लप्काहरूले आकाशलाई चुम्छन् ।

म विद्रोही आत्मा एउटा खाडलनेर गर्भभित्रबाट नै यो सब हेरिरहेको थिएँ ।

म घिस्रिएँ…..मैले घिसारिएको अनुभूति गरेँं । हावामा नै झुण्डिएँ….।

मेरी आमाको लाश खाडलभित्र पसेपछि मलाई त्यहाँभित्र जान निषेध गरियो……।

मलाई अर्को आत्माले समातेको थियो । आत्मा ‘व’ ले भन्यो– “तिमी हामी त अब यो संसारबाट मुक्त भयौं । जाऊ यो संसार छोडेर जाऊ । यो संसार त हामीलाई मन परेन ।” आत्मा ‘इ’ ले भन्यो–“हामीमाथि अन्याय भयो । न्यायको खोजीमा जाऊ ।”

मैले आफ्नो वरिपरि असङ्ख्य आत्माहरू देखेँं । (उनीहरू भर्खरै मुक्त भएकाहरू थिए ।) आत्मा ‘च’ ले भन्यो–“स्वर्गको राज्यमा ।” म ईश्वरले आत्महत्या गरेको कुरा थाहा पाएनौ ?” आत्मा र–“त्यसो भए हामीहरू ईश्वरको मलामी भए पनि जानुपर्छ ।

म–“त जाँदिन ।

आत्मा व– किन म ?

म– यही संंसारमा न्याय माग्नु छ किनकी अन्याय पनि यही संसारमा भएको छ ।

आत्मा च – हामीसँग भएको अन्यायको बदला लिनु ।

आत्मा र– हामी संसार बदल्न तिमीसँग रहनेछौ ।

मैले उनीहरू सबैलाई न्याय मागिदिने बचन दिएँ । सबै आत्माहरू स्वर्गमा ईश्वरको मलामी जान भनि हिडँे । आत्माहरू स्वर्गतिर गएपछि वर्दीधारीहरूले रक्सी खाए । चौरमा तास खेले । वर्दीधारी ‘घ’ कालो वस्तुमा कराउँदै थियो–“आजको खबरमा भिडन्तमा थुप्रै आतंककारी मारिए भनि लेख्नु, छाप्नु, भन्नु । दन्केको ज्वाला र आकशबीच समागम भएपछि सबै शिथिल भए । (अघि आउनु पूर्व समुन्द्र शान्त हुन्छ ।)

राति अबेर वर्दीधारीहरू गाडीमा सवार भए र फर्किए र म एक्लै शिवपुरीको जंगलमा न्यायको खोजीमा भौतारिन थालँे । आजसम्म मैले न्याय र उसको न्यायालय भेटेको छैन ।

केहिदिन अघि यस ठाउँमा कोहि आएका थिए । काला वस्तुहरू भनेर जलेका वस्तु बोकेर लगे । म केवल चिच्याइरहेँ –यहाँ तीन फिटको खाडल खने । यहाँ यो सुसाइरहेको पिपललाई सोध । विरह रोइरहेकी कोइलीलाई सोध–सोध कि कसरी यहाँ मान्छेहरूले मृत्यु अँगाले ? कसरी मृत्यु अँगालेका मूर्दाहरूले माटोलाई म्वाँई खाएँ ? कसरी चौरको बीचमा उत्सव भयो ? “तर मेरो कसैले सुनेन ।

मलाई डर छ, “न्याय पनि त्यस दिन कतै तीन फिटको खाडलमा त पुरिएन वा ज्वालाग्निमा पो हराउन पुग्यो कि !

मलार्ई न्याय चाहियो । मैले हजारौं आत्माहरूलाई वचन दिएको छु–न्याय माँगिदिने ! के मलाई न्याय खोज्न सहयोग गर्नुहुन्छ ? तपाईको अदालतमा के मलाई न्याय दिलाउन सक्नुहुन्छ ? मलाई अर्थात् विद्रोही आत्मालाई ।

(स्रोत : Ganatantradaily)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.