बाल कथा : आमाको जवाफ

~बिन्दु अधिकारी~

रञ्जनाको घर हिमाली जिल्लाको सानो बजारमा थियो। आमाको दूध खान पाइन। काखमा लुटुपुटु गर्न पाइन। ऊ ख्याउटे थिई। ऊ बिरामी परिरहन्थी। कठै १ लेकको चिसो ठाउँका धेरै रात रोएरै बिताउँथी ऊ। दुइ छोरा हुर्कन लागेपछि छोरीको रहर जागेछ रञ्जनाकी आमालाई। उनी गर्भवती भैछन्। चाहना जेमा थियो त्यो नै मिल्यो। छोरी नै जन्मिइन्। तर दैवको लीला जन्मिएकी छोरीको मुख हेर्नै नपाई जननीले संसारबाट बिदा लिइन्। बच्चा जन्मेपछिको अत्यधिक रक्तस्रावले उनको मृत्यु भयो। धेरै सपना बुनेकी थिइन् रञ्जनाकी आमाले। रञ्जनालाई धेरै माया दिने योजना बनाएकी थिइन्। हुर्केपछि आमाछोरी एउटै कपडा लगाउने योजना बनाएकी थिइन्। छोरीलाई सुन्दरी प्रतियोगितामा लगाउने योजना थियो। आफू पनि मिसेस प्रतियोगितामा भिड्ने योजना बनाएकी थिइन्। छिमेकीलाई छोरी जन्मेपछि यस्तो गर्छु उस्तो गर्छु भनेर सुनाउँथिन्।

दैवका अगाडि उनको चाहना पूरा हुन पाएन। भर्खर धर्ती छोएकी सानी बालिकालाई टुहुरो बनाएरै छाड्यो दैवले। बिनाआमाको हेरचाह र स्याहारसुसार अब उसले हुर्कनुपर्ने भयो। अब सन्तान हुर्काउने जिम्मा रञ्जनाको बाको काँधमा आइलाग्यो। बाकी बूढी आमासँगै भएकाले केही समय राहत महसुस भएको थियो। रञ्जनाले हजुरआमाको माया पाउँदै थिई। तर त्यो खुसी धेरै समय रहेन। निमोनिया र टाइफाइड एकैसाथ भएर हजुरआमा पनि बित्नुभयो। समस्या अझ पो बढ्यो। चिचिला ती आफ्ना लालाबालालाई हेरेर टोलाउँथे। उनको बिजोक देखेर आफन्त, साथीभाइ र छरछिमेकीले दोस्रो बिहे गर्न कर गर्थे। तर उनी मान्दैनन्थे। बिहे गरे छोराछोरी टाढिन्छन् भन्थे।

रञ्जनाका बा बिहान–बेलुका व्यापार गर्थे। सरकारी स्कुलका शिक्षक दिउँसो स्कुल जान्थे। स्कुलमा उनले समय दिन सकेका थिएनन्। घरव्यवहार पनि एक्लो ज्यानले धान्न सकिरहेका थिएनन्। बढो कष्टपूर्ण बितेका थिए दिन। जस्तोसुकै दु:ख सहने तर बिहे नगर्ने अडान लिएका थिए। तर एक दिन आफ्नै दाजुले धेरै सम्झाएर बिहे गर्न राजी गराए। रञ्जनाका बाले दोस्री श्रीमती घरमा भित्र्याए।

रञ्जना ठूली हँुदै थिई। सौतेनी आमा हो भन्ने उसलाई थाहा थिएन। रञ्जना ती आमासँग खुसी थिई। आमाका काखमा गएर लुट्पुटिन्थी। खेल्न खोज्थी। कहिले आमा भन्थी। कहिले ममी भन्थी। बिस्तारै रञ्जनाकी आमा परिवर्तन हुन थालिन्। बालाई जितेर व्यवहार गर्न थालिन्। बा र ती छोराछोरीबीचको दूरी बढ्न थाल्यो। तिनले माया गरेको जस्तो देखाउँदै रञ्जनालाई उसको उमेरले धान्न नसक्ने काम लगाउन थालिन्। बजारकोबीच भागमा खाने पानीको धारो थियो। त्यहाँ बिहान बेलुका मात्र पानी आउँथ्यो। पानी आउनुभन्दा पहिल्यै घरमा भएका पानीका भाँडाहरू त्यहाँ पुर्‍याएर लाइनमा राख्नुपर्थो। उसले कहिल्यै सफा र न्यानो कपडा लगाउन पाउँदैनथी। नाकभरि सिँगानको पोको हुन्थ्यो। त्यही रूपमा ऊ स्कुल जान्थी। सबै साथीहरू स्कुल पुगिसकेपछि मात्र ऊ स्कुल पुग्थी।

एक दिन रञ्जना पानी लिएर घरभित्र छिर्नासाथ आमा कड्किइन्, ‘त्यति जाबो पानी ल्याउन किन यति ढिला?’ नम्र भएर रञ्जनाले भनी, ‘ममी १ पधेंरोमा पालो मिचिदिए।’ रञ्जना बोल्दै थिइन्। आमाले बीचैमा रोकिन्। ‘चुप लाग्। बढी नबोल्,’ आमाले भनिन्, ‘यति सजिलो काम दिँदा पनि तँ गर्दिनस्? गाह्रो काम त मैले नै गरेकी छु नि।’ उनको रिस अझै शान्त भएन। ‘म तँलाई बहिनी हेर्न लगाउँथें,’ उनले भनिन्, ‘फेरि त्यसमा मलाई तेरो त्यति विश्वास पनि छैन। कतै ठोक्काइस् भने? लडाइस् भने? तैले गरेको जे काम पनि बिग्रन सक्छ। किनभने तँ आमा टोकुवाइ होस्।’

गाली खानु, कुटाइ खानु रञ्जनाका लागि नौलो थिएन। सबै उसले पचाउँदै गएकी थिई। तर त्यस दिनको आमाको गाली सुनिसकेपछि रञ्जना छक्क परिछ। नयाँ शब्द यो ‘आमा टोकुवाइ’ के भनेको होला आज मलाई मेरी आमाले? सोच्दै सोच्दै ऊ स्कुल पुगिछ। कक्षा दुईमा भर्खर पढ्न सुरु गरेकी रञ्जनाको पढाइप्रति निकै लगाव थियो। कक्षामा ऊ जहिल्यै पनि फस्ट हुन्थी। आफूले नजानेका कुरा र नबुझेका शब्दका अर्थ तुरुन्तै मिसलाई सोधिहाल्ने उसको बानी थियो। मिस १ आमा टोकुवाइ भनेको के हो? रञ्जनाको प्रश्न सुनेर मिस छक्क पर्नुभएछ। जवाफ दिनुभएनछ। उल्टै सोध्नुभयो, ‘तिमीले यो शब्द कहाँबाट सिक्यौ? तिमीलाई कसैले यसका बारेमा केही भन्यो?’ रञ्जनाले भनी, ‘मिस १ मलाई थाहा छैन यसबारे। मैले मेरी आमाकै मुखबाट आज सुनेकी हँु।’

रञ्जनाका कुरा सुन्दा मिस निकै भावुक भइसक्नुभएको थियो। आँखाका डिलसम्म आँसु आइसकेका थिए। मिस भावुक हुनु अनौठो कुरो थिएन किनभने मिस रञ्जनाकी छिमेकी थिइन्। रञ्जनाकी दोस्री आमाका बारेमा धेरै कुरा पहिल्यैबाट थाहा थियो।

अब मिसलाई ती आमाप्रति निकै घृणा जागेर आयो। नजागोस् पनि कसरी १ भर्खर हिँड्ने मात्र भएकी आफ्नी छोरीलाई चाहिँ बोर्डिङ स्कुलमा र त्यहाँ पढिरहेकी रञ्जनालाई सरकारी स्कुलमा पढाउँथिन्। अनेक सोच्न थाल्नुभो मिसले। ‘आमा टोकुवाइ जस्तो छुद्र शब्दको अर्थ कसरी सिकाऊँ म रञ्जनालाई?’ निकैबेर सोच्नुभएछ। बल्ल एउटा जुक्ति आयो। रञ्जनालाई गृहकार्य नै त्यही आमा टोकुवाइ शब्द प्रयोग गरेर पाँच वाक्य लेख्न लगाउने। रञ्जना आफैं लेख्न सक्दिनँ आमालाई नै सोधेर लेख भन्ने। आमाले लेख्न सिकाएका वाक्यहरू हेरिसकेपछि मात्र मिस आफूले जवाफ दिने। मिसको कुरा सुनेपछि रञ्जना खुसी भई। थोत्रो र मैलो झोलामा किताब राखेर घरतिर गई।

प्रकाशित: आश्विन २४, २०७२

(स्रोत : कान्तिपुर – कोपिला)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.