कथा : मृग तृष्णा

~प्रकाश के.सी.~Prakash KC

यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै बहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति लिएर छातीबाट ‘बेलगाम’ अंगालोभरि फैलिएको थियो ।

किट्टी हाँस्दै आई, जून जस्तो उज्यालिएर अनि आँखाभरि धपक्क प्रीत फुलाएर । उही रक्सी तर लेबल नयाँझैं या उही लेबल तर मात नयाँझैं, प्रशस्तै नवानभुतिले चुर्लम्म डुब्यो समीर, मनसंगै अनि आलिङ्गन र अधरहरुको रहरपूर्ण घर्षणहरुसागै । प्रेम या यौवनका ज्वारभाटाहरुले ‘लथालिङ्ग’ पारेको मनस्थिति सम्हाल्दै, सम्हालिईदै, एकथुप्रो सुकेका पात-पतिङ्गरझैं दूरी, दुई हृदयहरुबीच राखेर, रोडभरि ओहोर-दोहोर गर्दै भरिएका वाहनहरु अनि वाहनभित्रका यात्रीहरुतिर पारदशी
नजरहरु तेसाइरहन्छ समीर किट्टीसंगै ।

वर्षौपछि भेटेको थियो उसले किट्टीलाई, तर यस्तो लाग्थ्यो, ती वर्षका समयहरु किट्टीलाई छुदै नछोईकन बितेछन् क्यारे ! ऊ उस्तै नै ‘फेश’ र ‘डिजाइरेबल’ देखिन्थिई, कम्तिमा यस्तै सोच्दैथियो समीर ।

दुबै हिँडिरहे धेरैबेर, हिँड्नलाई बाटो अगाडी जो लम्पसारिएको थियो । केही शिष्टता या कुनै अपरिहार्य वचनवद्धता वा अरु जे सुकै कारणले हो, किट्टी केही खुम्चिरहेकि थिई र एउटा दूरी कायम गर्दै थिई, जुन धेरै पलसम्म यथावत् नै रहेकोथियो ।

पछि, समीर, किट्टी र उसकी बहिनी (जो उसंगै तर पहिलो पटक हङकङ आएकी थिई) लाई लिएर स्टारफेरीको ‘स्टार एभेन्यू वाक्मा’ गयो । रातको अन्धकारमा झिल्मिलाईरहेको हङकङ, मन्द तथा केही चिसो हावाले, मनभित्र दबी नसकिएका प्रेमानुभूतिलाई उकेरा दिन थालेपछि, वर्षौं अघिको सारा उन्मादहरु अनियन्त्रित भई, हातहरुमा, ओंठहरुमा अनि पाइला-पाइलामा छरपस्टिन थाल्यो । यस्तै कमजोर पलहरुमा बहकिएर सायद, किट्टी बाराम्बार एउटै प्रश्न सोधिरहन्थिई-
Why, I couldn’t forget you ? (किन मैले तिमीलाई भुल्न सकिन?)’ तर, समीर हरेकपटक, यता-उता मात्र, वार्तालापमा सारेर, फोटो खिच्ने ठाँउ र पोजको व्याख्या गर्दै-देखाँउदै किट्टीको प्रश्नलाई छल्दथ्यो । आखिर उसले नै किन बोल्नपर्छ र ? जबकि यसको कारण स्वयं उसलाई पनि थाहै छ । प्रत्यक्षतः समीर, सागरको ‘झिलमिल-झिलमिल’ टल्किरहेको पानीमाथि तैरिईदै गरेका डुङ्गाहरु निरुद्ध भावले हेरिरह्यो ।

आउने वर्ष साँघाईको एउटा चाइनिजसंग विवाह गर्ने, जो किट्टीसंगै, भर्खरै आबाक् युनिभर्सिटी, बैंककबाट डिग्री लिएको र जसलाई किट्टीले, आफ\नो र समीरको बारेमा खुलस्त पारेकी जानकारी किट्टीले केहीबेरअघि दिएकि थिई । एउटा ठूलो ढुङ्गा मुटुमाथिबाट हटाईएको झैं हलुंगो महसुस गरेकोथियो समीरले । उसले सुरुमा नै प्रष्ट पारेको थियो कि त्यस सातदिन बाहेकको उनीहरुको जीवनमा एक-अर्को आवद्ध हुँदैन त्यस अर्थमा । किट्टी, त्यसैले त सेकेण्ड-सेकेण्डको दरले साथ-साथ बाँच्दै समय खर्चिरहेकि थिई त्यतिखेर ।

रातको धेरैपछि, समीरले उनीहरुलाई होटेलमा छोड्न गएको थियो । किट्टीकी बहिनीले उसलाई र दिदीलाई प्राइभेट टाइम दिनलाई उससंग गाला जोडेर ‘गुड बाई’ भनेर भित्र छिरेपछि, ऊ र किट्टी होटेलपछाडिको पार्कमा बस्न पुगेका थिए ।

समय रातको सुनसान ल्याउने भए पनि, हुङ्गहामको सडकबाट कारहरु चिप्लिरहेको आवाजले भने छोडेको थिएन, शून्यतालाई । समीरको कमिजको बटन लगाइदिनलाई उसको छातीमा पुगेका किट्टीका हातहरु, कतिखेर उसको गर्धनमा बेह्रिएछन्, कतिखेर किट्टी उसको कमिजमाथिको अर्को आवरण भई, समीरले जस्तो, थाहै पाएन, तर प्रत्यक्षतः अहिले उसका दुबै हात किट्टीका रेशमी केश सहलाउँदै थियो, मनभित्र कतै कुनामा दबेका सम्झनाहरु, रहर बनेर जो फैलिंदै थियो अनि मनहरु हतारिएर सक्दो समेट्दै थिए रहरका पदचापहरु ।

बेन्चमा ‘थचक्क’ बसेर किट्टी सुँक-सुँकाउदै थिई, सपनाका या कल्पनाका वायूपंखे घोडामा उडिरहेको उसको प्रणयशील रहरहरु, यथार्थताका साथ असम्भाव्यताका कोत्रे चट्टानमा ठोक्किएर सायद पछारियो होला उसको मस्तिष्कभरि र अप्राप्तिका दुःखाइहरु आँखाहरुबाट चुहाउँदै थिई ‘तप-तप’ त्यसैले ।

मनलाई कुनै कवचभित्र राख्न सके, सम्वेंदनहीन हुन सकिन्थ्यो होला । शरीरको, आखिर कहाँ र कुन भागमा बस्छ मन ? मन पक्कै पनि मुटु होइन, मुटु भएको भए, दुख्दा, चोट लाग्दा, ‘छताछुल्ल्’ भएर रगत पोखिनु पथयो । किन ‘तप्-तप्’ आँशुहरु आँखा भएर निस्कन्छन् ? किट्टी आँखाहरुबाट चुहिरहेकी थिई र समीरको मुटु कसैले जोडसँग मुठ्याएझैं ऊ छट्पट्टइिर्रहेको थियो । तैपनि चुप भई हेर्दै गयो…….के नै ‘आँशु-पुछाइ’ भयो र यदि उसले किट्टीको मनलाई ‘थप्-थपाउन’ सक्दैन भने । ऊ चुपचाप एकोहोरो, माथि, धेरैमाथि आकाशमा हेर्न थाल्यो, जून शान्तसंग बादलको घुम्टोभित्र र बाहिर गर्दैथियो, जसरी, आजभन्दा तीनवर्षअघि, पतया -थाइ-ल्याण्ड) को एउटा होटेलको प्राङ्गण अगाडिको सिढीमाथिको आकाशमा गरेकोथियो यस्तै, बादल भित्र र बाहिर पूर्णाकार चन्द्रमा त्यतिखेर, उसको र किट्टीको साथमा ।

सेतो सर्ट र कालो ‘लाग मिडी’ लगाएकी, उज्यालो अनुहारमा, अस्त-व्यस्त झुलेर करिव-करिव छोप्न खोजेको रेशमी केशलाई पछाडि लगेर, कानमा सिँउरिदै, सिढीमा बसेर चुरोटको लामो धूँवा तानेर माथि आकाशतिर फालिरहेको समीरलाई निहुरेर हेर्दै किट्टीले सोधेकी थिई-
‘What are you looking at like that ? (के हेरिरहेको नी त्यसरी ?)’

उसको चुरोटको धूँवा, तुँवालोझैं किट्टीको उज्यालो अनुहार अगाडी सुस्तसँग फैलिरहेको थियो, माथि आकाशमा बादलको पातलो लहर भित्र र बाहिर गर्दैथियो जून ।

‘At the Moons.-(जूनहरुलाई हेरिरहेको ।)’

‘Moons ? (जूनहरु?)’

‘Yeah….one by my side other up there at sky! (हो, एउटा मेरो साथको अनि अर्कोमाथि आकाशको)’

त्यसपछि किट्टीले समीरलाई अगांलेर त्यसरी नै सुँक-सुँकाएकी थिई । त्यसबेला, ऊ आश्चर्यमा परेकोथियो कि कहाँ, कता गल्ती बोल्यो ? केही छिनपछि उबाट हट्दै, आँशु पुछ्दै किट्टीले भनेकी थिई-

‘That was loveliest and sweetest compliment that I have ever got. Thank you. (त्यो मैले पाएकोमा प्यारो र मीठो प्रंशासा थियो) । धन्यवाद)

धेरै नै भावुक थिई किट्टी, सायद औसतभन्दा ज्यादा ! समीर चुपचाप आकाशमा नियालिरह्यो, अतीतका यादहरु लाम लागेर छाउन थाले मानसपटलमा । किट्टी सुँकसुँकाउन छाडेर केही शान्त भई समीरको हात आफ\नो हातमा राखेर मुसार्न थाली भने आँखाहरुले उसको सारा शरीर सुम्सुम्याउन थाली । धेरैबेर त्यसरी नै रहेपछि, अन्त्यमा छुट्टीने बेला, समीरलाई झुकाएर उसको निधारमा चुमेपछि गम्भीरतासाथ भनी-

…There’s a long way ahead in our life, who knows, where, when and how, we will meet again? If we happened to meet again somewhere, you can treat me as before…..as your girl. I promise, I will be very happy if that happened. No matter in what conditions! (हाम्रो अगाडि जीवन धेरै लामो छ । के थाहा, फेरि कहाँ कहिले अनि कसरी भेटिनेछौं ? यदि फेरि कहीँ भेटियौं भने, तिमी पहिलेकै जस्तो व्यवहार गर्न सक्छौ प्रेमिका सम्झेर । म प्रतिज्ञा गर्छु, म धेरै खुसी हुनेछु यदि त्यस्तो भए, चाहे जस्तोसकै परिस्थितिमा पनि ।)’

यथार्थमा समीर एक्लै घर लाग्यो र किट्टी होटेलभित्र । दिदी-बहिनी एकाबिहानैको टे्रनबाट बेइजिङ्ग जाँदैछन् । समीर ‘बोझिलो’ मन लिएर मनसागै शरीरलाई घिसार्दै हिाड्दैगयो, स्मृतिहरु तितर-बितर भएर उसको सम्झनाको फाँटभरि फैलिएको थियो र ऊ विगतस्पृह केलाउँदैगयो । स्मृतिका पानाहरुका गर्तमा धमिलिई नसकिएका, अथाह परिमाणका सम्झनाहरु, जो जिवन्त रहरहरुको, मुटु नजिकैको साइनो गाँसिएका प्राप्तिहरु र अमूर्त विवशताहरुको एउटा छुट्टै अध्याय बनेर रहेको थियो, जसले कहिले चोट दिन्थ्यो र फेरि सुम्सुम्याउँथ्यो, मिठासपर्ण मलहम लगाएर ।

ती दिनहरु अनि रातहरु, जो हप्ताभित्र नै साँगुरिएका थिए, तर जसका भोगाइहरु, जीवनभरिको एकमुस्ट भोगाइहरुको झैँ सम्मिलित रुप थियो । कतैबाट पनि, आ-आˆनो क्षमताभित्रको परिसरबाट हुने र पुग्नेसम्मको भोगाइका क्षण र त्यसका मिठासबाट चुक्न नपरेका प्राप्तिका लेखाजोखा, यदि मनले पढ्न भए, धेरै-धेरै पलहरु प्नि कमै लाग्न सक्थ्यो ।

मुटुको कुनै कुनामा सूरक्षित रहेको उसको अतितका स्मृतिको त्यो अध्याय, उसको मानसिक आञ्चलिक पटलभित्र जिवन्त भएर स्फुरण हुन्छन् त्यसपछि ।

२००२ अक्टोबरको कुनै दिन ! ल्याटको सानो बेडरूमको बेडमा सिरकभित्र गुजुल्टिएर सिरानीलाई अढेस लगाई झ्यालको सिसाबाहिर दृष्टि फाल्दै चिया पिइरहेको हुन्छ समीर । उता सिटिङ्ग रूममा, श्रीमती काममा जानलाई हतारिँदै आफूलाई पोत्दै र लिप्दै हुन्छे । समीर बितेका केही दिनबाट लगातारको बेरोजगार थियो । हुन त, उसले खासै काम खोज्नको लागि ‘लागिपरेको’ थिएन र कामहरूले पनि उसलाई ‘स्किप’ गर्दै जान्थ्यो, अथवा, यसो हुन सक्थ्यो, काम, जाडोको सिरकभित्र थियो जो बाहिर निस्कनै मान्दैनथ्यो । यसर्थ, ऊ बेरोजगार थियो । राम्रो यो थियो कि श्रीमतीले ‘कच-कच’ सुरू गरिसकेकी थिईन ।

जिन्दगी त्यसरी नै चलेको थियो, बिना कुनै उत्साह, उमाग र रहर, दिन – हप्ता बन्थ्यो, हप्ता – महिना, त्यसपछि त्यसरी नै वर्ष ! प्राप्तिमा वस्तुतः बाँदरका पुच्छरझैँ अनुभवहरू थिए ‘लौरो न हतियार’ ! हरेक नयाँ दिन, नयाँ केही गर्ने उत्साहलाई प्रणमा बदलेर बिताएपछि, अर्को दिन यस्ता यसरी बितेको देखी-देखी पनि, केही गहिरो सुस्केरा याँक्नु बाहेक सम्झिने नै भए, खासै केही नभएका समयका खिया लागेको विगतहरू मात्र रहन्थे मानसभित्र । झ्यालको कुनै कापबाट चिसो तिखारिएर कोठाभित्र छिर्दै थियो, ऊ त्यसपछि अरू ज्यादा सिरकभित्र साँगुरियो । उसकी श्रीमतीले ‘बेलुकाको खाना फ्रिजमा राखिदिएको अनि मन लागे, तताएर खानु’ भनी श्रीमती साबित भई सकेपछि काममा हतारिएर हिँडिसकेकी थिई । अनौठो…! त्यसपछि पनि उसमा उस्तै एक्लोपन छाईरह्यो ।

समीर, सखारै ‘ल्यापटप’ ‘अन’ गरेर ‘च्याटरुम’भित्र पसिसकेको थियो । अनायासै हात लागेर आएको रमाइलो उसको जीवनमा ‘नव’ भएको थियो । अनेकौँ अपरिचितहरुसँग यसरी ‘च्याट’ गर्दा ‘आफू अझै छु’ भन्ने पक्का हुन्थ्यो उसलाई । उसले समय कटाई रहेको थियो या समयले उसलाई काटिरहेको थियो, त्यो अर्कै प्रसागको कुरा हो किनकि, ऊ घण्टौँ-घण्टौँसम्म कहिलेकाहीँ झ्यालको एककुनाबाट देखिने पर सडकको एउटा छेउमा गुडिरहेका गाडीहरु गनेर बस्ने गर्दथ्यो । समय र उसको मनमा फैलिएको निःसारताको अर्को नमुना नै किन खोज्नु र ?

…Hi…what r u doin’ ? हाई…..के गर्दै छौ ? )’ च्याटमा कसैले सोध्दैथियो, नामको ठाउँमा थरि-थरिका सिम्बलहरूले भरेको थियो ।

…Planning ।- योजना बनाउँदैछ ।

…4 u ? or 4 ur country ? Or our universe ? (आफ्नो वा तिम्रो देशको ? वा हाम्रो ब्रह्माण्डको ? )’

…Just for a day, today. ( आजको निम्ति ।)’ जो कोही भए पनि कुरा रमाइलोसँग अघि बढ्ला जस्तो गरेको थियो ।

…Cud u ? (बनायौ त ? )’

Yeah, but I’m a little confused to begin with. -बनाएँ तर यसको कार्यान्वयनमा दुविधामा छु ।)’

…May I help you ? -के म सहयोग गर्न सक्छु? )’ त्यसको उत्साह, शीघ्र जवाफबाट अनुमान लगाउन सकिन्थ्यो । ‘त्योसँग पनि समेटी नसकिएका समयहरू हुनुपर्छ’ सोँच्दै ‘ल्यापटप’लाई काखमाथि राखेर ‘मूड’ बनाउन थाल्यो समिर त्यसपछि ।

…Sure! I’m in mood of listening music for whole day, but couldn’t determine, whether to listen them while sleeping or sitting ? (स्योर । म दिनभरि गीत सुन्ने विचारमा छु, तर अन्योल चाहिँ यसमा छु कि, सुती-सुती सुनुँ कि बसी-बसी सुनुँ ? )”

उतातर्फबाट आफू हाँसेको जानकारी ‘सिम्बल’हरूबाट दिएपछि, परिचयको थालनी भएको थियो । यसरी परिचित बनेकि किट्टीले नेपालको बारेमा जान्न खोजेपछि, समीर ‘की-बोर्ड’बाट, घण्टौँ राष्ट्रियता, बहादुरी, पराक्रमसँग आफू पोखिएको थियो । उभित्र खुम्चिएर रहेका ऊ स्वयाहरू कति पोखिए ? लेखा-जोखा नै छैन ।

मूलतः बेइजिङ्गकी किट्टी, ‘आबाक युनिभर्सिटी’, बैँककमा पढ्दै थिई, आन्टीकोमा बसेर, जसको एउटा राम्रो ‘ट्राभल एजेन्सी’ थियो त्यहाा । परिचय त्यतिखेर त्यति मात्र थियो, यावतका अन्य कुराहरु, अन्य दिनहरुभित्र व्याखा, वर्णनमा सर्र्यो । कुराको लत लागेपछि पछ्याएको अन्य दिनहरूमा उनीहरू देश-बिदेशका, ज्ञान-विज्ञानका, साहित्य-सास्कृति आदिका कुराहरू गर्न थाले । यसैताका, किनारातिर फुत्किएको माछा जसरी काम, उसको हात लागेको थियो । काम ‘कन्स्ट्रक्सन् कम्पनी’को थियो तर दाम माछा जस्तै मीठो थियो र जब काम सुरू गर्‍यो, च्याटमा कुरा गर्न पूरै बन्द भयो ।

हप्ता दिनपछिको पहिलो फुर्सदमा कम्प्यूटर खोल्दा किट्टीका थुप्रै मेल थुप्रिएको पायो समीरले ‘ईनबक्स’मा । त्यसदिन पनि उसँग ‘अनलाईन’ बस्ने समय थिएन र किट्टीको धेरै चाहनाभित्रको एक ईच्छा, आफ्नो मोबाइलको नम्बर दिएर पूरा गर्दै कम्प्यूटर बन्द गरेर बाहिर निस्केको घण्टाभित्र उसको मोबाइलमा घण्टी बज्यो ।

‘हेल्लो..?’

‘-….)’

‘हेल्लो ??’

फेरि कुनै आवाज आएन, तर कोही नजिकै हतारमा सास फेरिरहेझैँ लाग्दैथ्यो उसलाई ।

…It seems like,I’m not the one, you are looking for ! (मलाई लाग्छ, तपाईँले खोजिरहनु भएको मान्छे म होइन ।)’ अझै कोही बोलिरहेको थिएन ।

…You must have dailled wrong number, check that again, bye ! -तपाईँले नम्बर गलत डायल गर्न भएको हुनुपर्छ । फेरि चेक गर्नुस्, बाई । )’

लाइन काटेर मोबाइल पकेटमा राख्न नभ्याउँदै फेरि रिङ्ग आयो, उस्तै बिना नम्बरको ।

‘हेल्लो ?’

…Hi!….Is that you ? हाई… (त्यो तिमी हौ ?)’ अलि-अलि नशामा डुबेझैँ, मधूर शैली र प्रष्ट अंग्रेजीमा कोही बोली । अलिकति अन्योल र शंकामा उस्तै भावमा जवाफ दियो समीरले ।

…I think so ! But who am I talking to ? -मेरो विचारमा, मै हुँ । तर कोसँग म बोलिरहेको छु ? )’ कौतुहलता मनभरिबाट उम्लिएको थियो ।

…It’s me ! -म बोलेको !)’ मीठो हाँसोको साथ ! वास्तवमा सुनिरहुँ नै लाग्ने हाँसो थियो त्यो । समीरले कवीहरूलाई सम्झ्यो, यस्तै हाँसोलाई नै तिनीहरूले मन्दिरका साना-साना घण्टीहरू एकैसाथ बजेझैँ भनेका होलान् ! समीरलाई लाग्यो, ऊ एकै पटकमा पवित्र भयो ।

…Got a name ? -नाम राख्या छ ?)’

…Kitty. My name is k.i.t.t.y. Remember something ? (किट्टी, मेरो नाम के आई टी टी वाई हो । सम्झना छ केही ? )’

कस्तो मात थियो, त्यो भनाइमा ! कति चंचलता भरिएको थियो त्यो मातमा ! कति लहरहरू उठेका थिए उसका रहरहरूमा ! कति रहरहरू अोइरिएका थिए उसको बोलाइमा ! लश्करै अनुभूतिहरू एक-एक गर्दै हृदयको अन्तर-कुन्तरतिर पस्न लागेको ठान्दै समीर मस्तसँग सजिलो भयो किट्टीसँगको फोन वार्तामा ।

भौगोलिक दूरीलाई भावनाको साथले ‘छपक्कै’ मिचेको थियो । किट्टी घरि-घरि फोन गर्दथिई, दिनमा तीन-चारपटकका दरले । टण्टलापुर घाममा काम गरिरहँदा उसको पसिनाले ‘निथु्रक्क’ भिजेको शरीरलाई मायालुपनले मनमा छाम्न थाल्दथिई । ठूलो-ठूलो मेशीन उचालेर भित्ता फोर्न थाल्दा आँतबाट आड लगाइ दिन्थिई । जस्तोसुकै अप्ठ्यारो, गाह्रो, कुनै पनि काम गर्न रमाइलो लाग्दथ्यो । कोही नजिक उभिएर हौसला बढाइरहेझैँ, नजिक उभिएर कोमल हात बढाई उसको निधारको पसिना पुछिदिएझैँ, एउटा काल्पनिक आकृति उसकोअघि उठ्दथ्यो र हर्दम छाँयासरी साथ रहन्थ्यो । मुखाकृतिको बारेमा चाहिँ उसले त्यति अनुमान गरेको थिएन, तर किट्टीसँगका वार्तालापका आधारमा, मानसिक तथा शारिरीक रूपमा एउटी भद्र युवती सम्झन्थ्यो किट्टीलाई, अनि अनुहारको बारे, आफ्नो रुची र सुविधा अनुसार बदल्दै जान्थ्यो ।

केही दिनपछि, उसले किट्टीको र किट्टीले उसको तस्विरबाट साक्षात्कार हुने मौका मिलेको थियो । किट्टीको स्वरूप उसले मस्तसँग आफ्नो रुची अनुसार कल्पना गरेकोभन्दा सुन्दर पाएको थियो, अनि उसको स्वरबाट, किट्टीले कल्पना गरेको रूपरेखाको पन्चानब्बे प्रतिशत मिलेको अनि उसमा बालापन ऊभित्र कतै अझै यथावत रहेको र बाहिर अलि ‘रफ’ देखिए पनि ऊ भद्र मान्छे भएको ठोकुवा किट्टीले गर्दा समीर त्यसपछि, आफूबारे धेरै नै सोँच्ने गर्नथाल्यो । किट्टीको अनुसार, ऊ अझै केही कुराको, केही अवसरका, कुनै नौलो ‘एपिसोड’को प्रतिक्षामा छ भन्दा, कतियौँ दिन ऊ टोह्लायो, कति विस्मित भयो, यो जिउनुको दैनिकीसँग ? त्यसको खास मतलब रहेन, रह्यो त, त्यसपछि ऊ किट्टी तर्फ, उसका धारणाहरूतर्फ अति गम्भीर हुनथाल्यो । किट्टीले झ्याल बिस्तारै खोलिदिएकि थिई र ऊ आरामसँगै त्यहीँबाट किट्टीतिर चिह्याउँदै गयो र यस्तो अनौठो सम्बन्धभित्र जेलिइँदै गयो ।

न खुसी, न दुःखी, उसको बैवाहिक जीवनबारे सम्वेदनशील हुने गर्दथिई किट्टी । यसरी पनि बाँच्न सकिने बैवाहिक दिनहरूबारे अनौठो मानेर अनौठो खाले प्रश्नहरू सोध्ने गर्दथिई, कहिले जीवनलाई spice up (रसिलो) पार्नलाई, श्रीमतीलाई कतै नयाँ ठाउँ घुमाउन लिएर जाने सल्लाह दिन्थिई, रातो गुलाफको ‘बुके’ किनेर दिने, बिना कुनै उत्सब, कतै बाहिर डिनरमा लिएर जाने, आदि इत्यादि गरे श्रीमती पनि रोमान्टिक भई जीवन रमाइलो हुने विश्वास ‘दुई दुने चार भने जसरी’ दिलाउन खोज्दथिई ।

हातमा उस्तै दिन अनि रातहरु आउँदै जाँदै थिए । ऊ यथार्थमा, हातमा शून्य मात्र बचेको भन्दा फरक नपर्ने जीविकाका नियात्रामा तल्लिन थियो । मृगतृष्णा जस्तो भ्रम पालेको थियो, एउटा मिथ्या प्राप्ति, रहरहरू, उब्ज्याएको थियो उसले हृदयमा सायद । पारी डाँडामा लागेको डढेलोको रापले वारी डाँडा बसेर सेक्दै थियो ओसिईन थालेको उसको मनलाई ! बहाना मात्र पनि काफी हुन्छ कहिले ! जीवन जिउने न हो ! किट्टी त्यस अर्थमा, रमाइलो भएकि थिई उसका प्रत्यक दैनिकीमा त्यसताका ।

किट्टी ज्ञानको विनिमय ज्ञानसँग गर्न चाहन्थिई । यसैक्रममा, प्रेममा विश्वास आफै भई न रहने र यसलाई बनाई राख्नु पर्ने सन्दर्भहरुबारे चाख लिएर सुन्दथिई । बैवाहिक जीवनमा गर्ने र गरिनुको प्रशस्तै सम्झौताहरुबारे मन नपराएरै स्वीकार्द थिई समीरका सिद्धान्त जस्ता कुराहरु ।

कर्कलाको पातमा परेको शीतको थोपा जस्तो स्वच्छ र शाश्वत किट्टीको मन ! चिरा-चिरा परेको जीवनको बैवाहिक खोलहरु, सम्झौताले कति टालिन्छन् ? कति सिलाईन्छन् ? किट्टीलाई के थाहा ?

यस्तैमा केही हप्ता बितेर महिना भइसकेपछिको एकछुट्टीको दिन उसरी नै ‘अनलाइन’ हुँदा किट्टी अचम्भसँग फैलिईन खोजेकि थिइ उनीहरुको चिनारीमा । अनायासै, व्यक्तिगत हुन थाल्दैथिए कुराहरु । किट्टी समीरको व्यक्तिगत मनलाई आफ्नोपनले छाम्न खोज्दैथिई । उसको आदर्श, उसको जीवन शैलीबारे, उसको स्वप्निल रहरबारे, मस्तसँग खुसी हुन सक्ने पलहरुको बारे, खुबै चाख लिएर जान्न खोज्दथिई । समीर आश्चर्यजनक रुपमा खोलिरहेको थियो आफूलाई, मनभित्र जेलिएर, बेह्रिएर रहेका कुराहरुको एकसिरो किट्टीको हातमा परेपछि ऊ सजिलैसँग उध्रिईँदै गएको थियो । त्यसदिन, उसको किट्टीतर्फको सोँचाइमा या सोँच्ने धरातलमा भिन्नता भने अवश्य आएको थियो र यसैक्रममा, ‘यदि भएको भए…’ भन्ने तात्पर्यको थालनी दुबैतर्फबाट हुनु असान्दर्भिक थिएन ।

च्याटमा नै समीर उसको र किट्टीको वार्तालापमा अति गहन गम्भीरता छाएको गम्भीर भएर महशूस गर्दै थियो । त्यँहा, हातका औंलाहरूले मनभित्रका भावनाहरुलाई अक्षरहरुमा बदलेर बोलिरहेको मात्र थिएन, सम्पूर्णतः मन नै विस्तार-विस्तार, अक्षर-अक्षर हुँदै कलम बटनसँगै साटिईँदै थियो । लगभग कुनै गहिराइमा या निर्क्यौलमा पुगेजस्तो गरी किट्टी अगाडि आएकी थिई-

…Can u spare just a week, outa ur life ? -तिमी आˆनो जीवनबाट एक हप्ता छुट्याउन सक्छौ ?)’ प्रश्न गाह्रो होइन, तर कुन हिसाबले छुट्याउने भनेकि हो ? बुझिएन ।

…How do you want, that to be spared ? -तिमी कसरी त्यो छुट्टएिको चाहान्छौ ?)’

थाहा नै नपाईकन बिस्तारै मीत्रताले या सम्बन्धले नाम लिनथाल्दै थियो, तर, निश्चय नै उक्त नाम छुट्टिएर आउँथ्यो चलनचल्तीबाट, किनकि, समीर बिवाहित थियो र हङ्गकङ्ग भौगोलिक हिसाबमा बैँककबाट टाढा थियो । उनीहरुबीच प्रेम थिएन र हुन सक्ने आधार भएता पनि ‘नर्मल’ थिएन । एक-अर्कोले कुराकानी मन पराउँथे, अवसर मिले साथ पनि, तर त्यो साथको स्थायित्व भने पक्कै हुँदैनथ्यो र गर्नको लागि प्रयास आफैमा बेकार थियो । यो दुबैलाई राम्रैसँग थाहा थियो ।

…LetÚs live together, whole life in one week, for and ever ! -सँधै-सँधैकै लागि सारा जिन्दगी एकहप्तामा बाँचौं सँगै)’ ।

मान न हो ! वास्तवमा रमाइलोहरु ‘झ्वाम्म’ पसेको थियो उसको मानसिकताभरि । what’s the heck ! के नै बित्छ र ? उसले नयाँ बाटोबाट फेरि दोहोर्‍याएर सोँच्न थाल्यो । किट्टी हेर्दै ज्यादा उत्साहित भएकि थिई । समीरले स्वीकारिसकेपछि, बैँककको बसाइ, त्यसभित्रका अवस्था, मान्यता, शर्तहरु अनि त्यसपछिका आ-आफ्नै संसारका बारेमा व्यापक छलफल गरिएको थियो । सातदिन, दुबै, सबैबाट मुक्त भई शाश्वत आफूमा हुनु पर्ने र उक्त पलहरुमा, एक-अर्कोप्रति पूर्ण समर्पित हुनु पर्ने प्रतिज्ञा गरिए एक-अर्कोसँग ।

जीवनमा त्यसपटक उत्साह, साउनको झरी जसरी मनका अन्तर-कुन्तर भिजाउने गरी अनायासै दर्किएको थियो । योजनाका तयारी दुबैबाट हुँदैथियो । समीरलाई बाराम्बार किट्टीको, उसले भन्ने गरेकी Hidden Desire ! -लुकेको ईच्छा) ले नबुझिने गरी भावुक बनाउने गर्थ्यो-
…I want you to feel me, while walking on my streets by my side ! -मेरा गल्लीहरुमा मसँग हिँड्दै, तिमीले मलाई अनुभव गर भन्ने चाहान्छु ।)’

त्यही हप्ताभित्र बैँककको एयरपोर्टबाट समीर बाहिर निस्किरहेको थियो, एउटा सानो ब्याग र हातमा चकलेटको प्याक लिएर, जे होस् निक्र्यौलमा । उपाय सजिलोसँग हात लागेको थिएन । उक्त वार्तालाप पछि पनि लामो ‘च्याटिङ्ग’, लामो फोन-वार्ता आदि भएपछि हात लागेको पहिलो उपायलाई, झम्टेसरी समातेपछि, त्यसैलाई नछोडी यसरी ‘थाई एयरवेज’बाट हङ्गकङ्ग छोडेको थियो उसले र पुगेको थियो नितान्त, नौलो, सर्वथा अपरिचित ठाउँ, पूर्ण भिज्ञ भई नसकेकि व्यक्तिको भरोसामा ।

आगमन कक्षमा मानिसहरु प्रशस्तै थिए । कोही हात हल्लाउँदै थिए, कोही अँगालिईँदै थिए । समीर असमञ्जस अनि केही अन्योल थियो, तर मनका भावनाहरुलाई लगभग नियन्त्रण गर्दै अगाडि बढ्दै गयो र ‘सरसरती’ चारैतिर आँखाहरु घुमाउन पनि थाल्दथ्यो । धेरैबेरसम्म पनि कतै कहीँ किट्टी जस्ती हुन सक्ने केटी उभिएकी देखेन उसले । ऊ अगाडि बढ्दै गयो र देबे्रतिरको लहरमा रातो गुलाफको एकझुप्पा फूल हल्लाउादै ऊ भएतिर हेरेर हाँसिरहेकी युवतीलाई देख्दा एक पटक निरीह भावले ‘घुटुक्क’ थुक निल्यो भन्दा अतिश्योक्ती हुँदैनथ्यो, अवश्य नै ।

जति ज्यादा प्रयास गरेको भए तापनि समीर सजिलैसँग ‘नर्मल’ देखिईन सकिरहेको थिएन । किट्टीले रिजर्व गरेकि कारमा बसेर एयरपोर्टलाई धेरै पर छोडिसकेको थियो समीरले किट्टीसँगै । डिसेम्बर महिनामा पनि बैँकक, रोटी सेकाउन मिल्ने तावा जसरी तातिएको थियो, ‘एसी’ नभएको कारको सीसाबाट तातो वाफहरु हावासँग, सँगैकी किट्टीको गोरो गालासँगै उसको आफ्नो गालालाई पनि मुसार्ने गर्दथ्यो ।

किट्टीको हातबाट रातो गुलाफको झुप्पा लिँदा, वास्तवमा उसले हीनतावोध गरेको थियो । किट्टी, उसले कल्पना गरेकी भन्दा राम्री, कोमल र धेरै नै ज्यादा सम्वेदनशील भएकी पायो उसले । गुलाफको राग पोखिएको गालालाई अझ सिन्दूरे पार्दै, उसका आँखाहरु खुम्चिन्थे घरि-घरि, सशरीर अनि सुकोमल किट्टी साँच्चै नै कोपिला देखिन्थिई ।

समीरलाई अझै प्रष्टै याद छ कि, त्यो दिन कार पार्कतर्फ जाँदै गर्दा एयरपोर्टमा, किट्टीले फूल र समीरले चकलेट आदन-प्रदान गर्दा दुबैका हातहरु ‘थर-थर’ काम्मिरहेका थिए र प्रशस्तै हड्बडाएका थिए । कारभित्र बसेपछि, किट्टीले उसको ठेला परेका साह्रो र खस्रो हत्केलामा आफ्ना कोमल हातहरुले सुम्सुम्याउँदै गर्दा मात्र ऊ बिस्तारै खुल्न सकेको थियो । मनभित्रका असजिलाहरु, कारको झ्याल भएर भित्र छिरेको तातो हावाको लहरहरु सँगै बाहिरिादै थिए । अर्कोतर्फको झ्याल हुँदै, अनि उसको मन मस्तिष्कका झ्याल ढोकाहरुबाट पनि ।

केही बचेको या अड्केको औपचारिकताहरु, किट्टीले उसको हत्केलामा चुम्बन गरेपछि ‘स्वाहा’ भएको थियो । ऊ मनभित्रका कुना-काप्चाहरुबाटै कृतज्ञ भयो, धन्य भयो । उमेरले पत्याउन नसकिने नारीत्व र भावुकता बोकेकि किट्टीलाई, हातका ईसाराहरुले औंल्याएर देखाउँदै गएकि दृश्यहरुको व्याख्याहरुबाट मात्र मनन नगरी, नजिकैको उसको कौमार्य साथ, पर्फ्युमको मन्द बास्ना र बेला-बेलाको स्पर्शहरुबाट आत्मसात् गर्दै गयो समीर । ‘ट्राफिक जाम’, वाहनहरुका लश्करहरु र ‘हर्न’का एकोहोरो ‘बैरागी हल्लाहरु र गर्मीको तापमा पनि त्यो यात्रा लम्बियोस्, नरोकियोस् झैँ लागिरहेथ्यो उसलाई ।

दिन भर्खरै शुरु हुँदैथियो । किट्टी आधा घण्टामा र्फकन्छु भनी गएकिथिई बाहिर उसलाई होटेलको रुममा पुर्‍याएर ‘फ्रेश’ भई तल पर्खने भन्दै । चीसो पानीमा नुहाएपछि ऊ चंगाझैँ हलुङ्गीएको थियो । तयार भएर होटेलको लबीमा पुग्दा किट्टी अर्कै हल्का ड्रेशमा एउटा सानो झोला लिई आउँदै थिई । उक्त झोलालाई रिसेप्शनमा नै छोडेर उसको हात समात्दै छिटो-छिटो देब्रतिरबाट पुरानो आबाक् युनिभर्सिटीतिर लाँदैथिई । बाटोभरि वाहनहरुका चालकहरु एकोहोरो ‘हर्न’ बजाउँदै, जस्तो, अत्याधिक गाडीहरुको चापको रुवाइ रुँदैथिए । हिँडेको केही मिनेटभित्रै पसिना उत्पादन गर्न सक्ने घाम अविछिन्न शीरैमाथि फैलिएको थियो । किट्टी आफ्ना सानो-सानो गोडाहरुलाई बेस्सरी चलाइरहेकी थिई चप्पु चलाए जस्तो नदीमा । केही ज्यादा असजिलिएरै पनि समीर पछ्याइरहह्यो, र किट्टीको आकाशसरी फैलिएको उत्साह देखेर मीठो पनि मान्दै गयो । बाटोमा कतै भिड भेटे किट्टी उसलाई आफ्नो पछाडि पारेर, जस्तो, जोगाउथिई र कहिले उसलाई अगाडि सारेर आफै जोगिन्थिई । त्यसर्थ, त्यँहा, रमाइलो नै थियो, एकै पल तब पनि, आफ्नो हातबाट उसको हात हटाउन्नथिई पसिनाले हात चिप्लै भए पनि ।

केही खुल्ला सडकको पेटी-पेटी हिँडेर, फलफूल पसलहरुको सम्मुख पर्ने ‘टेलिफोन-बुथ’हरुमध्यको छेउको बुथमा पुर्‍याई, समीरलाई भित्र पसेर उसलाई अनुभव गर भन्दै ऊ जुश किन्न अगाडिको पसलमा गएपछि, समीर यन्त्रस्वचालित बुथभित्र पसेथ्यो तब । केही बुझ्न, नियाल्न या पढ्न, जे होस् गम्भीर भएर भित्र कोचियो । हेर्नुलाई के नै थियो र, एउटा झुण्डिरहेको फोन बाहेक ! ताजा हावा पटक्कै थिएन जस्तो भन्न मिल्ने गरी चारैतिरबाट ढाकिएको थियो उक्त बुथ । बस्ने ठाउँ पनि नभएको बुथभित्र असजिलोसँग उभिएर चारैतिर हेर्दै गयो समीर । उसको नाम पनि लेखिएको रहेछ, थरि-थरिका अरु नामहरुसँगै । किट्टीलाई पनि बोल्दै र केही कोर्दै गर्ने बानी रहेछ । बुझ्नु नै के थियो र भित्र, गर्मीले ‘तप-तप’ चुहिनु बाहेक । ऊ चुपचाप धैर्यशील, वाफिएर असजिलासाग बुथको एकातिर एउटा कुनामा अढेसिएर भित्तामा लेखिएको नामहरु हेरिरहह्यो । किट्टीले आफूसँग ल्याएकि जुश पिएपछि अमृत पिएको अमृतानुभव भयो उसलाई । उसको निधारको पसिना पुछ्दैथिई किट्टी, उसँगै बुथको बाहिर उभिएर केही बेरपछि ।

…Did you use to call me always from this booth ? -यही बुथबाट तिमी साधै मसँग बोल्ने गर्थ्यौ ?)’

किट्टीले समीरको निधारबाट अविरल तप्किरहेको पसिनाहरुलाई ‘टिस्यू पेपर’ले पुछ्दै स्वीकारोत्तिमा टाउको तल-माथि गरी । समीर त्यसपछि धेरैबेर एकोहोरो हेरिरहह्यो बाटुलो गोरो मुहार, भरिलो ओजपूर्ण भावुक आँखाहरु, सुकोमल अधरहरु !

‘You are crazy, you know that ? -तिमी पगली हौ, तिमीलाई थाहा छ ?)’

‘Yes, I know .-हो, मलाई थाहा छ ।)’

हाँसेकिथिई किट्टी, तर समीर भने हाँस्न सकेको थिएन । एकै मिनेटमा पनि ‘खलखल’ पसिना आउने, त्यस्तो खोर जस्तो बुथमा उभिएर किट्टी उसाग घण्टौँ बोल्दथिई । कति दुख्थेहोलान् उसका गोडाहरु ! कति फुल्थे होलान् उसका श्वास-प्रश्वास ! अनि कति वाफिन्थिई होली, भित्र बुथमा, पसिना-पसिना भएर ! गीत पनि त गाउने गर्दथिई, समीरले फर्मायस् जो गर्दथ्यो हङकङबाट । त्यतिबेला उसले केही साथीहरुलाई पनि सुनाउँथ्यो कि ‘आईडीडी-कल’मा कसैले त्यति टाढाबाट गीत गाएर सुनाउँछे भन्दै किट्टीमाथि रमाइलो गर्ने गर्दथ्यो । समीर आफूलाई अति दोषी, लुच्चा, फटाहा अनि लफंगा आदि ठान्नथाल्यो । उसको मुटुभरि, दया अनि टीठ उम्लिएर आयो किट्टीको लागि । बिचरी ! बेकारमा समय नष्ट गर्दैछौ !
…She really deserves much more better than me. -उसले मभन्दा अति धेरै अशल पाउनुपर्छ)’ सोँच्यो समीरले ।

धेरैबेर एकोहोरो किट्टीलाई हेरिरहह्यो उसले, तर, केही भन्न सकेन । अपराधवोध जो हुँदै थियो उसलाई, उसको मनभित्र । किट्टीले त्यसपछि उसलाई अरु ठाउँतिर डोर्‍याउँदै लगी । किट्टीले धेरै पटक सोध्दा पनि बताएन कि उसले के सोच्दैथियो । ऊ व्यथित भएको थियो, त्यो किट्टीले पक्कै पनि बुझेकी थिई र त्यसलाई हटाउनको लागि, कहिले यो, कहिले त्यो, एउटा कुशल गाइडले झैं वर्णन गर्दै गई । आफैमा अपरम्पार बैंककको गल्ली, सडक, चौक हिँड्दै, ‘टुकटुक’ चढ्दै गर्दा कतिखेर मनभित्र का व्यथा जस्तो गहु्रगोपन हराएछ, समीरले थाहै पाएन ।

केही घण्टापछि, ‘झमक्क’ साँझ नपर्दै क्षितिजमा बाँकि रहेको सिन्दूरे लाली नहराउँदै समीर किट्टीसँग, एउटा लामो तर साँगुरो डुंगामा बैंककको प्रसिद्ध ‘ˆलावर मार्केट’मा सुस्तसँग वहादै थियो । लहरका लहर, फूलैफूल बेच्न राखेका डुङ्गाहरु खियाउँदै आउनेहरुमाझ, मुस्कुराइरहेको थुप्रो अनुहारहरुबीच, शान्तसँग, सगर्व, किट्टीसँगको साथ हुँदा मनभरि-भरि कविता भएको थियो ।

समीरले सानी केटी साउनीबाट एक झुप्पा गुलाफको रातो फूल किनेर किट्टीलाई दिएको थियो, अलिकति स्टाइलले । किट्टी मनभित्रबाटै खुलेर मुस्कुराएकी थिई । सिन्दूरे साँझ, लज्जालु, गोरी, काखमा रातो फूलको झुप्पा राखेकी किट्टी र उक्त फूल, एक अर्कामा पूरक भएका थिए । एउटा जिवन्त कविता, एउटा मीठो छन्द, उज्यालो चित्र झैँ किट्टीलाई मन्त्रमुग्ध भएर समीर टोलाए जस्तै हेरिरहह्यो, किट्टीको रसिलो, भरिलो आाखामा डुबिरहह्यो र सायद किट्टी पनि । वरिपरि आइमाई केटाकेटीहरु हाँस्दै, केही भन्दै गरेकाथिए, जुन भाषा किट्टी पूरै बुझ्दथिई र रमाइलो मानेर समीरको छातीको ‘साख्खे’ बन्दैथिई । माझी बूढाले बिस्तारै डुंगा, अघि बढाउँदै लग्यो । जिन्दगीभरि नरोकियोस् जस्तो लाग्ने त्यो पल, जीवनभर साथ रहोस् जस्तो लाग्ने त्यो बसाइ, उसको हृदयभित्र जमेर रह्यो ।

पछि ‘फ्राया नदी’ भएर ‘रोयाल टेम्पल’, अनि त्यसपछि ‘रिभरबस’ चढेर ‘वल्र्ड ट्रेड सेन्टर’ पुगी तातिएको परिवेशलाई चीसो वियरले चिस्याउँदै, उक्त ‘अोपन म्युजिकल रेस्टरेण्ट’मा बसी एक-अर्काकोलागि गीत फर्मायस् गर्दै उक्त पलको गहन प्रेम साट्यो होला समीरले किट्टीसँग । परम्परा बेग्लै तर रमाइलो भने साझा !

त्यस साँझ अबेर गरेर रात परेपछि अनि रात पनि अबेर गरी ढल्न थाले पछि, ‘लखतरान्’ भई होटेलमा फर्केका थिए उनीहरु र ‘शावर’ लिई सकेपछि कतिखेर निदाए, कहाँ निदाए अनि कसरी…केही थाहा भएन ।

बिहानीपखको चीसो हावा र चीसो स्पर्शले व्युझियो समीर एक्कासी । पर्दा खोलिएको झ्यालबाट बाहिर धेरै परसम्म स्पष्ट देखिने, ढल्न लागेको बिहानीमा, आाखाभरि चुम्नझैँ आउने हरियाली, मन्दिरहरुका स्वर्ण जलपका गजूरहरु, अग्ला बिल्डिङ्गहरु अनि हल्का सुरु भइसकेको सडकको जीवनरत दैनिकीहरु र स्निग्ध वातावरणले लोभ्याएको उसको मनस्थितिमा, ‘टावल’को ‘र्‍यापिङ्ग’मा आफ्नो सुकोमल, सुडौल शरीरलाई बेह्रेर लामो केशको झट्काले पानीका छिट्टा हान्दै गरेकि किट्टीको मधूर हाँसोले हड्बडाएर समीर वाथरुम पस्यो र किट्टीको ‘गुन्गुनाहट’ भित्रबाट सुनिरहह्यो । अरु पहिलेका क्षणहरुभन्दा त्यतिखेर उसलाई किट्टीको स्वर मीठो लागेको हो या किट्टी नै मीठोसँग गुन्गुनाउन यसपटक थालेकि हो, यो उसले बुझ्नै सकेन ।

ऊ वाथरुमबाट निस्केपछि, अन्य थप केही घण्टाहरुमा आबद्ध समयभित्र भत्किएका संकोचका पर्खालहरु, नैसर्गिक दूरीका फाटोहरु र बन्दै चुलिईँदै गरेका या बनेका अनेकौं भावनाका, पारस्परिक अभ्यर्थनाका, प्रणयका, विश्वासका, आत्मानुभूतिका व्यञ्जनाहरुको मुल्यांकन या वर्णन, त्यसपछि, अव्यक्त किसिमले उनीहरुका आाखाहरुबाट व्यक्त हुने वार्तालापहरुमा गर्न सकिन्थ्यो । यसरी दुईबाट एक हुनुको अलौकिकपनलाई एकाधिकार गर्दै होटेल छाडेर बैंककदेखि दुई घण्टा टाढाको समुन्द्री किनार पतैया जानको लागि रिजर्व कारमा चढिसकेका थिए केही समयान्तरमा समीर अनि किट्टी । पूरा यात्राभरि किट्टीले आफूलाई लहरा र समीरलाई हाँगो बनाएकि थिई ।

सफा निलो समुन्द्रमा मोटरबोट, मोटरबाइक, सफा र शान्त पतैयाको सडकमा भाडाको जिप कुदाउँदै घुम्दै अनि घण्टौंसम्म समुन्द्री किनारमा बसी नरिवल पानी पिउँदै सूर्यास्तको मजा लिंदै लिंदै मध्य-मध्य रातसम्म, युवती नै युवतीले भरिने बजार डुल्दै कति चाँडो पाँचरात बिते, हेक्का जस्तो रहेन । कुनै त्यस्तो पल उसलाई याद छैन, जब ऊ एक्लो परेको होस् ! कुनै त्यस्तो हिाडाइ याद छैन, जब उसको हातमा किट्टीको हात नरहेको होस् !

एक रात, बादलको घुम्टोभित्र र बाहिर गर्दै गरेको जून आकासमा, अनि उसको ठीक अगाडि, निहुरिएर, आफ्नो केशलाई मुहारबाट हटाउनका लागि, कानमा चेप्दै गरेकि किट्टीको उज्यालो स्वरुपलाई जून मानेको भन्दा, किट्टीले उसले गरेको प्रशंसा सम्झेर अँगालेकि थिई, विभोर भई सुँक्सुँकाउँदै । वस्तुतः उसले त्यतिखेर आफ्नी श्रीमतीलाई सम्झरहेको थियो र निश्चय नै गल्तीवोध भइरहेको थियो उसलाई । तर, गर्न पनि ऊ के गरोस् ? जहाँ ऊ खुसी देख्थ्यो, त्यँहा उसकी श्रीमती बिरक्तिन्थिई र जसरी ऊ रमाउन खोज्दथिई, त्यसरी समीर आँतबाट नै छट्पटिन्थ्यो, तर पनि, दाम्पत्य जीवन चलिरहेकै थियो, ‘साथ’ जीवनसाग हिँडिरहेकै थियो ।

समीरलाई यसरी श्रीमतीसँग नै हिँड्ने रहर हुन्थ्यो । एकदिन, उसले हङ्गकङ्गको एउटा आइलैण्डमा रात त्यतै बिताउने गरेर श्रीमतीसँगै गएको थियो । गेस्टहाउस बाहिर चीसो-चीसो हावा तर मन्द र न्यानोपन पर्याप्त भएको साँझ थियो, समुन्द्रको किनारै-किनार पर-परसम्मन् हातमा हात राखी, समुन्द्रको छालहरुसँग जिस्किँदै हिँड्ने जोडीहरु प्रशस्तै थिए । कति ताजा हुन सकिन्थ्यो । उसले भन्यो, कर गर्‍यो अनि बिन्ति पनि, तर उसकी श्रीमती ‘हुन्न, चीसो लाग्छ, बिरामी परिन्छ’ भनेर न त आफू, न उसलाई नै जान दिई । रोमान्टिक पलहरु, समीरको आाखै अगाडिबाट बितेका थिए । बार्दली बाहिर पनि उसलाई उभिन दिएकि थिईन । बार्दलीको ढोका अनि पर्दा लगाउँदा पनि, कतै काप भएर छिर्ने समुन्द्री छालको उत्श्रृङ्खल आवाजहरु साक्षी राखेर, शेष रात, कोल्टे फेर्दै सौहार्दतामा बिताएको थियो उसले त्यतिबेला, किनकि, उसकी श्रीमतीलाई अोछ्यान बदले निन्द्रा जो पर्दैनथ्यो ।

यो सोँचाइ या सम्झना, उसको अपराधवोध गरेको मनस्थितिलाई ‘जस्टिफाइ’ गर्न आएको भने थिएन उसको मानसपटलमा, मन आफैमा स्वतन्त्र विचरण गर्न जो चाहन्थ्यो । जीवन एकपटकको लागि हन्छ, र जीवनभरि नै रहरहरुलाई खुम्च्याएर राख्न गाह्रो हुन्छ । यी सातदिन बाहेकका जीवन त उसकी श्रीमतीलाई छँदैछ नी ! किट्टीसँग बाचा गरे जसरी, सातदिन सबै बिर्सिदिनु पर्छ उसले ।

होटेलको कोठामा, किट्टी कुनै गीत गुन्गुनाउँदै आफ्ना कोमल हातहरुले उसलाई ‘मसाज’ गर्दैथिई र ऊ नचाहादा-नचाहादै सुस्ताएर निदाइ सकेछ त्यसैबीच ।

सातदिने मधू-सप्ताहको अन्तिम रात, दिनभरिको बैंककको मन्दिरहरु, म्युजियम, राजाको दरबार, प्रसिद्ध सपिंग मल, फाइट क्लबहरुको भ्रमण अनि किट्टीको एकहूल केटी साथीहरुसँग ‘फेयरवेल-डिनर’ गरिसकेपछि, उसले घरदेखि युनिभर्सिटीसम्म हिँड्ने गरेकि गल्ली लगभल मध्यरातमा, कहिले दौडादै, कहिले उफ्रिदै गरेकि किट्टीलाई ‘साथ’ हिँडी, जमिन छुने थकाइलाई पिठ्यूामा लादेर वापस होटेल आइपुग्दा रातको एक बढी बजेको थियो ।

मुटुमाथि ठूलो पत्थर राखेर ‘गुड-बाई’ भन्ने रात थियो । रातहरुका सम्झनाहरुबाट मीठो थप्नु पर्ने आखिरी रात थियो । रातका प्रहरहरु क्रमबद्ध साँगुरिँदै थिए । किट्टी रात आँखामा नै कटाउनुपर्छ भन्दै थिई, जाँगरहरु दैलोमै, जस्तो, दम तोड्दै थियो । तातो वाफिएको रातमा, तर चीसो पानीले नुहृवाएर वाथरुमबाट निक्लेपछि किट्टीले मगाएर राखिदिएकि तातो तर धेरै कडा कफी पिउँदै, फूलझैँ ‘सुकोमलिएर’, कहिले वाथरुमबाट निस्किएलि किट्टी भनी उत्साहित समीर, शरीरभरि नशा-नशामा जाँगर पलाएको प्रष्टै अनुभव गर्दै थियो तब । केहीबेरपछि, साधैझैँ टावलले शरीरलाई ‘र्‍याप’ गरेर मुस्कुराउँदै किट्टी ‘पदार्पण’ जसरी गरी समीरसामु र बार्दलीको अलि परको आकासमाथि बादलको घुम्टोभित्र, बेला-बेलामा चिहाउँदै गरेको जून साक्षी राखी प्रणयमा एकाकार भइसकेपछिको पहिलो एकान्तमा, समीर उही जून बरण्डाबाट, चुरोटको धूँवा उडाउँदै अनि नियाल्दै गयो । आज रातको अन्तिम प्रहरमा, अन्तिम पटक हेर्दैथियो दुबै जूनलाई समीर ।

जुनेली रातमा, बैंकक शान्तसँग सुतेको जस्तै भेटिन्थ्यो, त्यो कुनाबाट । आँखाहरु ‘छामछुम’ गर्दै रातको नीरवतामा ऊ पर-परसम्मन् नजर पुर्‍याउँदै थियो । सके जति आँखाको ‘जुमलेन्स’ले तानेर, त्यसलाई ‘फोकस’मा ल्याई मन-मस्तिष्कमा साच्न खोज्दै थियो, बैंकक र अनुभूतिहरुलाई सँग-सँगै । किट्टी, कतिखेर पछाडिबाट आएर उसलाई अँगालिसकिछे, जस्तो, भुलेछ केही पल त्यहाँ । त्यसपछि आालिँगनवद्ध, एकतमास, चुपचाप, दुबै अनन्त शून्य र शान्तितिर हराइरहे, नियालिरहे ।

अनायासै, बिना कुनै प्रसाग, किट्टी केही बोल्न खोजी । उसको आवाज पर कतैबाट आएझैँ लाग्ने तन्द्रामा थियो समीर ।

…I can do anything for you . -म तिम्रोलागि जे पनि गर्न सक्छु ।)’

…Really ? -साँच्चै ? )’ अविश्वास गरेको होइन, केही बोल्नै पर्ने भएर सायद ।

…Ya….Now, I can do anything for you. -साँच्चै नै । म यतिखेर तिम्रोलागि जे पनि गर्न सक्छु ।)’

…Anything ? -जे पनि ?)’

…Yes, anything! I can even die for you jumping from here. -हो, जे पनि । म यहीँबाट तिम्रोलागि हाम्फालेर मर्न सक्छु ।)’

अचानकसँग झसङ्गयिो समीर । किट्टी वास्तवमा अति नै गम्भीर लाग्दथिई र दृढताको वजन, उसको गम्भीरतामा गहु्रङ्गोसँग झुलेको थियो । यो उसले प्रष्ट आत्मसात् गर्‍यो, किट्टीको हृदयको भित्र पुगेर, तर कुरालाई हल्का पार्न मुस्कुराउादै भन्यो-
‘Can you cry for me ? -के तिमी मेरोलागि रुन सक्छौ ?)’

‘Yes. – सक्छु । )’ उस्तै दृढता !

‘Then, go ahead ! -त्यसो भए रोएर देखाऊ । )’

रमाइलै हो, समय कटाउनलाई । किट्टी, त्यसपछि, कुनै चाइनिज गीत गुन्गुनाउनथाली । मार्मिक हुनुपर्छ उक्त गीत ! वरिपरि मर्महरु छरपस्टिएझैा बोझिल हुँदै गएको थियो वातावरण । किट्टी उसलाई बेस्सरी छातीमा अँगालेर गुन्गुनाउादै थिई लगातार । समीर भने चुपचाप, अर्धमूदित, मग्न हुँदै भुलिरहह्यो । पर कतै लाटोकोसेरो उड्यो कि…..कुनै चरा, एउटा रुखबाट अर्कोमा भर्खरै उडेर पुगेको थियो ।

आधा घण्टाभित्र, किट्टी साँच्चै नै खुलेकिथिई, आफ्ना समस्त सम्वेदनामा । ‘आई लभ यु…..’ ‘आई लभ यु ….’ भन्दै रुँदै गई त्यसपछि । आश्चर्य ! वास्तवमा समीर शव्द बोल्न सकिरहेको थिएन, फगत सहानुभूति उग्घ्राउँदै थप-थपाइरहह्यो लगातार र धेरै मुस्किलले किट्टीलाई बेडमा ल्याएर थप-थपाउँदै बाँकि रातको अन्तिम प्रहरमा निदाउन पुगेको थियो उसलाई पूर्ण अंगालोभित्र राखेर ।

समीर घरभित्र पस्दा उसकी श्रीमती खाना नखाईकन अझै पर्खिरहेकि पायो । आधा रात बित्न थाल्दा पनि ऊ उस्तै गरी, खाना नखाई टेलिभिजनमा कुनै कार्यक्रम हेर्दै पर्खिरहेकिथिई । समीर भित्र पस्नासाथ सोधिहाली-

‘किन नी, यति अबेर ? फोन पनि नगर्ने ! ल, हात मख धोऊ । मलाई साह्रो भोक लाग्या छ ।’

मनभित्र-भित्रै श्रीमतीलाई यसरी भोकै कुर्‍याउन परेकोमा खेद प्रकट गर्दै श्रीमतीको ‘साख्खे’ भईदियो त्यसपछि ।

राम्रै भएछ, यसरी डेढ वर्षपछि भेटिएकि किट्टी र उसका फुटबल मैदान जस्ता खुल्ला निमन्त्रणाहरुलाई पन्छाएर घर आएकोमा । भोली किट्टी बेइजिङ्ग जाँदैछे र यसपाली उनीहरु, पक्कै पनि सदा-सदाकैलागि छुट्टएिकाछन्, समीर यस्तै सोँच्दैछ, किनकि, पहिलो पटक, उसले आफूलाई आफ्नै अडानमा उभ्याउन सफल जो भएको थियो ।

त्यसबेला सखारै उसले बैंकक छोडेको थियो र अब आजिवन त्यस प्रकारको र त्यस प्रकारले एक-अर्काको जीवनमा नआउने भनी अर्को बाचा गरेर अोभानो आँखामै बिदाइ लिने-दिने गरिएको थियो । तर, अर्को तेस्रो महिना नबित्दै, किट्टीको लाखौँ अनुरोध र उसैको सम्पूर्ण खर्चको निमन्त्रणाले गर्दा समीरलाई फेरि अर्को हप्ताकोलागि बैंकक पुर्‍याएको थियो र त्यसपटक एक-अर्कोबाट छुट्टिईंदा कडा प्रतिज्ञा, सदाकैलागि छुट्टएिको भनी गरेर छुट्टएिको करिव वर्षको अन्तरालमा यहीँ हङ्गकङ्गमा नै केही रात बिताएकि थिई किट्टीले समीरसँग र यस्तो प्रकृया अरु दोस्रोपटक पनि दोहोरिएकोले डेढ वर्षअघिको हङ्गकङ्गको अन्तिम भेटमा सल्लाह अनुसार सम्बन्ध दुबैले टुटाएको भए तापनि, अचानक, आज फेरि समीरले किट्टीलाई हङ्गकङ्गमा नै उस्तै रहरहरुका साथ उसकैलागि उभिएकि भेटेको थियो ।

अब, किट्टीले, समीरको मोह सदाकै लागि त्याग्नुपर्छ । ऊ आफ्नो हुनेवालाको वफादार हुनुपर्छ । यस्तै कामना गर्दै, कतिखेर समीर श्रीमतीको न्यानो अंगालोमा निदाउन पुगेछ, थाहा भएन । मनभित्रको एउटा असिम आनन्द जो छाएको थियो र अर्को आनन्द, हजारौँ गल्लीपछि, ‘घर-फर्केको’ अनुभव जो भएको थियो उसलाई । ‘घर’, भरपर्दो मायाको आश्रय जो थियो । ‘ढिलै भए पनि दूरुस्तै’ थियो समीर त्यस अर्थमा यहाँ । मृगको तृष्णाले झैँ तृषित र आहत पारेको मन श्रीमतीको अोसिलो सद्भावले तृप्त बनेको थियो ।

समाप्त

(शब्दघोष जिजीविषाको कथा संग्रहबाट)

(स्रोत : Bagaicha)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.